Tuesday, December 22, 2020

मलाई आँखादेखि डर लाग्छ



आफ्नाहरुकै स्नेही आँखामा
कसले भरिदियो
व्यभिचारको रापिलो दृष्टि ?
(जसका लाल-आँखा देखेर म गिद्ध सम्झिन्छु)

ऋतुस्नानपछिको सुवासिलो यौवन
केशसँगै फिँजाएर सुकाउन सक्दिनँ
कतै घामका किरणसमेत
बेइमान बनिदिने हुन् कि !
आफ्नै आभा र सौन्दर्य पनि
चिसो डर बनेर पस्छ मनभित्र
साँझ त अर्को विम्ब बनेको छ त्रासको



यहाँ जाल थापेर बसेका छन्
वासनाका सिकारीहरु
कुरिरहेछन्– दोबाटो, एकान्त र गल्लीहरु
ढुकिरहेछन्– जसरी ढुक्छ ब्वाँसोले सिकार
हरेकको नजरमा घोलिएको देख्छु तेजाबको रङ
तिनको हेराइले मात्रै भतभती पोलिरहन्छ

यता समाचार भन्दैछ–
चोभारको पुलमुनि भेटियो रे
काकीको च्यातिएको फरिया
आफ्नै संगी जलिन्पुं
सत्वको सामूहिक लाभामा
पाँचवर्षे भाइले समेत जोगाउन सकेन
आफ्नै लागि अपरिभाषित कुमारत्व

मिडिया सिरिजमा प्रोडक्सन गरिरहेछ
बिकाउ हेडलाइन र प्रतीकात्मक तस्बिर
जसलाई हेर्न सरकार अझै ब्युँझेको छैन
जाहेरी नआएको भन्दै प्रहरी उँघिरहेको छ
बरु मूर्तिले आँखा खोलिसक्यो
अदालत न्यायको तराजु देखाएर
आँखामा पट्टी बाँधिरहेछ ।

(साताको साहित्य, २२ डिसेम्बर,२०२०)

Monday, December 21, 2020

प्रतिनिधिसभाको असंवैधानिक विघटन




दुर्गा खनाल/बिनु सुवेदी (काठमाडौं)
करिब दुई तिहाइ बहुमतको समर्थनमा ३४ महिनाअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सत्तारूढ नेकपाभित्र अल्पमतमा परेपछि प्रतिनिधिसभा नै विघटन गरी नयाँ जनादेशमा जाने निर्णय लिएका छन् । प्रधानमन्त्री ओलीको उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्तै सदर गरिदिएकी छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर प्रतिनिधिसभा विघटन गर्ने र आउँदो वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए । उक्त निर्णय सार्वजनिक भएलगत्तै सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस, संवैधानिक कानुनका जानकारलगायतबाट राजनीतिक र संवैधानिक वैधताको प्रश्न उठेको थियो । तर यस्ता प्रश्नप्रति ख्यालै नगरी राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन गरेकी हुन् । मन्त्रिपरिषद्का केही सदस्यहरूको विरोधका बाबजुद प्रधानमन्त्री ओलीले गरेको निर्णयमा राष्ट्रपति भण्डारीबाट गरिएको अनुमोदनबाट मुलुकमा फेरि राजनीतिक अस्थिरताको बीजारोपण भएको छ । तीन वर्षअघि आफैंले पाएको जनमतको अपमान गरेको आरोप ओलीमाथि लागेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै सडक प्रदर्शनसमेत सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई कुरा राख्न नदिईकन प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । सबै मन्त्री बैठकमा उपस्थित नहुँदै उनले अन्तिम समयसम्म आफूले कोसिस गरे पनि सफल नभएपछि आफू ‘अब ताजा जनादेश’ मा जाने निष्कर्षमा पुगेको बताएका थिए । उनले बैठकमा एकतर्फी कुरा मात्र गरे । मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले यस्तो कदम चाल्नु गलत हुने भन्दै आपत्ति जनाएका थिए । ओली पक्षकै मन्त्री प्रदीप ज्ञवालीले पनि यस्तो कदमले झन् बढी तनाव बढाउने उल्लेख गरेका थिए ।

नेता पुनका अनुसार संविधानविपरीत र वामपन्थी जनमतको समेत उल्लंघन हुने भन्दै मन्त्रीहरूले प्रतिवाद गरेका थिए । तर मन्त्रीहरू बोल्दै गर्दा प्रधानमन्त्री ओली आफ्नो निर्णय बोकेर हिँडे ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिँदा विगतमा राजनीतिक अस्थिरता आएको निष्कर्ष निकाल्दै संविधान निर्माण गर्ने बेला त्यससम्बन्धी छुुट्टै प्रावधान राखिएको थिएन । तर प्रधानमन्त्री ओलीले संविधानभित्रकै दुइटा धारामा प्रवेश गरेर प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । जुन निर्णयको संवैधानिक वैधतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा आइतबारै रिट पेस गरिएका छन् । प्रतिनिधिसभा विघटन गर्दा ओलीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई आधार बनाएका छन् । धारा ७६ को उपधारा १ र ७ मा मन्त्रिपरिषद् गठनसम्बन्धी प्रावधान छ । धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी व्यवस्था छ । धारा ८५ मा ‘यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भनिएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णयलाई वैधानिकता दिन मन्त्रिपरिषद्ले संसदीय प्रणालीका मूल्य मान्यताको प्रसंग पनि उल्लेख गरेको छ । सिफारिस गर्ने क्रममा ‘संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम’ भनिएको छ । संसदीय प्रणालीभित्र बहुमतको प्रधानमन्त्रीले आफूविरुद्ध संसद्को अविश्वास भएको अवस्थामा ताजा जनादेशमा जाने मान्यता छ । मन्त्रिपरिषद्को निर्णयमा यही मान्यताको स्मरण गराउने कोसिस ओलीले गरेका छन् ।



प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि अपराह्न बालुवाटारमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएर आफ्नो कदमलाई ‘लोकतान्त्रिक’ भनेर अर्थ्याए । ‘ताजा जनादेशमा जानुपर्ने देखिएपछि निर्वाचनको घोषणा गरिएको छ,’ उनले भनेका थिए, ‘लोकतन्त्रमा जनतासँग जाने कुरा कसैले अस्वीकार गर्न सक्दैन । दलहरूको क्षमता चुनावबाटै मूल्यांकन हुने हो ।’ उनले विगतमा केहीबाहेक सबै प्रकारका चुनावमा दलहरूले भाग लिएको हुनाले अहिले पनि दलहरू चुनावबाट भाग्न नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्रीनिकट नेताहरूले पनि ताजा जनादेश लिन खोज्नु कुनै नौलो कुरा नभएको भन्दै बचाउ गरेका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहका ७ जना मन्त्रीबाहेक अरू उनको पक्षमा उभिएका छन् । उनीहरूले पनि यसलाई लोकतान्त्रिक र संवैधानिक कदमका रूपमा बचाउ गरेका छन् । ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो कदमलाई बाध्यात्मक भनेका छन् । पार्टी एकताको मर्म र पार्टी विधानको व्यवस्थाविपरीत प्रधानमन्त्रीविरुद्ध संगीन आरोप लगाइएको र पार्टी बाहिरबाट अविश्वासको प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछि यस्तो कदम चाल्नुपरेको स्पष्टीकरण उनले दिएका छन् ।

नेकपाको सचिवालयदेखि स्थायी कमिटीसम्मका बहुमत सदस्यहरूले भने सरकारको यो निर्णय गणतन्त्र र शासन व्यवस्थामाथिकै प्रहारका रूपमा व्याख्या गरेका छन् । ‘नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सनायोग्य छ,’ उपाध्यक्ष वामदेव गौतमले भनेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउनेछ र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्नेछ ।’ राजीनामा दिएका सात जना मन्त्रीले पनि ओलीको कदमलाई गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल भनी व्याख्या गरेका छन् ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यहरूको साँझ बसेको बैठकले गम्भीर विचलनको निष्कर्षसहित ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । तीन वर्षअघि राजनीतिक स्थिरता, विकास र सुशासन दिने प्रतिबद्धतासहित वाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका ओली त्यहीअनुसारको जनमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका थिए । तर उक्त जनमतको वैधता दुई वर्ष बाँकी छँदै प्रधानमन्त्री ओली ताजा जनादेश लिने निर्णयमा पुगेका छन् । यो निर्णयमा पुग्नुमा बाह्यभन्दा उनकै दल नेकपाभित्रको किचलो जोडिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको कार्यशैलीप्रति निरन्तर आपत्ति जनाउँदै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको मागलाई उनले सम्बोधन गरेनन् । बरु उनीहरूलाई समेट्न छाडेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णयमा पुगे । त्यसपछि झन् चिढिएका दाहाल–नेपाल समूहका नेताहरू अविश्वासको प्रस्ताव नै ल्याउने गरी राष्ट्रपति कार्यालयमा हस्ताक्षर बोकेर गएपछि ओलीलाई अब आफूलाई हटाउँदै छन् भन्ने चस्का पस्यो । अविश्वासको प्रस्ताव आउने भएपछि ओलीले शनिबार दाहाल निवास खुमलटार नै पुगेर स्थायी कमिटीका आरोप पत्रहरू फिर्ता लिनका लागि मनाउने कोसिस गरे । तर त्यसमा सफल नभएपछि उनी आफू नहट्ने योजनाअन्तर्गत प्रतिनिधिसभा विघटनको बाटोमा लागेका हुन् ।

विघटनको निर्णय ‘योजनाबद्ध’
तत्कालका घटनाक्रमका कारण ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ । जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे । यो अध्यादेश जारी गर्दा पार्टीभित्र रडाको झन् मच्चिन्छ भन्ने उनले बुझेका थिए । पार्टीभित्र तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिने विषयमा उनी सहमत भए, स्थायी कमिटी बैठकले फिर्ता गर्न निर्देशन दियो । तर उनले निर्देशनअनुसार अध्यादेश फिर्ता गरेनन् । अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक गरेर संवैधानिक निकायमा पदाधिकारी सिफारिसको निर्णय गराए । जे निर्णयबाट पार्टीभित्र माहोल बिग्रिन्छ, त्यही हुँदै गयो । ओलीले सुरक्षा परिषद्को बैठक बोलाउने र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्ने क्रमलाई पनि बाक्लो बनाएका थिए । आफूविरुद्ध घेराबन्दी भए जुनसुकै कदम चाल्न सक्छु भन्ने सन्देश उनले पार्टीका नेताहरूलाई बेलाबखत दिने गरेका थिए ।

गत असार १६ गतेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि त्यतिबेलै पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जाने तयारी गरेको गाइँगुइँ चलेको थियो । त्यतिखेरैको एउटा भेटमा ओलीले अर्का अध्यक्ष दाहालसँग आफूले पद त्याग गर्नुपर्ने स्थिति आए बसिरहेको कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए । ओलीको यही चेतावनीका कारण त्यतिखेर आफूहरूसँग बहुमत हुँदाहुँदै पनि उनका विरुद्धमा जान नसकिएको प्रस्टीकरण दाहालले आफू निकटस्थ स्थायी कमिटी सदस्यहरूको भेलामा दिएका थिए । ओली यो हदमा जान सक्छन् भन्ने ठानी जोखिम टार्न कार्यदल बनाएर दुई अध्यक्षबीच शक्ति सन्तुलन मिलाउने कोसिस गरिएको थियो ।

(साभार : कान्तिपुर, पुस ६, २०७७)

Tuesday, August 18, 2020

राष्ट्रकवि भन्थे– 'मर्न फुर्सदै कल्लाई?' तर...

'क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे म मरी नजाऊँ
आयुष्य देऊ भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ'

'धर्तीमाता' खण्डकाव्यका यिनै श्लोक लेख्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षीय घिमिरेले २०७७ भदौ २ गते साँझ आफ्नै निवास लैनचौर कपुरधारामा जीवनको अन्तिम श्वास फेरे।

नेपाली कविता परम्पराको परिष्कारवादी धाराका उन्नायक कविशिरोमणि लेखनाथ पौड्याल र स्वच्छन्दतावादी धाराका नेतृत्वकर्ता महाकवि लक्ष्मीप्रसाद देवकोटाको मध्यविन्दुका रूपमा देखापरेका घिमिरे आफ्ना रचनालाई परिष्कृत र प्राञ्जल बनाउन सधैं साधनामै लागिरहे। त्यही भएर उनले आफ्ना कवितामा परिष्कारवादी शिल्प र बेजोडको स्वच्छन्दतावादी छाप छोडेका छन् । 

१९९२ सालमा गोरखापत्रमा 'ज्ञानपुष्प' शीर्षकको कविताबाट उनको साहित्य यात्रा सुरु भएको थियो। विशेषगरी उनको सिर्जनक्षेत्र छन्द कविता, खण्डकाव्य र गीति नाटकमा फैलिएको छ। 

आधुनिक नेपाली कविता परम्पराको लामो कालखण्ड पार गरेका उनका धेरै समकालीनलहरुले छाडेर गए पनि शताब्दीभन्दा लामो समय उनले बाँचे। 'मर्न फुर्सदै कल्लाई छ ? फुर्सद हुन्थ्यो भने रङ बदलिँदै जाने आकाशसँगै गोधूलिमा डुब्न लागेको पहेँलो घाम हेर्दै दिन बिताउँथे होला,' केही समयअघि आफ्नै निवास कपुरधारामा यो पंक्तिकारसँग उनले भनेका थिए, 'पहिले–पहिले ७०/७५ वर्षका मान्छे भकाभक जाँदा मलाई पनि डर लाग्थ्यो, त्यसयता नै २० वर्षभन्दा बढी बाँचिसकेँ। अब त केही डर छैन।'

तर मृत्यु शाश्वत छ। सृष्टिको नियम उनमा पनि लागू भइछाड्यो। गीताको सार मान्ने हो भने चोला त उठिसक्यो तर आत्मा यतै कतै घुमिरहेको होला! 

जीवनमा एक दर्जनभन्दा बढी काव्य र खण्डकाव्य प्रकाशित गरे पनि उनको महाकाव्य लेख्ने झन्डै सात दशकअघिको अभीप्सा पूरा हुन पाएन। २०६३ सालयता उनी महाकाव्य 'ऋतम्भरा'कै लेखमा व्यस्त थिए। तर शारीरिक अशक्तताका कारण १४ सर्गभन्दा अरु पूरा गर्न नपाएको सुनाउँथे। 

जीवनमा एउटा महाकाव्य लेख्नैपर्छ भन्ने हुटुहटी पहिल्यै जागेको उनी बताइरहन्थे। देवकोटाले महाकाव्य लेख्दै गर्दा उनमा महाकाव्य लेख्ने जोस चढ्यो। लेख्न पनि थाले। २००२ सालतिरै थालेका थिए 'गोविन्द' महाकाव्य लेख्न तर त्यसले पूर्णता पाउन सकेन। नेपाली साहित्यमा एउटा महाकाव्य दिने उनको 'अन्तिम इच्छा' जत्तिकै बनेको  ऋतम्भरा उनको अवसानसँगै गर्भमै विलिन भएको छ। आशा गरौं, कसैले महाकाव्य प्रकाशनका लागि अगुवाइ लेला।

गौरी २०१५, राजेश्वरी २०१७, राष्ट्रनिर्माता २०३०, धर्तीमाता २०३० जस्ता खण्डकाव्य र शकुन्तला २०३८ अनि मालती मंगले २०३८ उनका लोकप्रिय कृति हुन्। बैसाख, कालीगण्डकी, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, परन्तु यौटै मूर्तिमा विराट्, पनि धेरैले स्मरण गर्ने कविता र गीत हुन्। पत्नी गौरीका निधनपछि शोककाव्यका रुपमा लेखेको गौरी बिक्रीका हिसाबले पनि उत्कृष्ट कृतिमा दरिएको छ। पूर्वीय दर्शनबाट प्रेरित घिमिरेका कवितामा मानवतावादी दृष्टिकोण, प्रकृतिप्रेम, राष्ट्रवादी भाव उनका कविताका विशेषता हुन्।

घिमिरे २०१४ देखि २०३० सम्म तत्कालीन नेपाल एकेडेमीका सदस्य, २०३६ देखि २०४५ सम्म उपकुलपति र २०४६ देखि २०४७ सम्म कुलपतिसमेत बनेका थिए।  

राणाशासन, शाहीकाल, पञ्चायती व्यवस्था भोगेका घिमिरेले जनताको संघर्षबाट जन्मिएको लोकतान्त्रिक गणतन्त्रलाई देख्न भोग्न पाए। तत्कालीन अवस्थामा राजामहाराजका सामु स्तुतिगान गाउने घिमिरेले राजा ज्ञानेन्द्रको शासनकालमा राष्ट्रकविको पदवी पाए। त्यसपछि गणतन्त्रमा सैनिक सम्मानको फुलीसमेत थापे। कतिपयले यसलाई उनको स्वार्थ भनेर पनि टिप्पणी गर्ने गरेका छन्। विशेषगरी प्रगतिवादी खेमाका कविहरुले उनको छन्दपरक लेखन र राष्ट्रकविको पगरीलाई भने कहिल्यै स्विकारेनन्। 

तर, नेपाली साहित्यले आधुनिक नेपाली कविताको सिंगो युग धानेका एक सक्रिय कवि मात्र होइन ‘लिभिङ हेरिटेज’समेत गुमाएको छ। 

कविवरप्रति हार्दिक श्रद्धाञ्जली!

Saturday, June 13, 2020

नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित



काठमाडौं- नयाँ नक्सालाई संविधानमा रहेको निशान छापमा समेट्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ। शनिबार (जेठ ३१, २०७७) प्रतिनिधिसभामा उपस्थित २५८ जनामध्ये पक्षमा २५८ मत नै परेको छ। विपक्षमा शून्य मत रह्यो।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधन विधेयक ल्याइएको थियो।

Wednesday, June 10, 2020

भोकको यौटा आकार हुन्छ [निर्बन्ध]



आज त चाँडै उठिएछ।

लकडाउनको अस्तव्यस्त दैनिकीमा ६ बजे उठ्नुलाई पनि चाँडै भनेर गर्व गर्नु परिरहेछ। चाँडै उठ्नुको पनि बाध्यात्मक कारण छ।

बिहानै बाहिर हल्लाखल्ला भयो र भाँडाहरु बज्न थाले भने बुझ्नुस्, धारामा पानी आयो। आज यस्तै भयो। जुरुक्क उठेर आँखा मिच्दै चस्मा लगाएँ र दुइटा बाल्टी लिएर पुगेँ। आएको बेला थाप्न पाइएन भने ४/५ दिनसम्म सुक्खा भइन्छ। यसरी कहिलेकाहीँ निद्रालाई निदाएकै बेलामा हत्या गर्नुपर्दा अपराधबोध हुने रहेछ।

Tuesday, June 9, 2020

विद्रुपता [कविता]

                                                                                                गुगलबाट

चिहानघारीमा लैजाऊ प्रयोगशाला
आर्यघाटलाई बनाऊ अस्पताल
मृत्युको बहिखाता लिएर बसेको
चित्रगुप्तलाई
योनी-द्वारपाल नियुक्त गर

भाइरसले कुहिएर
डुङडुङ्ती गन्हाइसकेको लास हुँ म
मलाई जीवन देऊ
म जन्मिन चाहन्छु ।

Monday, June 1, 2020

गाउँ [कविता]

पेन्टिङ : रमेश श्रेष्ठ

वर्षौंअघि घर छाडेर सहर पसेको ऊ
चाडबाडमा गाउँ फर्किन सकेन
आमा–बाको मुख हेर्ने दिन पनि हेक्का रहेन
बाढीले खेत बगायो, उसले फोन गर्न पनि भ्याएन

मोजाको भकुण्डो खेल्दै लडिबुडी गरेको चौर
बाँसको पट्याँसमा चिप्लेटी खेल्ने भिरालो खरबारी
घाँसको भारी बोकेर फर्किंदा सुस्ताउने चौतारी
सबै बिराना भइसके,
घर छाडेको दिन उदास देखिएको गोरेटो पनि
हुर्केर सडक भइसक्यो,
रङ खुइलिएको बस गाउँ र सहर गर्छ
ऊ डेरा–अफिस गर्छ ।

बालुवाटारलाई किरियापुत्रीको प्रश्न [कविता]


तिम्रो नैतिकताको मृत्युमा बरखी बारेको होइन
यो शोक तिम्रो नेतृत्व–गुमले छाएको पनि होइन

चिन्यौ मलाई ?
म वासुदेव भट्ट
अर्थात्, क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य
यो देशको (अ)नागरिक
गरिबीले पेट बाउँडिएपछि
‘लाहुर’ जान बाध्य एक नौजवान !

Saturday, May 30, 2020

अम्बर गुरुङले बाँचुन्जेल सार्वजनिक गर्न नचाहेको गीत [अडियोसहित]


भनिन्छ– सर्जकहरुको भौतिक शरीर पो मरेर जान्छ, उनीहरुको सिर्जना अजर-अमर भइराख्छ। अनन्तसम्म बाँचिरहन्छन् उनीहरु, सिर्जनामार्फत्l

सर्जकको अन्त्यपछि जब उसको सिर्जना रहस्य बनेर सार्वजनिक हुन थाल्छ, त्यो सुखद आश्चर्य हुने रहेछ। 

अम्बर गुरुङले कुनै बेला भनेका थिए, ‘म मरेपछि मात्र यो गीत सार्वजनिक गर्नू।’

Thursday, May 28, 2020

रत्नशमशेर थापाका प्रतिबन्धित चार गीत



'कुन सीमासम्मको गीतमा बन्देज लगाइन्छ भन्ने नै थाहा पाइन्नथ्यो,' गीतकार थापा भन्छन्, 'गीत ब्यान्ड गरिएको खबर आएपछि किन भनेर सोध्नुको अर्थ थिएन। रेडियोले नै निर्णय गरेपछि गर्‍यो-गर्‍यो।'
🎵𝄞🎼 ✀ 🎵𝄞🎼

काठमाडौं– समकालीन सर्जकहरु कोही रेडियो नेपाल त कोही तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिरे थिए। गीतकार रत्नशमशेर थापाले भने कहिले पनि ती संस्थामा जागिर खाएनन्। चाहेनन्। कलेजको सुरुवाती दिनदेखि नै नारायणगोपाल, नातिकाजी लगायतसँग जोडिन पुगेका उनलाई जागिरको 'लोभ' जागेन। 

'मलाई आफ्नो स्वाभिमान ठूलो लाग्छ, किन म कसैसँग सम्झौता गरूँ?' हक्की स्वभावका उनले अहिले पनि झोँक्किएरै भने, 'एकेडेमी छिर्नलाई कसैको पाउ मोल्नुपर्थ्यो। रेडियो भन्नुमात्रै, त्यहाँभित्रको वातावरण अस्तव्यस्त थियो। मलाई यस्ता कुराले छुँदै छोएन।'

Friday, March 6, 2020

न्याय निरूपणको याचना [पुस्तक]

लेखक सुशीला कार्की, उनका श्रीमान् दुर्गा सुवेदी र साथमा प्रकाशक पुस्तक पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल
उपन्यासको ध्येय मानवअधिकार, महिला मुक्ति र न्यायको सवाल नै हो। लेखकले अनेक चरित्र खडा गरी तिनीहरूमार्फत नीतिनिर्माण तहलाई झकझक्याउने प्रयास गरेकी छन्।
⏭⏮
न्याय सेवामा ३० वर्ष बिताएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ ३० वर्षअघिकै कथा हो, महिला कैदीबन्दीहरूको । उपन्यासको कथाकेन्द्र कारागार भए पनि महिलाका पारिवारिक र सामाजिक हिंसाको प्रताडनालाई खोतलिएको छ ।

राजनीतिक व्यवस्था फेरियो, सामाजिक संरचना बदलियो तर ‘सुधारगृह’ भनिने जेलभित्रको जीवन फेरिएन । जेलर र नाइके/नाइकेनीको कठोर सत्ताको भुमरीमा कैदीबन्दी पिल्सिइरहेका छन् । किनकि यहाँभित्रको नेक्सस, राजनीति, भ्रष्टाचार, आरोप–प्रत्यारोप अनि गुट–उपगुटको चक्र चलिरहेकै छ ।

भोला काका [स्मृति]

                                                                           स्केच : कृष्णगोपाल
डोरीमा धोती सुकाएको देख्दा झसंग भएँ र आफैंलाई सोधेँ, ‘के उनी फेरि गाउँ फर्किए ?’ भोला काकाको विम्ब मेरो मस्तिष्कबाट कहिल्यै हराउन सकेन।
⇜⇜⧭⇝⇝
भोला गाउँबाट भागेछ,’ सिकुवामा नाम्लो पछार्दै बुबाले भन्नुभयो ।उहाँको अनुहार सधैंभन्दा बढी रातो देखिन्थ्यो । हातमा मैलो ढाकाटोपी अँठ्याउँदा कपाल लछप्पै भिजेका थिए, पसिनाले ।

त्यतिन्जेलमा लोटामा भरि पानी लिएर आमा बाहिर निस्किसक्नुभएको थियो । खाटमा बस्दै बुबाले घटघटी एकै झमटमा पानी रित्याउनुभयो । घाँसको भारी बोकेर आधा घण्टाको बाटो हिँड्नुपर्दा तिर्खाले खरिनुभएको थियो सायद ।

Monday, January 6, 2020

धानको जीवन [दृश्यचित्र]






हामी मानव जीवनको कुरा गर्छौं। जीवजन्तुको जीवनचर्याबारे चर्चा गर्छौं। अस्ट्रेलियामा भइरहेको आगलागीबाट करिब ५० करोड जीवजन्तुले जीवन गुमाए, हाल तिनैको जीवन–मरणको चर्चा गरिरहेका छौं।

यो चाहिँ धानको जीवन–कथा हो। अर्थात्, कीर्तिपुर–पाँगास्थित कोठाको झ्यालबाट देखिएको दृश्य–चित्र। यसमा रोपेदेखि काटेर बाली उठाउन्जेलसम्म एकै ठाउँबाट लिइएका तस्बिर समावेश छन्। चार महिनाभित्र विभिन्न समयमा लिइएका यी तस्बिरले धानको जीवन–चक्र बुझाउला कि!
                                                                              
असार ३०