![]() |
| पेन्टिङ : रमेश श्रेष्ठ |
वर्षौंअघि घर छाडेर सहर पसेको ऊ
चाडबाडमा गाउँ फर्किन सकेन
आमा–बाको मुख हेर्ने दिन पनि हेक्का रहेन
बाढीले खेत बगायो, उसले फोन गर्न पनि भ्याएन
मोजाको भकुण्डो खेल्दै लडिबुडी गरेको चौर
बाँसको पट्याँसमा चिप्लेटी खेल्ने भिरालो खरबारी
घाँसको भारी बोकेर फर्किंदा सुस्ताउने चौतारी
सबै बिराना भइसके,
घर छाडेको दिन उदास देखिएको गोरेटो पनि
हुर्केर सडक भइसक्यो,
रङ खुइलिएको बस गाउँ र सहर गर्छ
ऊ डेरा–अफिस गर्छ ।
सहर पसेको समयबीच ऊ दुईपल्ट गाउँ गयो
एकपल्ट भूकम्पपछि
र, अर्कोपल्ट महामारी छल्न ।
गाउँबाट फर्किंदा पीडितले पाउने
पहिलो किस्ता लिएर फर्केको ऊ,
यसपालि के लिएर फर्केला ?
[बाह्रखरी अनलाइनमा २०७७ जेठ १७ गते शनिबार प्रकाशित]

No comments:
Post a Comment