प्रोफाइल : खुमनारायण पौडेल
खुमनारायण पौडेलका दुइटा पहिचान छन् । एक, भूगर्भशास्त्री– पृथ्वीको इतिहास खोज्ने । दुई, कवि– मान्छेको अनुहार खोज्ने । त्रिभुवन विश्वविद्यालयको भुगर्भशास्त्र विभागमा रहेका प्रयोगशालाको कुनै एउटा कोठामा उनी धुम्धुम्ती बसिरहेका भेटिन्छन्– घरि करोडौं वर्ष पुराना चट्टान र वनस्पतिको इतिहास खोज्दै गरेका, घरि कविताका विम्बहरूमा घोरिँदै गरेका ।
तीसको दशकदेखि विम्ब र प्रतीक पछ्याउन थालेका पौडेललाई विज्ञान र साहित्यबीच तादात्म्य मिलाउन गाह्रो छैन । ‘विज्ञान मेरो पेसा हो, साहित्य रुचि,’ उनी भन्छन्, ‘एकले अर्कालाई असर गर्दैनन् ।’
विज्ञान तथ्यपरक नै हो– दुईमत छैन । उनका विचारमा कविता कोरा कल्पना मात्रै पनि होइन । यसले जीवन र समाज बोकेकै हुनुपर्छ ।
काव्य लेखनमा बामे सर्दै गर्दा उनले मोहन कोइराला र ईश्वरवल्लभ पढे । पछि उनीहरूकै प्रयोगवादी कवितामा लहसिए । दुवै क्लिष्ट कवि । तिनका बुनोट फुकाउन हम्मेहम्मे पथ्र्यो । त्यसैले पटकपटक पढे । बुझ्दै गएपछि ओजिलो शब्द र तिनका विम्बप्रति उनी आकर्षित हुन थाले ।
तिनै कविको प्रभाव, उनका काव्यलेखन केही क्लिष्ट छ । स्विकार्छन्, ‘हाम्रो जीवन, समाज र काल जटिलताबाट गुज्रेको छ भने त्यहाँ सरल लेखन सुहाउँदैन ।’
पारिजात, बीपी, विजय मल्ल, गोठाले, दौलतविक्रम विष्ट, भवानी भिक्षु, पोषण पाण्डे पढ्दै खुमनारायण बिस्तारै द्वारिका श्रेष्ठ, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, वैरागी काइँला, मदन रेग्मी, मोहन कोइराला र जगदीश शमसेरका प्रयोगपरकतासँग बढी नजिकिए । ती कठिन शब्दका डल्लाहरू फोरे, मिहिन पारे अनि त्यही प्रायोगिक भूमिमा आफ्ना शब्दबीज छरिदिए । प्रयोगवादको आयामभित्र पसेका खुमनारायणलाई स्वच्छन्द लेखनले उति तानेन । ‘मलाई हलुका लेखनपट्टि अनुराग र आशक्ति पनि रहेन,’ उनी भन्छन् ।
स्कुल पढ्दाताका एउटा मीठो सम्झना छ– पुस्तकालय चहार्दै गर्दा खुमनारायणको आँखा ईश्वरवल्लभको कवितासंग्रह ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ माथि प¥यो । उनलाई एक गुरुले भनेछन्, ‘तैंले यी कविता बुझ्दा पनि बुझ्दैनस्, नलैजा ।’ उनी खिन्न बन्दै पुस्तकालयबाट बाहिरिए । यसपछि त सो कृति पढ्ने लालसा झन् बढेर गयो । केही दिनपछि हात पारिहाले । उनी भन्छन्, ‘जटिल कविता भए पनि जीवन्त कविता पढ्ने मौका पाएँ । तिनै गहनताले मलाई तान्यो ।’
कोइराला र वल्लभका काव्यचेला खुमनारायणले प्रयोगवादी धार समाते । उनका ‘अन्तिमेत्थम्’ (२०४९) र ‘नरमेध’ (२०५६) कवितासंग्रह प्रकाशित छन् ।
अहिले पनि उनी प्रयोगधर्मी कविता सिर्जिरहेका छन् । यसकारण पनि उनका कवितामा विम्बको सघनता छ । प्रयोगधर्मिताको बुनोटमा निर्मित उनका कविताले युगीन संवेदना, पूर्वीय तथा पाश्चात्य मिथकीय सन्दर्भलाई पनि समेटेका छन् ।
इतिहास टेकेका मेरा दिनहरूको आकाशमा
मेरा पराक्रमका पक्षीहरू प्वाँख फिँजारिरहेको बेला
प्रमिथसहरू आगो जोगाउने निहुँमा
मेरा प्वाँखहरू पोलिरहेछन्
आकाशमा डढेलो लगाइरहेछन् ।
(‘आगोको नृत्य’)
प्रयोगशालामा विभिन्न रसायनको मिश्रण गराउने उनी काव्यको प्रयोगशालामा शब्द, विम्ब र नवीन शिल्पको घनत्व मथिरहेका छन् ।
लेखन सुरुवात
खुमनारायण सानै छँदा आमा बितिन् । २०२१ भदौ ६ गते पर्वतको पैंयुमा जन्मिएका खुमनारायणका लागि पीडा व्यक्त गर्ने माध्यम नै साहित्य बन्यो । सुरुमा उनले पेन्टिङ पनि गरिहिँडे । तर पेन्टिङका लागि क्यानभास, ब्रस, रङजस्ता सामग्री जुटाउन उनलाई गाह्रो भयो, अनि रोजे साहित्य । ‘कविता लेख्न त एक पाना कागज र कलम भए पुगिहाल्यो,’ उनी भन्छन्, ‘मैले लेख्नुपर्छ र समय पछ्याउँदै आफ्नो पदचाप समयमै छोड्नुपर्छ भन्ने लागेरै लेख्न थालें ।’ आसामको तेलखानीमा काम गर्ने बुबासँगै उनले आफ्नो बाल्यकाल आसामकै दुलियाजनमा बिताए । पाँच कक्षा सिध्याएर उनी चितवन फर्किए ।
आसामका अग्रज साहित्यकार डा. हरि शर्माको समूहले सानो गोजिका ‘जूनकीरी’ निकाल्थे । सो पत्रिकामा आफैंले चिनेका दाजुहरूका रचना छापिएको देख्थे उनी । आफ्ना रचना पनि छपाउन पाए नाम पछिसम्म अरुले पढ्थे भन्ने सपना देखेका उनी त्यसकै प्रभावमा लेखनपट्टि लागे ।
छ–सात कक्षा पढ्दाताक नै खुमनारायणले रुसी आख्यानकार म्याक्सिम गोर्की, दोस्तोएभ्स्कीका कृतिहरू पढिसकेका थिए । गोर्कीको उपन्यास ‘आमा’ बाट उनी यति प्रभावित बने कि, लामो समयसम्म आफैं उपन्यासको क्रान्तिकारी नायक पाभेल हुँ कि भन्ने लागिरह्यो ।
परिवर्तन र मुक्तिका लागि क्रान्तिमा होमिएको पाभेलकी आमा पेलागेया निलोभ्नाले जसरी छोराको हरेक पाइलामा सहयोग पु¥याइन् । खुमनारायणको काव्य यात्रामा साथ दिने आमा त थिइनन्, तर पनि उनले कलम दौडाइरहे ।
उनमा मुर्झाएको क्रान्तिकारी चेत आफूले अध्ययन गर्ने चितवनको विश्वप्रकाश माविको मुखपत्र ‘विश्वज्योति’ मा पोखे, ‘सामन्तीलाई हाँक’ कवितामार्फत् । २०३७ सालमा छापिएको यो कविता नै उनको प्रकाशित पहिलो कविता हो ।
एसएलसीपछि लियो टोल्सटोय, चेखव, दोस्तोएभ्स्की, शोलोखोभका कृति पढे । रुसी आख्यानका हिन्दी अनुवाद उनका रुचिका विषय थिए । हिन्दी लेखकहरू शरतचन्द्र, प्रेमचन्द, रवीन्द्रनाथ ठाकुर, जैनेन्द्रकुमारलाई पनि गहन अध्ययन गरे । हिन्दीका अज्ञेय, मुक्तिबोध, लिलाधर जगुडी, केदारनाथ सिंहका कविताका भावहरूमा उनी धेरै घोरिए ।
कृति प्रकाशन
रामपुर क्याम्पस चितवनबाट आइएस्सी सकेर खुमनारायण बिएस्सी अध्ययनका लागि काठमाडौंको त्रिचन्द्र कलेज आए । कृषि विकास बैंकले निकाल्ने ‘समष्टि’ मा ‘बाँच्न जन्मेको भोक’ शीर्षकको कविता २०४४ मा छापियो । उनको कवि परिचय बिस्तारै फैलँदै ‘गरिमा’ पत्रिकासम्म पुग्यो, ‘स्मृतिको गर्तमा विगत’ कवितासँगै । राष्ट्रिय पत्रिकामा कविता छापिन थालेपछि उनलाई कविका रूपमा चिन्ने धेरै भए । आफ्ना समकालीन कवि श्रवण मुकारुङ, विप्लव ढकाल, रमेश पौडेल, भीष्म उप्रेती, रमेश क्षितिजसँगको जमघटमा कविता सुन्ने–सुनाउने चलिहाल्थ्यो ।
राष्ट्रिय कविता महोत्सव–२०४९ मा ‘विचार’ शीर्षकको कविताबाट तृतीय भएपछि खुमनारायणमा कवितासंग्रह प्रकाशन गर्ने ऊर्जा थपियो । तर, प्रकाशनका लागि आर्थिक अवस्था कमजोर थियो । १५ वर्ष लामो साहित्यिक यात्रापछि नेपाली साहित्य भण्डारमा एउटा कृति प्रदान गर्ने उनको सपना साकार भइदियो । ‘तर, मैले श्रीमतीको सुनको सिक्री बेच्नै पर्ने भयो । इन्जिनियर साथी विश्वनाथ शर्मा र धर्मराज पोखरेलले पनि ठूलो सहयोग गरे,’ उनी भावुक बन्छन् ।
‘अन्तिमेत्थम्’ संग्रह प्रकाशनपछि थुप्रै प्रतिक्रिया आए । कसैले ‘नबुझिने जटिल’ कविताको संज्ञा दिए, कसैले प्रशंसा गरे । मोहनराज शर्मा, दधिराज सुवेदी, लक्ष्मणप्रसाद गौतमलगायतले उनको प्रयोगधर्मी काव्यबारे चर्चा गरेका छन् ।
साढे चार अर्ब वर्षअघि पृथ्वी उत्पत्ति भएको मानिन्छ । त्यसको उत्पत्ति र विकासप्रक्रिया उत्तिकै कठिन छ, जस्तो कि उनका कविता । उनी तर्क ठोकिहाल्छन्, ‘ओखरलाई फोडेर खान अल्छी मान्नेले त्यसको गुदीको स्वाद कसरी थाहा पाउँछ ?’ थप्छन्, ‘जिन्दगी बाँच्न हरेक संघर्षमा सामेल हुनैपर्छ । अनि न जीवन । जटिल जीवनलाई जटिलतामै लेखे पो सुहाउँछ ।’
इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरल्लभले सुरु गरेको आयामेली चिन्तनबाट उनी प्रभावित छन् । ‘पढ्ने, सुन्ने र बिर्सिने कविता हुँदैन, कविता पढ्न दिमाग लगाउनै पर्छ ।’ ओखरको सन्दर्भ दोहो¥याउँदै थप्छन्, ‘शैलीलाई कसरी लिने, त्यो पाठकको ग्रहणशक्तिमा भर पर्छ ।’
विश्वविद्यालयका विद्यार्थीलाई उनी पृथ्वीको उत्पत्तिदेखि प्राणी, वनस्पति आदिको इतिहास पढाउँछन् । कवितामा समयको विम्ब लेख्छन् । ‘म कवितामा समय लेख्छु, चाहे त्यो विगत होस्, या वर्तमान,’ उनी भन्छन् । आफूलाई व्यक्त गर्न उनी सिर्जना गर्छन् । त्यसमा सामाजिकता वैयक्तिकता दुवै हुन सक्छ ।। ‘भोगाइ पनि त साहित्य हो,’ उनको विचारमा, ‘त्यसले सामाजिकता प्राप्त ग¥यो भने लोकप्रिय बन्छ, नत्र बन्दैन ।’
साझा प्रकाशनले २०५६ मा खुमनारायणको दोस्रो कवितासंग्रह ‘नरमेध’ प्रकाशन ग¥यो । अर्को पाण्डुलिपि ‘शीतनिद्रा’ बोकेर ०६५ सालमा उनी फेरि साझा पुगे तर प्रकाशन भएन । ‘पहिले बोर्डका किशोर पहाडी र कृष्ण गौतमसँग राम्रो सम्बन्ध थियो,’ सुनाए, ‘कृति प्रकाशनमा व्यक्तिगत सम्पर्क र सम्बन्ध पनि चाहिने रहेछ भन्ने लाग्यो ।’ उनको अर्को कवितासंग्रहको पाण्डुलिपि पनि सिरानीमै थन्किएको छ ।
अनुवाद आवश्यक
२०५१ सालबाट त्रिवि प्रवेश गरेका खुमनारायण ठान्छन्, ‘अहिले कवि धेरै भए, पाठक कम । लेख्ने धेरै, राम्रो कविता लेख्ने थोरै ।’
‘पश्चिमी मुलुकमा हरेक मान्छेको साथमा किताब हुन्छ,’ उनी सुनाउँछन्, ‘गाडीमा होस् या पार्कमा, एकछिन फुर्सद हुँदा किताब निकालेर पढ्न थालिहाल्छन् ।’
खानपान, संस्कार–संस्कृतिमा फरक भएपछि हरेक देशका लेखकको कृतिमा फरक शैली हुन्छ नै । ‘हामीले आफ्नो देश र संस्कार–संस्कृतिबारे उत्कृष्ट लेखेका छौं तर अरुलाई बुझाउन सकेनौं ।’ उनी भन्छन् ।
विभिन्न देशमा डायस्पोरिक लेखकहरूको समूह बढ्नु राम्रो भए पनि क्षेत्र विस्तृत भएकाले नेपाली मूलधारको साहित्यभण्डारले तिनलाई समेट्न नसकेको उनी बताउँछन् । देशमा हुन्जेल भाषा, साहित्यको वास्ता नगर्नेहरू बाहिर गएपछि राष्ट्र, राष्ट्रियता, संस्कृति, भाषा, साहित्यप्रति चिन्तित बन्छन् ।
‘नेपाली साहित्य विश्वसाहित्यसम्म पुग्न राज्यको विशेष पहल हुनैपर्छ’, खुमनारायण थप्छन्, ‘साहित्यको उत्थानमा लागेको प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी हो यो ।’ नेपाली साहित्यको अनुवादका लागि विशेषज्ञले पाँच वर्षमात्रै काम गरे, एक–दुई सय कृति विश्वबजारमा जान सक्ने उनको आकलन छ ।
मदनमणि दीक्षित, रमेश विकल, भवानी भिक्षु, ध्रुवचन्द्र गौतमजस्ता लेखकका कृति विश्वसाहित्यमा पुग्ने खालको भएको उनको दाबी छ ।
पछिल्लो दसक आख्यानको पाठक बढेका छन् । आख्यानको हावीले कवितालाई छोपेको छ । खुमनारायण भन्छन्, ‘कवितात्मक आख्यान लेखिएकै कारण यसमा पाठक बढे । कविताको स्वाद पनि आख्यानभित्रै मिसाउन थालेकाले कविताभन्दा आख्यानले तानेको हो ।’
समयको विम्ब पछ्याउने यी कवि भिजिटिङ प्रोफेसर बनेर चैतको पहिलो साता जर्मनीको फ्रैंकफर्ट पुगिसकेका छन् । सेन्केनवर्ग रिसर्च इन्स्टिच्युटमा नेपालको भौगोलिक बनोट, जीवजन्तुको विकास, लोप, हिमालय पर्वत शृंखला र मनसुनी प्रभाव पढाउने उनले अबको समय कसरी लेख्लान् ? उनको विज्ञानसम्मत तर्क छ, ‘पृथ्वीमा समय चलुन्जेल समय पछ्याइरहन्छु ।’
(नागरिक दैनिकको 'अक्षर'मा २०६९ चैत १७ गते शनिबार प्रकाशित)

No comments:
Post a Comment