Monday, January 6, 2014

सम्झिइँदै भानु योगदान

 सन्दर्भ। भानुजयन्ती


                  


मोतीराम भट्ट थिएनन् भने भानुभक्त 'आदिकवि' हुने थिएनन्। तिनै आदिकवि भानुभक्त आचार्यको दोस्रो शतवार्षिकी मनाइँदै छ। संस्कृतको अध्यात्म रामायणलाई भावानुवादमार्फत् नेपाली भाषा, समाज र संस्कृतिको एकीकरण गर्ने श्रेय पाएका भानुभक्त जुन रूपमा नेपाली जनमानसमा उदाए, उनको योगदान नेपालको भौगोलिक सिमानाभित्र मात्रै सीमित रहेन। विभिन्न देशमा उनलाई सम्भि्कँदै जन्मजयन्ती मनाइन्छ र उनैलाई साक्षी राखेर नेपाली भाषा–साहित्यबारे विचार–विमर्श गरिन्छ।

भानुजयन्तीलाई जसरी नेपालमा मनाइन्छ, त्योभन्दा बृहत् कार्यक्रम आयोजना गरेर प्रवासका नेपालीले यो दिवस मनाउने गरेका छन्। साहित्यकार सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा)ले नै भारतमा भानुभक्त चिनाउन ठूलो योगदान गरेको सम्झन्छन्, दार्जिलिङका कवि/साहित्यकार मनप्रसाद सुब्बा। …भारतमा नेपाली जातीय–सांस्कृतिक चिनारी उभ्याएर बाँच्नु थियो,' उनी भन्छन्, …त्यसबेला भानुभक्त नै हाम्रो सांस्कृतिक अभियानका परोक्ष माध्यम भइदिए।'

सन् ७० को दशकदेखि नै दार्जिलिङ–पहाडी क्षेत्रमा भानुजयन्ती (जुलाई १३)मा सरकारी बिदा दिइँदै आएको छ। असममा पनि यो दिन बिदा हुन्छ। प्रवासी नेपाली दशैं–तिहारपछि भानुजयन्तीलाई तेस्रो पर्वका रूपमा लिन्छन्। त्यहाँका विभिन्न ठाउँमा भानुभक्तको प्रतिमा स्थापना गरिएका छन्। दार्जिलिङको चौरस्तामा नेपाली साहित्य सम्मेलनको अगुवाइमा उनको पूर्णकदकै सालिक बनेको छ। दार्जिलिङ, कालिम्पोङ, खरसाङका साथै सिक्किम, डुवर्सभरि नै हरेक वर्ष भानुजयन्ती विशेष पर्वका रूपमा मनाइन्छ। सन् १९८६ देखि सुवास घिसिङको नेतृत्वमा थालिएको हिंसात्मक गोर्खाल्यान्ड आन्दोलको प्रभावले भने केही वर्ष यो दिवस प्रभावित भएको कवि सुब्बाले बताए। उनी भन्छन्, …अहिले घिसिङमुक्त परिवेशमा भानुजयन्ती मनाउने उत्साह फेरि मौलाएर आएको छ।' बाहिर भानुभक्तप्रति जसरी श्रद्धाभाव राखेर कार्यक्रम गरिन्छ, त्यस्तो नेपालमा हुन नसकेको विश्लेषण गर्छन्, समालोचक खगेन्द्रप्रसाद लुइटेल। …अघिल्लो दिन सालिकको फोहोर पुछेर भोलिपल्ट जन्मजयन्ती मनाउनुको अर्थ छैन,' उनी भन्छन्, …स्रष्टाको नाम बेचेर आफू चर्चामा आउने गलत परम्परा देखा पर्दै छ।'

भानु प्रतिष्ठानका अध्यक्ष ब्रतराज आचार्य भने यसपटकको दोस्रो शतवार्षिकीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा मनाउन लागिपरेको बताउँछन्। …विभिन्न जिल्ला समन्वय समितिले काम गरिरहेका छन्,' उनले भने, …२१ गतेदेखि नै मूल समारोह समितिले काम थालिसक्यो। दार्जिलिङ, सिक्किमतिरका साथीसँग पनि यसबारे समन्वय भइसकेको छ।' स्रष्टाका जन्मजयन्ती वा स्मृति दिवसलाई एकदिन मनाएर अरू दिन बिर्सने परम्परा हटाउनुपर्ने उनी बताउँछन्। पहिले एकदिन हुने कोठे कार्यक्रमको स्वरूपलाई प्रतिष्ठानकै पहलमा बृहत् पार्दै लगिएको उनले दाबी गरे, …एकदिने कोठे कार्यक्रम सात दिन हुँदै अहिले पाक्षिक बनिसकेको छ।' बन्दीपुरमा दुई दिने गोष्ठी गरेको समितिले २५ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भानुभक्तले प्रयोग गरेका सामग्रीको प्रदर्शनी गरिरहेको आचार्यले बताए। …विराटनगर, पोखरा, धनगढीलगायत मुख्य सहरमा विशेष कार्यक्रमको हुनेछ,' उनले भने।

अन्तर्राष्ट्रिय स्तरमा पनि भानुभक्तको प्रतिमा स्थापना गर्न नेपाली भाषा–साहित्यप्रेमी लागिपरेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानुभक्तको मूर्ति तयार पारेर अमेरिका लगिसकेको छ। …त्यहाँको कुनै ठाउँमा स्थापना गर्ने तयारी भइरहेको जानकारी पाएको छु,' समालोचक लुइटेलले भने, …बाहिर यस्ता राम्रा काम भइरहेका छन् भने हामीले पनि परम्परागत ढर्रा छोडेर नयाँ सोचका साथ अघि बढ्न जरुरी छ।'

आजभन्दा २५ वर्षअघि काठमाडौं आउँदा दार्जिलिङे कवि सुब्बा छक्क परे, भानुजयन्तीको त्यो दिन उनले महसुस गर्ने पाएनन्। सम्भि्कन्छन्, …भानुजयन्तीकै दिन मुख्य सडकमा हिँडिरहँदा उत्सवको कुनै छनक पाइनँ।' त्यसो त २५ वर्षयता यस्ता दिवस मनाउने शैली फेरिएका छन्। भानुभक्तकै जीवनीमा आधारित …आदिकवि भानुभक्त आचार्य' फिल्म पनि २०५५ सालमा निर्माण भइसकेको छ।  शतवार्षिकीमा विशेष कार्यक्रम आयोजना हुन्छन्, यसलाई सुखद मान्नुपर्छ। मोतीराम भट्टको शतवार्षिकीपछि नै यस्ता विशेष समारोह मनाउन थालिएको समालोचक लुइटेल बताउँछन्।

भानुभक्तको दोस्रो शतवार्षिकीका अवसर पारेर सरकारले १५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ। केमा खर्च हुन्छ त, यो रकम?

प्रतिष्ठान अध्यक्ष आचार्य भन्छन्, …१२–१५ दिनको कार्यक्रममा खर्च गर्ने भन्ने होइन। वर्षेभरि विभिन्न साहित्यिक गोष्ठी, गतिविधि, प्रतिमा स्थापनाजस्ता काम भइरहन्छन्।'

केही दिन कार्यक्रम गरेर सालिकमा माला लगाउँदैमा स्रष्टाप्रतिको सम्मान नहुने समालोचक लुइटेलको ठम्याइ छ। …भानुले यसो गरे, उसो गरे भनेर भाषण गर्नुको तुक छैन,' उनी भन्छन्, …रामायणका श्लोक गाउँका सबै मान्छेलाई थाहा भइसकेको छ।' सरकारी सहयोगमा प्रतिष्ठानमार्फत अनुसन्धानात्मक कार्यक्रम गर्न सकिने उनी सुझाउँछन्, …भानुभक्तको जन्मथलो तनहुँमै मुख्य कार्यालय राखेर अध्ययन, अनुसन्धान र छात्रवृत्तिका कार्यक्रम वर्षैभरि सञ्चालन गर्न सकिन्छ।'

भानुभक्तलाई त्यसबेलाका प्रखर संस्कृत भाषाका पण्डितका अगाडि टक्कर लिनु गाह्रो थियो। तर उनले समग्र राष्ट्रको साहित्यिक योगदानमा नेपाली भाषाको विकास आवश्यक ठाने। यसैमा निरन्तर लागिरहे। यिनै योगदानका कारण उनी जन्मिएको दुई सय वर्षपछि पनि उनलाई सम्भि्कइरहेका छौं।

आदिकवित्व र विवाद

आजभन्दा दुई सय वर्षअघि नेपालमा संस्कृत भाषालाई उच्च–भाषा मानिन्थ्यो। नेपाली भाषा त्यति कमजोर नभए पनि यसको विस्तार आवश्यक थियो। अगाडिका कविले तयार पारेको पृष्ठभूमिमै भानुभक्तले नेपाली भाषा विकास र विस्तारको आँट गरे। संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु र त्यसमा समाज–सापेक्ष मौलिकता भर्नु नै ठूलो साहस थियो। नेपाली कविताको उत्तर प्राथमिककाल वा भक्तिधाराका कवि भानुभक्तको यो प्रयास त्यतिबेलाको …क्रान्तिकारी' प्रयास पनि थियो।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनचरित्र लेख्दा पहिलोपटक …आदिकवि'को उपाधि दिए। योसँगै उनले …भानुभक्तअघि नेपाली भाषाका नामी कवि नभएका होइनन्, तर कविताको मर्म बुझेर लेख्ने कवि भानुभक्त नै हुन्' भन्ने तर्क अघि सारेका थिए। भानुभक्तको आदिकवित्वबारे प्रशस्तै विवाद नभएका होइनन्। …त्यसबेला मत–मतान्तर आउनु स्वभाविक हो,' भानु प्रतिष्ठानका अध्यक्ष ब्रतराज आचार्य प्रश्न गर्छन्, …उसो भए लेखनाथ र देवकोटालाई दिइएको कविशिरोमणि र महाकविको उपाधि पनि उचित थिएन त?' भानुअघि अन्य कवि भए पनि नेपाली कविताको मर्म बु‰न सकेकाले नै उनलाई आदिकविको सम्मान दिइएको उनी बताउँछन्।

तर समालोचक खगेन्द्रप्रसाद लुइटेल कुनै पनि स्रष्टालाई दिइने …पदवी'प्रति असहमति जनाउँछन्। …उनीहरूको योगदान नै महŒवपूर्ण हो,' उनी भन्छन्, …उनीहरूभन्दा राम्रा साहित्यकार आए भने त्यो पदवीलाई के गर्ने?' उनको तर्क छ, भानुभक्तको महŒव आदिकवि हुनुमात्रै होइन। शाब्दिक अर्थमा आदि भन्नाले सुरुको मानिए पनि उनीभन्दा अघि अन्य कवि नभएका होइनन्, तर भानुको कलममा स्तरीयता, परिपक्वता र समाजलाई बु‰न सक्ने कला थियो।

हृदयचन्द्रसिंह प्रधानले २०१३ मा …भानुभक्त समीक्षा' लेखमा उनको आदिकवि पद नै हटाइदिए भने तारानाथ शर्मा पनि आदिकविको विपक्षमा देखिए। उनले …भानुभक्तलाई आदिकवि भन्नु नचाहिँदो र अवैज्ञानिक तर्क' भनेका छन्।

मोतीरामले १९४८ सालमा दिएको …आदिकवि' सम्मानलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको सन्देशले अझ स्थापित गर्न सहयोग पुर्‍यायो। …अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गर्ने भानुभक्तलाई आदिकवि भने हुन्छ' भन्ने सन्देश दार्जिलिङबाट १९९७ मा प्रकाशित …भानुभक्त स्मारक ग्रन्थ'मा प्रकाशित भएपछि को थियो।

भानुभक्तको …आदिकवित्व'बारे समालोचकले धेरै बहस उठाए पनि अब साम्य भइसकेको दार्जिलिङका कवि मनप्रसाद सुब्बाको भनाइ छ। उनी भन्छन्, …आदिकवि मान्नेले मानिरहेकै छन्, नमान्नेले पनि नेपाली समाजको निर्माण प्रक्रियामा भानुको ऐतिहासिक महत्तालाई सश्रद्धा स्वीकारेका छन्।'

  ............................................

भारतका विभिन्न ठाउँमा रहेका नेपाली–भाषीले भाानुजयन्तीलाई विशेष पर्वका रूपमा लिने गरेका छन्। भानुभक्तको दोस्रो शतवार्षिकी सन्दर्भमा दार्जिलिङे कवि एवं साहित्यकार मनप्रसाद सुब्बासँग गरिएको कुराकानी : 

१. दार्जिलिङतिर भानुजयन्तीलाई कसरी मनाइन्छ ?

वर्षेनि ठूलो उत्साहका साथ पर्वकै रूपमा भानुलाई सम्भि्कन्छौं। दोस्रो शतवार्Èिकीलाई दार्जिलिङ, सिक्किम र डुवर्सभरि मनाउनेबारे सरकारी तौरमै योजना बनेको सुनिँदै छ। चौरस्तामा रहेको भानुको पूर्णकदको सालिकबाट सुरु भएको कार्यक्रम नेपाली साहित्य सम्मेलन भवनमा बृहत् रूपमा परिणत हुन्छ। यसबाहेक विभिन्न स्कुल, कलेजतिर पनि कार्यक्रम हुन्छन्। सिक्किममा उस्तै उमंगका साथ मनाइन्छ। भारतभरि जहा“–जहा“ नेपाली एकत्रित छन् त्यहा“–त्यहा“ भानुजयन्ती जातीय चाडकै रूपमा मनाइन्छ। रामायणका श्लोकलाई लय र भाका हालेर वाचन गर्ने प्रथा अझै छ। अझ कति ठाउ“ रामायण–पाठ प्रतियोगिता पनि आयोजना गरिन्छ।

२. चौरस्तामा रहेको भानुभक्तको सालिक कसरी स्थापना हुन पुग्यो ?  

दार्जिलिङ सहरको का“ध चौरस्तामा उभिराखेको भानुको सालिकभन्दा धेरैअघि त्यही स्थानमा उनको अर्धकदको कास्य सालिक थियो, जो १९४९ जुन १९ मा तत्कालीन पश्चिम बंगाल राज्यपाल कैलाशनाथ काट्जुका बाहुलीबाट अनावरण गरिएको थियो। पछि सुवास घिसिङको नेतृत्वमा भएको हिंसात्मक गोर्खाल्यान्ड आन्दोलनमा भानुजयन्तीकै अघिल्लो रात सालिकको शिरोच्छेदन गरियो। सालिकको शिर कहा“ लगियो, आजसम्म पत्तो लागेको छैन। तत्कालीन अंग्रेज मूर्तिकार इ डब्ल्यु टमसनले दार्जिलिङमा कति महिना खर्चेर नेपाली अनुहार र हाउभाउको सूक्ष्म अध्ययन गरिसकेपछि मात्र मूर्ति ढलानको काम सुरु गरेका थिए।

मोतीराम भट्टले प्रस्तुत गरेका भानुको चित्रलाई आलंकारिक ढंगमा मूर्तिमा उतार्नभन्दा पनि कविको आन्तरिक स्वभावलाई मूर्तिमा व्यक्ताउने उद्देश्यले टमसनले मूर्ति ढलान गरे। त्यो अर्धकद सालिकको बर्बर भन्जनपछि दुई–तीन वर्Èको अन्तरालमा नेपाली साहित्य सम्मेलनले अहिलेको पूर्र्णकद सालिक बनाएको हो।

३. नेपालमा जन्मिएका भानुभक्तलाई भारतमा बढी सम्भि्कइन्छ नि ?

भारतमा भानु चिनाउने ठूलो श्रेय …सूधपा'लाई दिइन्छ। भानुजयन्ती मनाउने प्रथा दार्जिलिङबाट सुरु भएर पछिबाट मात्र नेपालले पनि मनाउन थालेको हो। प्रवासका नेपालीले आफ्नो जातीय सांस्कृतिक पहिचान कायम राख्नु थियो। यसका लागि भानुभक्तलाई माध्यम बनाई सांस्कृतिक अभियानमा अगाडि बढ्न सजिलो भयो।



४. यस्ता दिवसमा स्रष्टालाई सम्भि्कइरहन कस्ता कार्यक्रम गर्न सकिएला ?

स्रष्टामाथि गरिनुपर्ने विविध कामको योजना–परिकल्पना तयार पार्दै कार्यान्वयनतिर लाग्नैपर्छ। दार्जिलिङबाट इन्द्रबहादुर राई, राजनारायण प्रधान, कुमार प्रधानहरूको प्रयासमा सन् १९६९ मा …भानुभक्तका कृति अध्ययनहरू' पुस्तक प्रकाशित छ। त्यसो त भानुभक्तमाथि धेरै पुस्तक लेखिसकिएका छन्, तर कुनै पनि कृतिको अध्ययन र आविकाष्रण कहिले पनि पूर्ण हु“दैन। एक्स्प्लोर गर्ने ठाउ“ त्यहा“ सधैं रहेकै हुन्छ। 

५. गोर्खाल्यान्ड आन्दोलनका कारण बीचमा शिथिलता देखिएको थियो नि ?

सुवास घिसिङको समयमा थोरै शिथिलता आएको भए पनि भानुजयन्ती नमनाइएको कुनै वर्È छैन। ७० को दशकदेखि नै दार्जिलिङ पहाडमा सरकारी बिदा भएकाले यो पर्व मनाउने उल्लास उत्तिकै छ। घिसिङमुक्त भएपछि त पहिलेको जस्तै उत्साह छाएको देखिन्छ।

पहिले नेपाली जातीय पहिरनप्रतिको मोह दशैं–तिहार, पहिलो वैशाख र भानुजयन्तीजस्ता पर्वमा बढी देखिन्थ्यो। पछि घिसिङले नेपाली नाम र भानुभक्तमाथि नै विवाद खडा गरेपछि फेरि जातीय पहिरनको अभियान चल्यो। तर यो अभियान राजनैतिक फरमान जस्तै भएकोले पूर्णतया शिथिल हुन पुग्यो। तर भानुजयन्तीप्रतिको उत्साह सबैमा बढिरहेको पाइन्छ।

२०७० असार २९ शनिबार, नागरिक 'अक्षर'मा प्रकाशित