Monday, May 20, 2013

‘नोट होइन अठोट’


फणीन्द्र संगम---
‘विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिता’ नारा लिएर विश्व भ्रमणमा निस्किएका दुई युवा पत्रकार धनुषा पुगेको पाँच दिनपछि पत्रकार उमा सिंहको हत्याको खबर सुन्नुप¥यो । २०६५ पुस २७ गते भएको सिंहको हत्यापछि जनकपुर शोकमा डुब्यो । प्रेस स्वतन्त्रताको अभियानमा लागेका उनीहरूले पनि त्यहाँ पीडा र आँसु साटे । घटनाले दुःखी त बनायो नै, तर पत्रकारहरूको अवस्थाबारे थप बुझ्नुपर्छ भन्ने उनीहरूमा साहस जुट्यो ।
भोजपुर स्थायी घर भएका नारायणप्रसाद भट्टराई र नवराज भट्टराई काठमाडौं आएसँगै पत्रकारितामा होमिए । आवाजविहीनका लागि बुलन्द आवाज नै पत्रकारिता हो भन्ने लागेको थियो त्यसबेला उनीहरूलाई । २०६२ देखि मनोक्रान्ति साप्ताहिकमार्फत पत्रकारिता थालेका भट्टराईद्वयमा पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको देखेपछि नयाँ सोच पलायो । नेपाल पत्रकार महासंघ ललितपुरको सदस्य रहेका उनीहरूले २०६५ असार २ गते भोजपुरबाट विश्व भ्रमणको घोषणा गरे । ‘स्वतन्त्र पत्रकारिताको नारा लिएर विश्व भ्रमण गर्ने सोच बन्यो,’ नारायणले भने, ‘हरेक जिल्लामा गएर पत्रकार महासंघका पदाधिकारीसँग पत्रकारिताको अवस्थाबारे बुझ्यौं ।’
यात्रा सुरु गर्दा संचार गृह र संचारकर्मीमाथि शृंखलाबद्ध आक्रमण भइरहेका थिए । २०६५ असार २ गते विश्व भ्रमणको घोषणा गरे पनि कात्तिक २ गते यात्रा आरम्भ गरे, आफ्नै जन्मस्थल भोजपुरबाट । ०६७ कात्तिक १ गते उनीहरूको नेपाल भ्रमण काठमाडौंमा आएर पूरा भयो । अहिले भने उनीहरू अबको यात्राको प्रक्रिया मिलाउन दिनरात नभनी जुटिरहेका छन् । केही समयअघि गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेलाई भेटेर आवश्यक प्रक्रियाबारे जानकारी लिए । नवराजले सुनाए, ‘सार्क मुलुकबाहेक ६४ राष्ट्रमा एनआरएनको सञ्जाल रहेछ, उहाँहरूले आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।’
अबको यात्रा भारत हुँदै सार्क मुलुकतर्फ केन्द्रित हुने नारायणले बताए । समस्याका बाबजुत नेपाल भ्रमण सकेका उनीहरूले गएको पुस २९ गते ललितपुर प्रशासनमा ‘विश्व दर्शन अभियान नेपाल’ संस्था दर्ता गरेका छन् । संस्थाका अध्यक्ष नवराजले भने, ‘नेपाल दर्शन नामक डकुमेन्ट्री संस्थाका साथीहरूले प्रदर्शन गर्दै हुनुहुन्छ ।’ यात्राले नेपाली संस्कृति, पर्यटनलाई विश्वसामु चिनाउने र प्रेस स्वतन्त्रतालाई जोड दिने लक्ष्य राखेको उनले बताए ।
‘विश्व भ्रमणको उद्देश्य नै विश्वमा पत्रकारिताको अवस्था बुझ्दै सकारात्मक पत्रकारितामा जोड दिनु हो ।’ नवराज भन्छन् । दुई वर्षे नेपाल भ्रमणलाई समेटेर उनीहरूले ‘नेपाल भ्रमणका ७३० दिन’ पुस्तक र ‘नेपाल दर्शन’ वृत्तचित्र निकालिसकेका छन् । तिनमा नेपालको सामाजिक, सांस्कृतिक परिवेश, रहनसहन, स्थानीय र पत्रकारहरूको अवस्थाबारे समेटिएको  छ । ‘हामीले आफ्नो लागि मात्र भ्रमण गरेनौं,’ अभियानका महासचिव नारायणले भने, ‘पुस्तक र वृत्तचित्रमार्फत् सबैलाई नेपाल चिनाउने कोसिस गरेका छौं ।’
भ्रमणको सुरुवातमा राष्ट्रपतिलाई भेटे पनि पुस्तक र वृत्तचित्र लगेर देखाउने उनीहरूको ठूलो धोको छ । नवराज भन्छन्, ‘राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई भेटेर भ्रमणबारे जानकारी गराउन पाए अझै प्रेरित हुने थियौं !’

नेपाल भ्रमणका दुःख

भोजपुरबाट यात्रा थाल्दा उनीहरूसँग तीन सय ५० रुपैयाँ मात्र थियो । ‘नोटभन्दा अठोट महŒवपूर्ण रहेछ,’ नवराजले भने, ‘पहिले समाज र राष्ट्र चिनेमात्र विश्वलाई चिन्न सकिन्छ ।’ उनीहरू जहाँ पुग्थे, त्यहाँका स्थानीयले खाने बस्ने व्यवस्था गरिदिए । ‘समस्यादेखि डराएको भए यात्रा अधुरो हुने थियो,’ नवराज भन्छन्, ‘पैसाभन्दा ठूलो त दृढ इच्छा नै रहेछ ।’
सहरी इलाका र सदरमुकाम क्षेत्रमा राम्रो सहयोग पाउन नसकेको उनीहरूले गुनासो पोखे । ‘कर्णाली अञ्चल यात्राका लागि डेढ महिना लाग्यो,’ नारायणले सुनाए, ‘हिँड्दाहिँड्दै रिंगटा लागेर ढल्न पुग्थ्यौं ।’
नेपाल भ्रमण पूरा गरेपछि उनीहरूले पुस्तक प्रकाशन गर्ने सोच त बनाए तर आर्थिक समस्याले गाँज्यो । ‘पुस्तक प्रकाशनका लागि करिब तीन लाख रूपैंया ऋण काड्नुप¥यो,’ हाल जोरपाटी बस्दै आएका उनीहरू भन्छन्, ‘कहिलेकाहीँ त सब्जी किन्ने पैसा पनि साथमा हुँदैनथ्यो ।’ 
पुस्तक र वृत्तचित्रका लागि झन्डै ३० लाख रूपैयाँ खर्च भएको उनीहरू सुनाउँछन् । फेसबुकमार्फत थाहा पाएका केही मनकारीले पनि सहयोग जुटाइदिए । ‘विश्व साइकल यात्री पुष्कर शाहको संघर्षले हामीलाई पनि विश्व भ्रमण गर्न प्ररित ग¥यो ।’ उनीहरू भन्छन् ।
...
प्रावि पढ्दै गर्दा उनीहरूले नेपालका ७५ जिल्लाबारे थाहा पाएछन् । मावि पुगेपछि विश्वबारे । ‘नेपाल कस्तो होला, विश्व कस्तो होला भन्ने जिज्ञासा भइरहन्थ्यो,’ नारायणलाई साथ दिँदै नवराजले भने, ‘व्यक्तिबाटै नयाँ कामको सुरुवात हुन्छ, त्यो समाज, राष्ट्र हुँदै विश्वसामु पुग्दोरहेछ ।’
 

                                          नागरिक दैनिक (कोलाज) मा २०६९ फागुन ५ गते शनिबार प्रकशित

प्रेम पर्व

                                              

फणीन्द्र संगम- 
मन परेको मान्छेलाई प्रपोज गर्न फेब्रुअरी १४ पर्खिरहनु पर्छ र ! तर ‘आई लभ यु’ भन्न फेब्रुअरी १४ कुर्नेहरू थुपै्र हुन सक्छन् । के थाहा, त्यसमा तपाईं पनि पर्न सक्नुहुन्छ !
फेब्रुअरी १४, अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । प्रेम गर्नेहरूको विशेष साइत । पहिले–पहिले कागजका पानामा प्रेम व्यक्त गर्नेहरू कार्ड, एसएमएस, इमेललाई माध्यम बनाउन थालिसकेका छन् । यो पर्वले युवायुवतीको प्रेमिल दुनियाँ अझै रंगीन बनाउँछ । 
 ‘प्रेम गर्नेहरुले यो दिनलाई अविस्मरणीय बनाउनै पर्छ,’ सुन्धाराकी १८ वर्षीया सुमी क्षेत्री भन्छिन्, ‘यो जमानाका युथले  भ्यालेन्टाइन्स डे नमनाउने भन्ने नै हुँदैन ।’
ब्वाईफ्रेन्ड र साथीहरूसँग क्यान्डल लाइट डिनरको योजना बुन्दै गरेकी सुमीले रातो गुलाब दिनेछिन्, ब्वाईफ्रेन्डलाई । अनि, प्रेम दिवसको साँझ रंगाउनेछिन् । कक्षा १२ मा पढ्ने उनी भ्यालेन्टाइन्स डे समयले ल्याएको रंगीन पर्व भएको बताउँछिन् । ‘यो दिन रमाइलो भयो भने अरु दिन झनै रमाइला होलान्,’ उनी भन्छिन्, ‘ऊसँग बिहे भयो भने राम्रै भयो, छुट्टियो नै भने पनि सम्झना त आइरहला ।’
सुमीजस्तै युवायुवतीका लागि भ्यालेन्टाइन्स डेको महŒव बढ्दै छ । ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्डका लागि कतिपयले यही दिनमा ट्याटु पनि खोपाउने गरेका छन् । सहरी युवाले जुनसुकै ठाउँलाई पनि लभ प्वाइन्ट र डेटिङ स्पट बनाउन थालेका छन्– कलेज होस् या पार्टी, सडक होस् या सपिङ मल, सिनेमा होस् या पब्लिक गाडी ।
स्नातक दोस्रो वर्ष पढ्ने निरा द्योलाका अनुसार प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीबीच अझ बढी खुसी प्रदान गर्ने दिन नै भ्यालेन्टाइन्स डे हो । यो दिनमा व्यक्त गरिने मायाले अझ निकटता बढ्ने निरा बताउँछिन् । यस दिनले सम्बन्धमा निकटता ल्याउने उनले बताइन् । ‘महँगो गिफ्ट दिएर, देखासिकी गरेर मनाउनु राम्रो होइन,’ उनले भनिन्, ‘महँगो गिफ्ट दिँदैमा माया बढ्ने हो र !’
भौतिक वस्तु साटासाट गरेर माया नसाटिने उनको तर्क छ । मनले मात्र माया गरिने भएकाले उपहार दिने र पार्टी गर्ने चलन उनलाई मन पर्दैन ।
पशुपति क्याम्पसका मुकेश आचार्यका लागि भने यसपालिको भ्यालेन्टाइन्स डे झुर हुने छाँट छ । ‘अरु जोडी मस्त रमाउँदै गर्दा आफू परीक्षा लेखिरहेको हुन्छु,’ फागुन ३ गते स्नातक तेस्रो वर्षको परीक्षा लेख्ने मुकेशले पीडा पोखे, ‘परीक्षा नभएको भए साथीहरूसँग रमाइलो गरिन्थ्यो ।’ उनले आफ्नो प्रेमिका नभए पनि यस दिनले नयाँ जोश दिने बताए । भ्यालेन्टाइन्स डे पनि अरु चाडजस्तै विकसित भइसकेको उनको ठम्याई छ । ‘पश्चिमी कल्चर भनिए पनि यसले फरक पार्दैन,’ उनले भने, ‘प्रेम भनेको पूर्व पश्चिमको हुँदैन ।’
साथीहरू भ्यालेन्टाइन्स डे को रमाइलो पर्खाइमा रहेका बेला सानेपाका राजन पिसी भने तनावमा छन् । त्यो दिन पर्खेर प्रपोज गर्ने प्रेमिकालाई कस्तो गिफ्ट दिने भन्ने उनले निर्णय गर्न सकेका छैनन् । ‘दिगो प्रेमका लागि यही दिन उपयुक्त हुन्छ रे,’ उनले भने, ‘त्यसैले त्यही दिन प्रपोज हान्ने सुरमा छु ।’ बर्नहाट पढ्ने राजनको मनले खाएकी केटी नजिकैको अर्को कलेज पढ्छिन् ।
‘पहिले केटा–केटीबीच हेराहेर नभई बिहे हुन्थ्यो,’ राजनले भने, ‘भविष्यका लागि पनि पहिल्यै आफ्नो मान्छे बनाउन पाए राम्रो ।’ नेपाली पर्वहरू मात्रै मनाइरहँदा यस्ता पश्चिमी पर्वले नौलो अनुभूति दिने हुँदा नकारात्मक मान्न नहुने उनी बताउँछन् ।
म्याडिसन ब्रान्डका बिक्रेता क्षितिज पौडेलले भने अहिलेका थोरै युवालाई भ्यालेन्टाइन्सस डेको इतिहासबारे थाहा नै भएको जिकिर गरे । ‘आधुनिकताको नाममा एक खालको पश्चिमी लहर आएको मात्र हो,’ उनले भने, ‘यसको इतिहास र विकासबारे नबुझी मनाउने धेरै छन् ।’


स्थापित : ‘भ्यालेन्टाइन्स डे’अघि नै विस्थापित !

काठमाडौं विकास प्राधिकरणका पूर्वआयुक्त केशव स्थापितको ‘लभ पार्क’ सपना साकार भएको भए धेरै जोडीले यसपालिको ‘भ्यालेन्टाइन्स डे’ त्यही पार्कमै मनाउने थिए ।
नौ महिनाअघि नियुक्त स्थापितले तुरुन्तै लभपार्क बनाएर मायाप्रीति लगाउन सहज बनाउने उद्घोष गरेका थिए । जसै उनी बाहिरिए, अब उनीतिर सोझिएका आशामुखी नजरहरू निराश भए ।
स्थापितले चम्पादेवीको चार हजार रोपनी जग्गामा लभ पार्क बनाउने योजना अघि सारेका थिए । उनी सफल भएका भए हात्तीवन, नगरकोट, केराबारी, बागमती, विष्णुमती किनारका लभ पार्क यतिबेला युगलका गन्तव्य बन्ने थिए ।
खैर, स्थापितको सपनाले आकार लिन पाएन । तर भ्यालेन्टाइन्स डे त फेरि पनि आएरै छाड्यो ।

भ्यालेन्टाइन गिफ्ट


भ्यालेन्टाइन्स डेमा गिफ्ट आदानप्रदान हुने गरेको देखेर गिफ्ट आइटम पसल पनि बिक्री बढाउने ताकमा हुन्छन् । कमलादीस्थित बागमती फ्लोराकी बिक्रेता अनिता कार्की भन्छिन्, ‘भ्यालेन्टाइन्सलाई मध्यनजर गर्दै प्रेम झल्कने नयाँ खाले आइटम ल्याउने गरेका छौं ।’ यो समयमा रेड रोज बढी बिक्छ । अन्य रंगका गुलाब किन्ने एकदमै कम मात्रै हुन्छन् । ‘प्रेमको चाड भएर नै रातो गुलाब बढी बिकेको होला,’ उनी भन्छिन्, ‘कतिपयले बुके, कपल गिफ्ट र शो पिस पनि लाने गर्छन् ।’ उपहार किन्न कोही जोडी नै आउँछन् भने कोही एक्लै ।

इतिहास

इसाको तेस्रो शताब्दी (सन् २६९ फेब्रुअरी १४) मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो । रोम सम्राट क्लाउडियस सेकेन्डले नारीसँग हिमचिम बढाएकै कारण दरबारका सैनिकबाट गोप्यता चुहिन सक्ने भन्दै उनीहरूको प्रेम सम्बन्ध र विवाहमै रोक लगाइदिए । विशाल सेना निर्माणमा लागेका क्लाउडियसले युवाहरूलाई सेनामा भर्ती हुन आह्वान पनि गरे । युद्ध र रक्तपातबाट आजित युवा भर्ती हुन चाहेनन् । झनै आक्रोशित भएका सम्राटले चर्चमा समेत विवाह नगराउन उर्दी जारी गरे ।
एक सन्त भ्यालेन्टाइनले शासकको यस्तो क्रूर नियम उल्लंघन गर्दै सैनिकलाई प्रेम गर्न प्रेरित गरे आफैं पनि प्रेममा परे । लुकिछिपी सैनिकको विवाह गराउन उनी सफल भए । उनी जेल परेपछि भेट्न आउनेमा जेलरकी एक छोरी पनि थिइन् । भ्यालेन्टाइनले आफ्नो मृत्युदण्डबारे थाहा पाइसकेका थिए । उनले तिनै जेलरकी छोरीलाई धेरै प्रेम गर्न थालेको उल्लेख गर्दै पत्रको अन्त्यमा लेखेका थिए– ‘फ्रम योर भ्यालेन्टाइन ।’ ती सन्तलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । उनलाई कतै झुन्ड्याएर त कतै भिया फ्लेमिनियामा जलाएर मारिएको भनाई छ । प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले मृत्युवरण गरेको यही दिनको  सम्झनामा हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।
त्यतिबेला सन्त भ्यालेन्टाइन्स नाम गरेका तीन जना थिए । तीनै जनाले आफ्नी प्रेमिकाकै लागि मृत्युवरण गरेका थिए, फेब्रुअरी १४ मै । एक थिए रोमका पुजारी । शासकको नियम उल्लंघन गर्दै उनले सैनिक र युवाहरूको बिहे गराउनका साथै प्रेम गर्न उत्प्रेरित गरेका थिए । अर्का भ्यालेन्टाइन सन् १९७ तिर टर्नीमा व्यापार गर्थे । उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए । क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार अर्का भ्यालेन्टाइनचाहिँ अफ्रिकाको एक कम्पनीमा आबद्ध थिए ।
                          
                                                                    नागरिक (कोलाज) मा माघ २७, २०६९ शनिबार प्रकाशित


Thursday, April 11, 2013

स्टाइलिस गायकको ‘पप’ यात्रा

                                       
फणीन्द्र संगम–––
             ‘पप स्टार’ निमा रुम्बाको भनाइ सापट लिने हो भने पप संगीत मात्र होइन नेपाली बजारमा अन्य संगीतको व्यापार पनि यतिबेला खस्किएको छ । इन्टरनेट–युट्युबबाट निःशुल्क डाउनलोड गर्ने सुविधा पाएपछि गीत सुन्नकै लागि पैसा खर्चिनेको संख्या ह्वात्तै घटेको छ । ‘पाँच–सात वर्ष अघिसम्म गीत रेकर्ड गराउन म्युजिक कम्पनीबीच तँछाडमछाड चल्थ्यो,’ गायक निमा भन्छन्, ‘अहिले एल्बम बिक्न छोडेको भन्दै उनीहरू एकमुष्ट रकम दिन चाहँदैनन् ।’ तर पनि दुई दशक लामो सांगीतिक यात्रा पार गरेका गायक निमाले हरेश खाएका छैनन् । आफ्नै लगानीमा एक वर्षअघि मात्रै आठौं एल्बम ‘रंगाऊँ कि म’ लिएर देखा परे ।


साँझमा पनि, आऊ आऊ न, प्रेयसी, मिस क्याटवाकजस्ता लोकप्रिय पपका गायक निमाले संगीतमा करिअर निर्माण क्रममा धेरै आरोह–अवरोह झेल्नुप-यो । पुख्र्यौली घर सिन्धुपाल्चोक भएका उनी पर्साको सुवर्णपुरमा जन्मिए अनि हुर्किए काठमाडौंको स्वयम्भूमा । तीन वर्षकै उमेरमा परिवारसहित काठमाडौं आएका उनले विजेश्वरीस्थित गीतामाता माविबाट एसएलसी उत्तीर्ण गरे, २०४६ सालमा । ६ कक्षा पढ्दादेखि नै गीत–संगीत सुन्ने गरेका निमालाई एसएलसी दिने बेलासम्म त पाश्चात्य संगीतको नशा लागिसकेको थियो । साथीसँग कक्षाभित्रै टेबल ठटाएर गाउन थालिहाल्थे । घरमा बाल्टिन घोप्ट्याएर ड्रमसेट बजाएको नक्कल गरेको सम्झना ताजै छ ।
संगीतमा रुचि राख्ने दाइ पासाङ नाम्ग्यालका साथीको छुट्टै टिम थियो त्यो बेला । भाइको सांगीतिक मोह देखेर हुनसक्छ, पासाङले साथीसँग निमाको चिनजान गराइदिए । एसएलसी दिएपछिको खाली समय नै उनका लागि संगीत प्रवेशको पहिलो खुट्किलो बन्यो । दाइ र साथीबाटै गिटार समाउन सिके । ‘गिटारमा सरोज पाण्डे, सुवर्ण तन्डुकार, बासमा वीरमान तामाङ र ड्रममा रवि थापा हुनुहुन्थ्यो,’ सन् १९९० को त्यो समयलाई निमा सम्झन्छन्, ‘त्यही समूहबाटै सुरताल सिकेँ । व्यवसायिक समूह नभए पनि उनीहरूले ख्यालख्यालमै नाम राखिदिए– ‘द बास ब्याण्ड’ । निमा भन्छन्, ‘दशैं, तिहार, कुनै पर्व आयो कि चोकमा, छतमा भेला भएर गाउन–बजाउन थालिहाल्थ्यौं ।’

निमाको संगीतप्रति लगाव देखेर ज्योतिरत्न बज्राचार्य लगायतको समूहले नयाँ ब्याण्डमा आउन आग्रह गरे । केही नयाँ काम गर्ने सोचिरहेका निमालाई गीत रेकर्डका लागि समेत प्रस्ताव गरेपछि के चाहियो र ! उनी ‘पिस ब्याण्ड’ मा अनुबन्धित भइहाले । ‘म भोकलमा थिएँ, दिपेश सिंह, ज्योति, पुरु र शैलेन्द्रसमेत पाँच जनाको टिम थियो ।’ उनी सम्झन्छन् । सोही ब्याण्डमार्फत सन् १९९१ मा कुपन्डोलको साङ् स्टुडियोमा ‘आइदेऊ प्रिय’ गीत रेकर्ड भयो । त्यही नै उनको पहिलो रेकर्डेड गीत थियो । केही समयपछि भएको ‘रारा नेपाली पप–रक कम्पिटिसन’मा सहभागी करिब ५० ब्याण्डमध्ये ‘पीस’ले दोस्रो स्थान हासिल ग-यो । न्युरोडमा हारती क्यासेट सेन्टर सञ्चालन गर्दै आएका अनिल स्थापितको प्रस्तावपछि निमाको आइदेऊ प्रिय ‘ट्यालेन्ट–१’ नामक कलेक्सन एल्बममा समावेश भयो । १९९२ को मध्यतिर उनकै शब्द र एरेन्जमा ‘जाँदैछु टाढा–टाढा’ गीत ‘टच–१’ मा संगृहीत भयो ।
एसएलसी दिएपछि नै सांगीतिक दुनियामा आफ्नो भविष्य देखिसकेका निमाले अध्ययनलाई भने निरन्तरता दिन सकेनन् । उनले भने, ‘मेरो सम्पूर्ण शिक्षा भन्नु नै आजसम्मको सांगीतिक यात्रा हो ।’
सन् १९९१ देखि संगीतमा होमिएका निमाले झन्डै तीन वर्ष रेस्टुरेन्ट र बारमा गाए । उनी भन्छन्, ‘एल्बमका लागि खर्च जुटाउन पनि मैले संघर्ष गर्नुप-यो ।’ त्यही संघर्ष र लगावकै कारण सन् १९९४ मा ‘सुन सुन’ एल्बमसँगै नेपाली पपमा नयाँ शैली लिएर उदाए । एल्बमका धेरै गीत उनी आफैंले लेखेका छन् । पहिलो एल्बम निकाल्दाको दुःख र संयोगले उनलाई बेलाबेला अझै पनि झस्काइरहन्छ । न्युरोडको भूगोलपार्क नजिक डबली रेस्टुरेन्टमा गाउँथे उनी । रेस्टुरेन्टका नियमित ग्राहक थिए, पुष्कर श्रेष्ठ । श्रेष्ठ निमाको गीतबाट प्रभावित बनेछन् । ‘गीत रेकर्ड गराउनु भन्दै १० हजार हातमा राखिदिनुभयो, मेरा लागि त्यो १० लाख बराबर थियो,’ एकाएक भावुक बनेका निमाले भने, ‘साथी पञ्चमान महर्जनले सुनको औंठीसमेत बेचेर एल्बम निकाल्न सहयोग गर्नुभयो ।’ महर्जन अहिले उसुका प्रशिक्षक छन् । त्यति बेला एल्बम निकाल्न ३० हजारजति खर्च हुन्थ्यो ।
पहिलो एल्बमपछि नै आफू स्थापित बनेको निमा बताउँछन् । एल्बममा पोखराका फ्यान विजय हमालको शब्द रहेको ‘उजाड मेरो’ र जेनीकिरण श्रेष्ठको ‘चाहेर तिमीलाई’ गीत समावेश छन् । त्यति बेलाका फ्यानहरूले पठाएका मेल र कार्ड उनीसँग अझै सुरक्षित छन् । ‘ती दिन सुनौला र रमाइला थिए,’ पुराना फ्यान सम्झँदै उनी भन्छन्, ‘पोष्ट बक्समार्फत तस्बिर पठाइदिन आग्रहसहितका चिठ्ठी र गिफ्ट आउँथे ।’ उनी पनि फ्यानको क्रेजअनुरूप आफ्ना तस्बिर पठाइदिन्थे ।
फ्यानमध्येकै सेली त उनकी जीवनसंगिनी बन्न आइपुगिन् । सन् १९९५ मा उनीहरूले ‘लभ म्यारिज’ गरे । सेली हङकङमा रहेकाले निमा पनि १९९७ देखि तीन वर्ष हङकङ बसे । बिहे गर्नुअघि नै १९९६ मा उनले दोस्रो एल्बम निकालिसकेका थिए– ‘मेमोरिज’ । एल्बममा समावेश नयाँ शैलीको ‘मिस क्याट वाक’ गीतको म्युजिक भिडियो बन्यो । निमा भन्छन्, ‘आफैंले मोडलिङ गरेको त्यो मेरो पहिलो म्युजिक भिडियो हो ।’
तीन वर्षपछि नेपाल फर्कंदा उनी रित्तै फर्किएनन् ।  हङकङमा लेखेका धेरै गीत समावेश गरी तेस्रो एल्बम निकाले ‘हुरीबतास’ । एल्बमले हिट्स एफएम अवार्ड पनि पायो । दुई वर्षपछि नै उनी ‘ललिता’ लिएर आए । एल्बमको ‘आऊ आऊ न’ बोलको गीत त्यति बेला चर्चाको शिखरमा पुग्यो ।
सेलीसँग हङकङ बसे पनि गीत रेकर्डिङका सिलसिलामा नेपाल आइरहनु उनलाई सहज भएन । नेपाल फर्कन सहमत भएपछि २००४ को सुरुवातसँगै परिवारसहित निमा काठमाडौं फर्किए । ‘विदेशमा बसेर नेपाली संगीतमा निरन्तरता दिन सकिन्न भन्ने लागेर यस्तो निर्णय लिएँ,’ उनले भने, ‘नेपाली गायक भएकाले मेरो स्थायी थलो त नेपाल नै हुनुपर्छ नि ।’ नेपाल फर्किएसँगै उनको पाँचौ एल्बम ‘फैथ’को ‘साँझमा पनि’ गीत निकै चल्यो ।
दुई वर्षको फरकमा एल्बम निकाल्दै आएका निमाले २००६ मा ‘प्राइड’ निकाले । तर अर्को एल्बमका लागि पाँच वर्ष कुर्नुप¥यो । निमा भन्छन्, ‘विभिन्न कम्पनीका उत्पादनको  विज्ञापनमा काम गरेकाले ग्याप भयो ।’ २००३ मा साकालाका बुम चाउचाउले उनलाई ब्रान्ड एम्बासडर बनायो । त्यसपछि कोकाकोला, यमाहा, सान मिगेलजस्ता उत्पादनको प्रचारमा उनी व्यस्त भए । ‘ब्रान्ड एम्बासडर बन्नु उनीहरूले गरेको सम्मान पनि हो,’ २०१० मा डाबर प्रोस्टाइलको समेत एम्बासडर बनेका निमा भन्छन्, ‘पछिल्लो एल्बमका लागि पनि प्रोस्टाइलको ठूलो सहयोग छ ।’
पछिल्लो एल्बम ‘रंगाऊ कि म’का लागि धेरै मेहनत र खर्च गरेको उनी बताउँछन् । आफ्नै लगानीमा ल्याएको एल्बमले कति कमाई ग¥यो त ? निमा भन्छन्, ‘एल्बम बेचेर कमाउनेभन्दा पनि फ्यानको सन्तुष्टि र आफ्नो पपुलारिटी नै ठूलो कुरा हो ।’ क्यासेट र सिडीको व्यापार हुने जमाना करिब–करिब सिद्दिएको बताउने उनी स्टेज प्रोग्राम र कन्सर्टहरूमै जम्ने बताउँछन् । ‘एल्बम बेचेर बाँच्नै गाह्रो छ,’ उनले थपे, ‘अबका गायकले स्रोतामाझ सजिलै पुग्नतर्फ ध्यान दिनुपर्छ ।’ स्टेज शोमा छुट्टै पहिचान बनाएका उनी अबका दिनमा त्यही विकल्प अँगाल्ने सुरमा छन् । नेपालमै हुने विविध महोत्सवले कलाकारलाई उचित स्पेस दिने गरेको उनको आकलन छ । कन्सर्टकै लागि उनी अमेरिका, क्यानडा, अष्ट्रेलिया, हङकङ, कोरिया, मलेसिया, जापानजस्ता धेरै देश डुलिसकेका छन् ।


यसरी तान्यो पपले

६ कक्षा पढ्दाताका नै उनमा अंग्रेजी गीत र फिल्मको प्रभाव परिसकेको थियो । त्यतिबेला बौद्ध, मखनटोलतिर घरघरमा फिल्म देखाइन्थ्यो । ‘स्कुल बंक गरेरै फिल्म हेर्न जान्थेँ, उनी सुनाउँछन्, ‘दुई–चार रुपैयाँ दिएपछि मज्जाले हेर्न पाइन्थ्यो ।’ अंग्रेजी राम्रो भएकाले साथीहरूका लागि उनी सुन्दर लभलेटर पनि लेखिदिन्थे । काठमाडौंमै हुर्किएका निमाका लागि पाश्चात्य शैली पछ्याउन गाह्रो थिएन । ‘माइकल ज्याक्सनको पर्फमेन्स र जोसबाट धेरै प्रभावित बनेँ,’ उनले भने, ‘अंग्रेजी गीत र त्यसका स्टाइलको नक्कल गरिहाल्थेँ ।’ गीत सुमधुर र मीठो हुनुपर्छ भन्नेसँग उनी सहमत छैनन् । त्यति बेलाका गीतमा पुरानै शैली भएकैले फरक नयाँ शैलीतर्फ आकर्षित भएको बताउँछन् । ‘म नयाँ शैली दिन चाहन्थेँ,’ निमा भन्छन्, ‘संगीत सुमधुर र कोमल मात्र होइन ठूलो जोस पनि हो, यसले नयाँ स्फूर्ति ल्याउनैपर्छ ।’
स्कुले जीवनदेखि नै अंग्रेजी भाषाको राम्रो ज्ञान भएका निमालाई पाश्चात्य ट्रेन्ड भित्र्याउन गाह्रो भएन । नेपाली गीतमा त उनको रुचि नै थिएन । भन्छन्, ‘ओमविक्रम विष्ट, हरिश माथेमाका एल्बम आउन थालेपछि मात्रै नेपाली गीत गाउन थालियो ।’ सञ्जय श्रेष्ठको ‘द क्रसरोड ब्याण्ड’ का गीतले पनि नेपाली पपतर्फ उनलाई तान्यो ।


फेसनेवल गायक

‘तपाईं त फेसनेवल गायक है !,’ प्रश्न झर्न नपाउँदै निमाले हाँस्दै भने, ‘साथीहरू यसै भन्छन्, सबै फिल्मकै प्रभाव होला ।’ निमालाई सम्झना छ– सानो हुँदा प्रायः दशैंमा मात्र नयाँ कपडा लगाउन पाइने । त्यो पनि स्कुले पोसाक । सम्झन्छन्, ‘दाजुले जिन्स लगाएको देख्दा झगडा गर्थें ।’ बुबा पहिलेदेखि नै थांका चित्र बनाउने । उनका सहयोगीहरू घरमा आइरहन्थे । तिनले धोएर सुकाएका कपडा नै लगाएर निमा कहिलेकाहीँ हिँडिदिन्थे । ‘अरुभन्दा छुट्टै देखिन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ उनी भन्छन्, ‘अनुहारमा पनि विभिन्न क्रिम दलिरहने बानी थियो ।’ समयअनुसार व्यक्तित्व कायम राख्न पनि फेसन जरुरी भएको बताउँछन्, उनी ।


फिल्ममा पनि

‘कागबेनी’ मा पहिलोपटक अभिनय गरेका निमाले गुरुङ फिल्म ‘आमा’ का लागि सुटिङ गरिसकेका छन् । ‘लमजुङको भुजुङ गाउँमा सुटिङ भइसक्यो । अतिथि भूमिका निर्वाह गरेको छु ।’ प्रदर्शनमा आइसकेको ‘भिसा गर्ल’ मा पनि उनले अभिनय गर्ने मौका पाएका उनले भने, ‘फिल्म मेरो पेसा नभए पनि नयाँ शैलीका फिल्म गर्न इन्ट्रेस लाग्छ,’ उनी भन्छन् । फिल्म भनेपछि हुरुक्क हुने उनी फिल्म हेर्दा रातदिन बितेको पत्तै पाउँदैनन् ।
...
            परिवारको सहयोग पाएर नै आजको अवस्थासम्म आइपुगेको निमाको भनाइ छ । संगीत बुझेकी पत्नी शेलीको साथ आफ्ना लागि साह्रै महत्वपूर्ण मान्छन् उनी । छोरा स्यामुल नौ कक्षामा पढ्छन्, नोर्विन एकमा । श्रीमती ‘जुम्बा फिटनेस’ की प्रशिक्षक समेत हुन् । दार्जिलिङमा अघिल्लो साता कार्यक्रम सकेर महाराजगञ्जस्थित घर फर्किएका निमाले भने, ‘पहिले स्टेजमा जसरी अडियन्सको साथ पाएँ, अबको यात्रामा पनि उहाँहरूको माया त्यत्तिकै पाउने आशा राखेको छु ।’ वेस्टर्न पप–रकमार्फत बेग्लै शैली लिएर नेपाली सांगीतिक आकाशमा छाएका निमालाई स्टेज पर्फमेन्सले समेत औधी चिनायो । उनी उक्लिनासाथ स्टेजमै गएर झुम्ने युवा जमात ठूलै हुन्थ्यो, कुनै बेला । निमा भन्छन्, ‘मेरा फ्यान अझै पनि घटेका छैनन्, फ्यान नचाउन म जुनसुकै बेला तयार छु ।’


निमाका एल्बमहरू

१. सुनसुन    – १९९४
२.मेमोरिज – १९९६
३.हुरीबतास – २०००
४.ललिता    – २००२
५.फैथ        – २००४
६.वेस्ट अफ निमा – २००५ (कलेक्सन)
७.प्राइड       – २००६
८.रंगाऊ कि म – २०११


                                                (नागरिक दैनिकको परिशिष्टांक 'कोलाज' मा २०६९ माघ १३ गते प्रकाशित) 

ह्याप्पी न्यु इयर !

                                                         ह्याप्पी न्यु इयर

फणीन्द्र संगम–
                          जनवरी १, २०१३ । अर्थात् तीन दिनपछिको बिहानीले धेरैमा नयाँ उमंग र संकल्पको संचार गर्नेछ । धेरैले खुसियालीसाथ उद्घोष गर्नेछन्–‘ह्याप्पी न्यु इयर–२०१३ ।’
इस्वी संवतअनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा यतिबेला फेसबुकका पेज र मोबाइलका ‘टेक्स्ट’हरू ‘न्यु इयर विस’ ले भरिन  थालेका छन् । विक्रम संवत्अनुसार वैशाखलाई नव वर्षारम्भ मानिए पनि अंग्रेजी पात्रो हेरेर ‘न्यु इयर’ मनाउनेको संख्या बढ्दो छ । युवा र किशोरकिशोरी  बढी छन् ।
                 पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी सरस्वती थापा ग्लोबलाइजेसनकै कारण पश्चिमा संस्कृतिले प्रभाव जमाएको बताउँछिन् । ‘आफ्नो परम्परामात्रै कति मान्ने भन्ठान्ने युवाले  जनवरीको न्यु इयर मनाएका हुन सक्छन्,’ उनी भन्छिन् । जाडो बिदामा धेरै साथीहरू घर जाने भएकाले केही साथीसँग घुम्न जाने उनको योजना छ ।
              सिभिल मलमा कलेज ड्रेससँगै भेटिएका नितेशको कलेज न्यु इयरमा बिदा नहुने  भएकाले तनावमा छन् । तर, गर्लफ्रेन्ड लिएर घुम्न जाने उनको प्लानलाई कलेजले बाधा पु-याउने छैन । ‘कलेज बंक गरेर जिएफ (गर्लफ्रेन्ड) सँग नगरकोट जाने,’ उनले भने ।
पश्चिमा देशबाट आयातित चाडपर्वप्रतिको तीव्र मोहका कारण मौलिक संस्कृतिमा परेको प्रभावबारे भने विज्ञहरू चिन्तित छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. ओम गुरुङ युवा पिँढीमा समाज–संस्कृतिदेखि पलायन हुने खतरा बढेको बताउँछन् । ‘न्यु इयर, क्रिसमस, भ्यालेन्टाइन्स डे जस्ता विदेशी पर्व मनाउने प्रवृत्तिले नेपाली जाति–जनजातिका मौलिक संस्कृति ओझेलमा पर्न थालेका छन्,’ उनले भने ।
             विश्वव्यापीकरण तथा मिडियाको सशक्तताका कारण नयाँ विचार, संस्कृति र परिवर्तन भित्रिनु स्वाभाविक भए पनि नेपाली समाजले कतिसम्म पचाउन सक्छ भन्नेमा सचेत हुनुपर्ने गुरुङको धारणा छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा एमएड गर्दैगरेका महोत्तरीका अखिलेशकुमार शर्मा विदेशी चाडपर्व मनाए पनि आफ्नै परिवार र समाजले मनाउँदै आएका पर्वलाई बढी महत्व दिनुपर्ने बताउँछन् । न्युरोडको भूगोलपार्कमा भेटिएका स्नातक तेस्रो वर्षका प्रकाश शर्मा भने फरक धारणा राख्छन्, ‘नयाँनयाँ परिवर्तन पश्चिमी मुलुकबाटै आउने भएकाले फलो त गर्नै प-यो नि !’ प्रकाशकै साथी सिर्जना टेलिभिजन र नेटको प्रयोग र प्रभाव परेकाले विदेशीले मनाउने न्यु इयर मनाउनु अस्वाभाविक नरहेको बताउँछिन् ।
              १२ महिनामा एकपटक मात्र आउने न्यु इयर मनाउने सोचिरहेकी बानेश्वरकी नितु मल्लको पिकनिक जाने सम्भावना ज्यादा छ । साथीहरूसँग शुभकामना आदानप्रदान तथा भेटघाट हुने भएकाले न्यु इयर मनाउनुलाई सकारात्मक नै लिनुपर्ने पद्मकन्या क्याम्पस पढ्दै गरेकी मल्लले बताइन् । उनको धारणा छ, सूचना प्रविधिमार्फत बाह्य संस्कृतिको प्रभाव नेपाल भित्रन सहज भएको हो । कीर्तिपुर– ३ का रामजन महर्जन भन्छन्, ‘सूचना संचारको प्रयोग बढ्दै गएकाले विदेशी संस्कृति, लवाइखुवाई र शैली पछ्याउन नेपालीलाई गाह्रो छैन ।’ न्यु इयर मनाउने बहानामा पार्टी गर्ने, डिस्को जाने युवाप्रति इंगित गर्दै उनी भन्छन्, ‘न्यु इयरले रमाइलोका साथै छाडापनलाई पनि भित्र्याइरहेको छ ।’
                  सूचना प्रविधिको माध्यमबाट विदेशी संस्कृति नेपाल भित्रेको हो । कम्प्युटरको सानो स्क्रिनमा विश्व हेर्न र पढ्न सकिन्छ । प्रविधिकै माध्यमबाट राजधानी र ठूला सहरको नयाँ वर्ष उल्लास अलिअलि गर्दै साना बजार र ग्रामीण भेग छिर्दै छ । इलेक्ट्रोनिक मिडियामा छाएको क्रान्तिकारी परिवर्तनको तरंग युवामा प्रवाह भएको छ । डा. गुरुङ भन्छन्, ‘प्रविधिको विकाससँगै आयातित संस्कृतिलाई महत्व दिँदा आफ्नो गरिमा र पहिचान लोप हुने खतरा बढ्छ ।’ विश्वका विभिन्न मुलुकमा नेपाली जाने क्रम बढिरहेको छ । उनीहरू जहाँ–जहाँ पुग्छन् त्यहाँको संस्कार र शैलीको प्रभावलाई बोकेरै स्वदेश फर्कन्छन् । ‘यही शैलीको अनुकरण गर्ने क्रममा न्यु इयर मनाउने प्रचलन बढेको हो,’ महर्जन भन्छन् । 
            मौलिक पहिचान र संस्कृतिमाथि हावी हुने बाह्य शैलीलाई समाजले कसरी पचाइरहेको छ, सोचनीय विषय हुनसक्छ । जे होस्, न्यु इयरको नाममा युवाहरू मध्यपुसको कठ्यांग्रिँदो जाडोलाई समेत तताइदिने सुरमा छन् ।  
                                      ह्याप्पी न्यु इयर !
                                                                               नागरिक दैनिक, २०६९ पुस १४ शनिबार (प्रकाशित)