Saturday, December 22, 2018

राष्ट्रकविको सय वर्ष : अस्पतालको बेडमा ऋतम्भराकै चिन्ता [भिडियो]


काठमाडौं– सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा राष्ट्रकवि घिमिरेको निधनको सूचना प्रवाह गर्दै श्रद्धाञ्जली व्यक्त भइरहेको थियो। कतिपय अनलाइनले त पुष्टि नगरीकनै समाचार दिन भ्याइसकेका रहेछन्। कवि घिमिरे भने बेलुकीको खाना खाईवरी आराम गरिरहेका थिए।

यो खबर कपुरधारास्थित कवि-निवासमा पनि पुग्यो। कविपत्नी महाकाली भोलिपल्ट मुसुमुसु हाँस्दै घिमिरेसामु आइन् र भनिन्, 'ज्यादै अनौठो खबर पो सुनिँदैछ त।'

'हँहँ...,' बाक्ला आँखीभौं तन्काउँदै कविले चासो राखे। उनले भनिन्, 'हजुरको मृत्यु भयो भनेर बाहिर खबर फैलिसकेछ।'

राष्ट्रकविसँगको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।


कवि झसंग त भए तर पुन: आफ्नै स्वभावमा फर्किए। तलाउमा चप्ल्याङ्ग ढुंगा हानेपछि तरंग उठेर केहीबेरमै शान्त भएझैं। 

यो थियो २०७४ जेठ १४ गते रातिको घटना।

कतिपयले त यसरी अफवाह फैलाउनेको खोजी गरी कारबाही गर्नुपर्छ भनेर पनि सल्लाह दिएछन्। तर, कवि घिमिरे त्यतातिर लागेनन्।

'आयु बढाए। ठिकै भो भन्ने लाग्यो। मरेपछि पनि नेपालीले कसरी सम्झन्छन् र के प्रतिक्रिया दिन्छन् भन्ने त थाहा भयो नि,' बिहीबार बिहान आफ्नै निवासमा कवि परिचित हाँसोमा सुनाइरहेका थिए, 'त्यसपछि त मैले पुनर्जन्म पो पाएँ। देवकोटा, भानुभक्तले यस्तो मौकै पाएनन्... अचम्म होइन त, बाँच्दाबाँच्दै जीवनमुक्त भएँ म।' 

OOO

शारीरिक अस्वस्थताका कारण पाँच महिना नराम्री थला परे कवि घिमिरे। जब ठिकठाक अवस्थामा फर्किए। कुराकानी, लेखन-पठनको व्यस्तता उसरी नै जोडिएको छ।

शताब्दी जन्मोत्सवको अवसरमा नेपाल लाइभ टिम घिमिरे निवास पुगेको थियो (उनी आज असोज ७ बाट एक सय वर्ष प्रवेश गरेका छन्) । उनलाई हामीले पहिलो प्रश्न गर्‍यौं, 'एक शताब्दी आयु बाँच्दै गर्दा जीवन के रहेछ भन्ने लाग्छ?'

'माछालाई समुद्र के जस्तो लाग्छ?' उनले उल्टै प्रश्न गरे विम्बमा। र, एकछिन अडिएर थपे, 'जीवन प्रारम्भ गरेको थाहा नभए पनि केटाकेटीमा हाँसेको, खेलेको अनि उफ्रेको । परदेश लागेको। संघर्ष गरेको सबै चिज थाहा छ। तर एउटा चिज निरन्तर चलेको छ– त्यो हो सिर्जना। अर्थात् कविता।


त्यसबेला बालकृष्ण समले भनेका थिए रे, ‘एउटा कछुवा जस्तो आफ्नै गतिमा निरन्तर हिँडिरहने, अर्को गरुडजस्तो उडेको उड्यै।’


सात दशकअघि नै रोपिएको थियो महाकाव्यको बीज
२००२ सालमा नेपाली भाषानुवाद परिषद्‌का जागिरे थिए घिमिरे। मौलिक महाकाव्य लेखनसम्बन्धी प्रोजेक्ट सुरु भयो। जुन तीन महिनामा सक्नुपर्थ्यो। उनले सुरु गरे महाकाव्य लेख्न, जसको नाम थियो 'गोविन्द'। महाकवि लक्ष्मीप्रसाद देवकोकोटा सुइँको पाएछन्। उनले घिमिरेसामु भनेछन्, 'कविज्यु, म पनि प्रयास गरिहेर्छु।'

बिजुली वेगझैं कलम दौडाउने देवकोटाले तीन महिनामै शाकुन्तल महाकाव्य लिएर देखापरे। तीव्र कल्पनाशक्ति र बेजोड शब्द सामर्थ्य भएका देवकोटाले यति चाँडै महाकाव्य लेख्दा घिमिरे चकित परे। 

त्यसबेला बालकृष्ण समले भनेका थिए रे, ‘एउटा कछुवा जस्तो आफ्नै गतिमा निरन्तर हिँडिरहने, अर्को गरुडजस्तो उडेको उड्यै।’ 

गोविन्दको पहिलो सर्ग त परिषद्‌ले त्यहीबेला प्रकाशन गरेको थियो। त्यसपछि यत्तिकै थन्कियो। अब घिमिरेको ध्याउन्न छ, जुनकुनै हालतमा महाकाव्य 'ऋतम्भरा' सक्ने। 'दुई सर्ग सक्न बाँकी छ। १४ सर्ग लेख्न १४ वर्षै लाग्ने हो कि,' उनी भन्छन्, '१२ सर्ग पूर्ण गरिसकेँ। त्यसमा केही बदल्नै पर्दैन।'

त्यसबेला गोविन्द पूरा नहुनुका दुई कारण बताए उनले। 

एक, महाकाव्य लेख्न अध्ययन, ज्ञान र अनुभव प्राप्त हुनुपर्छ। त्यो भइसकेको थिएन। फुटकरमा सिक्दै जाने हो। महाकाव्य एकैचोटि लेख्न सकिन्न। 

दुई, आसनले निर्धारण गर्छ महाकाव्य लेख्न। एउटै सिटिङमा १०/८ पंक्तिको कविता लेख्न सकिएला तर महाकाव्य लेख्न कम्तीमा पनि १२ वर्ष लाग्छ।

सायद 'गोविन्द' पूरा हुन नपाएको सात दशक लामो महाकाव्य लेखनको हुटहुटी उनमा अझै बाँकी छ। त्यसैले भन्छन्, 'अहिले मेरो जीवनको धोको केही छ भने त्यो लेखनमै हो। त्यो लेखन भनेकै ऋतम्भरा हो। त्यो सिध्याउन पाए मेरो जीवनको सबै इच्छा पूरा हुन्छ।'

देवकोटामा बिजुलीवेग गति थियो लेखनमा। स्वच्छन्द उडानको उनको शैली नै फरक। घिमिरे परे परिस्कारवादी धारका कवि। चट्टानलाई कुँदेर सुन्दर मूर्ति बनाएझैं शब्दलाई कुँदीकुँदी सुकोमल बनाउनु यिनको विशेषता। 'मेरो बानी मलाई चित्त नबुझी बाहिर ल्याउँदिनँ। प्रकाशन गर्दिनँ,' विन्दुमा सिन्धुको खोज गर्ने घिमिरे भन्छन्, 'थालेको काम लटरपटर गर्नुहुन्न। यसले आफ्नो चिन्तन दर्शन बोक्दैन। म चाहिँ सधैं पूर्णता चाहन्छु।'

कविता लेख्दै गर्दा कुनै एकै शब्दले पनि दुईतीन दिन रिंगाउने अनुभव सुनाउँछन् उनी। 'नयाँ कुनै शब्दखोजमा लागे पनि तीन दिनपछि फेरि त्यही मन पर्न थाल्छ कहिलेकाहीँ,' मुस्कुराउँदै उनले भने, 'अलमलिनु पनि सिर्जना हो। त्यसैको चिन्तनमै त नयाँ शब्द निस्कन सक्छ।'

उनलाई त त्यसबेला लेखेको 'गौरी' खण्डकाव्यका केही शब्द पनि फेर्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ अझै। 

ऋतम्भरा चिन्तन

उत्तर कोरिया, अमेरिका, रुस जस्ता शक्तिसम्पन्न राष्ट्र अणुअस्त्रको होडबाजीमा छन्। विश्व बहस यतातिर पनि चलिरहेको छ। घिमिरेसमेत २०६३ सालयता यही बहसमा सामेल छन् महाकाव्य ऋतम्भरामार्फत। 

विश्वका ठूला राष्ट्रले उत्पादन गर्ने अणु ऊर्जाको नकारात्मक प्रयोगप्रतिको चिन्ताले नै ऋतम्भरा जन्मिएको बताउँछन् उनी। विज्ञानको तीव्रतर प्रगतिको कारण सकारात्मक मात्र होइन नकारात्मक प्रभाव बढिरहेको उनको बुझाइ छ। 'अणु यस्तो ऊर्जा हो। मानवजतिले यसलाई सदुपयोग गरे धर्ती स्वर्ग बन्छ। दुरुपयोग गरे मानव सभ्यता धर्तीको जीवन ध्वस्त बनाउन सक्छ,' उनको चिन्ता छ, 'अहिले अमेरिकाको अणुभट्टी ध्वस्त भयो भने त्यसलाई कसैले सम्हाल्न सक्छ र?'

अस्पतालको बेडमै पनि उनले कागजको टुक्रामा ऋतम्भराकै नयाँ श्लोक टिप्न लगाउने गरेको छोरी किरण बताउँछिन्।

विज्ञानको विकास त भयो तर मान्छेहरुमा प्रेम, सद्भाव, संवेदनमा कम हुँदै गएको महसुस गरेका छन् उनले। 'जतिसम्म मान्छेले वहन गर्न सक्छ त्यति गर्न दिनुपर्छ। शरीर पनि यन्त्र हो। तर अर्को यन्त्रले शारीरिक यन्त्र खलबलियो,' भन्छन्, 'टेक्निकल्ली माइन्डेड भए मान्छे। यान्त्रिक बन्दै गएका मानवलाई सचेत नगराए भविष्यमा ठूलो विपत्ति निम्तिन्छ भनेर मैले यसमा सचेत गराउन खोजेको छु।'  

अस्पतालको बेडमा पनि ऋतम्भराकै चिन्ता

केही महिनाअघि आन्द्रामा रक्तश्राव भएपछि उनलाई भारतको मेदान्त अस्पतालसम्म पुर्‍याइयो। त्यसबेला रोगको होइन त्यसभन्दा बढी उनमा महाकाव्य लेखनकै चिन्ता लागेको छोरी डा किरण रेग्मी बताउँछिन्। 

'डाक्टरको जिम्मा लगाएपछि उनीहरुले रोग निको त पारिहाल्छन् भन्ने भयो,' राष्ट्रकवि सुनाउँछन्, 'आफूलाई चाहिँ कतिबेला ठिक हुन्छु र ऋतम्भराको बाँकी श्लोक भ्याऊँला भन्ने मात्रै चिन्ता लागिरह्यो।' 

रोगको पीडा एकातिर। काव्यिक चिन्तन अर्कातिर। अस्पतालको बेडमै पनि उनले कागजको टुक्रामा ऋतम्भराकै नयाँ श्लोक टिप्न लगाउने गरेको छोरी किरण बताउँछिन्।

गद्य कविताले लय गुमायो

भनिन्छ, पश्चिममा महाकाव्यको युग सकियो। जसको प्रभाव पूर्वीय साहित्यमा पर्ने नै भयो। देवकोटाले नै आजभन्दा ७३ वर्षअघि शाकुन्तल लेख्दा महाकाव्यलाई 'आइसल्यान्डको सर्प'सँग दाँजेका थिए।

यतिबेला आख्यानलाई महान् विधाका रुपमा व्याख्या मान्नेहरुको जमात बढिरहेको छ। कवि घिमिरे भने 'राम्रो कुरा'को युग कहिले पनि नसकिने बताउँछन्। 'वाल्मीकि सकिएको छैन। व्यास सकिएको छैन। कालिदास सकिएको छैन,' उनी एकै स्वासमा भन्न खोज्छन्, 'शेक्सपियर, वर्डस्वर्थ र रवीन्द्र बाँचिरहेकै छन्। किनकि तिनीहरुले मानवजाति र प्रगतिको लहर पक्रिए।'

'अन्तर्राष्ट्रिय कोकिल बन्नुपर्ने अन्तर्राष्ट्रिय वकिल पो बन्न थाले,' उनी सुझाउँछन्, 'विज्ञान, तर्क, दर्शन प्राप्त गरे होलान् तर हृदय गुमाउनु हुँदैन। काव्यले हृदय छुने हुनैपर्छ।'

गत असारमा कवि घिमिरेले कान्तिपुरसँगको एक अन्तर्वार्तामा भनेका थिए, 'कवितालाई नष्ट पार्ने उपाय हो, गद्य कविता।' 

उनको यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो। विभिन्न आक्षेप लगाइयो। तर उनी पद्यभन्दा गद्य जटिल हुने भएकाले त्यसमा अझ सचेत हुनुपर्छ भन्न खोजेको प्रस्ट्याउँछन्। 'गद्य कवितामा पनि लय चाहिन्छ भनेको थिएँ। देवकोटाको 'म पागल हुँ' कवितामा कति मिठो लय छ। रिमालका कविता हेर्नुस्,' उनी भन्छन्, 'लेखेर मात्र कविता हुँदैन चाहे गद्य होस् या पद्य।' आफूले गाली गर्न नभई झस्काउन मात्र त्यसो भन्न खोजेको उनले बताए।

अहिले प्रतिभाशालीहरु कविहरु आए पनि गद्यमा शिल्पको अभाव भएको उनको निष्कर्ष छ। 'अन्तर्राष्ट्रिय कोकिल बन्नुपर्ने अन्तर्राष्ट्रिय वकिल पो बन्न थाले,' उनी सुझाउँछन्, 'विज्ञान, तर्क, दर्शन प्राप्त गरे होलान् तर हृदय गुमाउनु हुँदैन। काव्यले हृदय छुने हुनैपर्छ।'

श्रीमान् नै ठूलो पदवी

करिब एक घन्टासम्म कुरा गरिरहँदा राष्ट्रकवि पत्नी उनकै साथमा थिइन्। वैवाहिक जीवनको सात दशक बिताइसकेकी उनीसँग अनेकौं संस्मरण गाँसिएका छन्। पत्नी गौरीको निधनपछि विचलित घिमिरेलाई साथ दिन आइपुगेकी थिइन्, महाकाली। जो कवि घिमिरेका रचनाको पहिलो पाठक अनि गीतको पहिलो स्रोता बनिन्। 

'कुनै कविता लेख्नुभएपछि पहिले मलाई सुनाउनुहुन्छ,' उनी भन्छिन्, 'त्यसपछि मलाई लागेको प्रतिक्रिया दिने गरेकी छु।'

हँसिमजाक गरिरहने। कहिल्यै झर्केर नबोल्ने। आफन्त, कवि लेखकहरु आए खुसी हुने। श्रीमान्‌का यिनै स्वभावका कारण पनि उनी निकै खुसी छिन्।

आधुनिक नेपाली कवितामा 'लिभिङ हेरिटेज'का रुपमा सक्रिय राष्ट्रकविलाई दिइएका सम्मान, पुरस्कार र अनेकौं पदवीले एउटा कोठा भरिएको छ। तर पत्नी महाकाली भन्छिन्, 'ती सबै अरुले माया गरे दिएको सम्मान हुन्। मेरा लागि त राष्ट्रकविभन्दा ठूलो पदवी नै उहाँ श्रीमान् हुनुमा छ।'

[नेपाल लाइभमा प्रकाशित २o७५ असोज ६ शनिबार]

भिडियो हेर्नुहोस्ः

No comments:

Post a Comment