Monday, May 20, 2013

‘नोट होइन अठोट’


फणीन्द्र संगम---
‘विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिता’ नारा लिएर विश्व भ्रमणमा निस्किएका दुई युवा पत्रकार धनुषा पुगेको पाँच दिनपछि पत्रकार उमा सिंहको हत्याको खबर सुन्नुप¥यो । २०६५ पुस २७ गते भएको सिंहको हत्यापछि जनकपुर शोकमा डुब्यो । प्रेस स्वतन्त्रताको अभियानमा लागेका उनीहरूले पनि त्यहाँ पीडा र आँसु साटे । घटनाले दुःखी त बनायो नै, तर पत्रकारहरूको अवस्थाबारे थप बुझ्नुपर्छ भन्ने उनीहरूमा साहस जुट्यो ।
भोजपुर स्थायी घर भएका नारायणप्रसाद भट्टराई र नवराज भट्टराई काठमाडौं आएसँगै पत्रकारितामा होमिए । आवाजविहीनका लागि बुलन्द आवाज नै पत्रकारिता हो भन्ने लागेको थियो त्यसबेला उनीहरूलाई । २०६२ देखि मनोक्रान्ति साप्ताहिकमार्फत पत्रकारिता थालेका भट्टराईद्वयमा पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको देखेपछि नयाँ सोच पलायो । नेपाल पत्रकार महासंघ ललितपुरको सदस्य रहेका उनीहरूले २०६५ असार २ गते भोजपुरबाट विश्व भ्रमणको घोषणा गरे । ‘स्वतन्त्र पत्रकारिताको नारा लिएर विश्व भ्रमण गर्ने सोच बन्यो,’ नारायणले भने, ‘हरेक जिल्लामा गएर पत्रकार महासंघका पदाधिकारीसँग पत्रकारिताको अवस्थाबारे बुझ्यौं ।’
यात्रा सुरु गर्दा संचार गृह र संचारकर्मीमाथि शृंखलाबद्ध आक्रमण भइरहेका थिए । २०६५ असार २ गते विश्व भ्रमणको घोषणा गरे पनि कात्तिक २ गते यात्रा आरम्भ गरे, आफ्नै जन्मस्थल भोजपुरबाट । ०६७ कात्तिक १ गते उनीहरूको नेपाल भ्रमण काठमाडौंमा आएर पूरा भयो । अहिले भने उनीहरू अबको यात्राको प्रक्रिया मिलाउन दिनरात नभनी जुटिरहेका छन् । केही समयअघि गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेलाई भेटेर आवश्यक प्रक्रियाबारे जानकारी लिए । नवराजले सुनाए, ‘सार्क मुलुकबाहेक ६४ राष्ट्रमा एनआरएनको सञ्जाल रहेछ, उहाँहरूले आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।’
अबको यात्रा भारत हुँदै सार्क मुलुकतर्फ केन्द्रित हुने नारायणले बताए । समस्याका बाबजुत नेपाल भ्रमण सकेका उनीहरूले गएको पुस २९ गते ललितपुर प्रशासनमा ‘विश्व दर्शन अभियान नेपाल’ संस्था दर्ता गरेका छन् । संस्थाका अध्यक्ष नवराजले भने, ‘नेपाल दर्शन नामक डकुमेन्ट्री संस्थाका साथीहरूले प्रदर्शन गर्दै हुनुहुन्छ ।’ यात्राले नेपाली संस्कृति, पर्यटनलाई विश्वसामु चिनाउने र प्रेस स्वतन्त्रतालाई जोड दिने लक्ष्य राखेको उनले बताए ।
‘विश्व भ्रमणको उद्देश्य नै विश्वमा पत्रकारिताको अवस्था बुझ्दै सकारात्मक पत्रकारितामा जोड दिनु हो ।’ नवराज भन्छन् । दुई वर्षे नेपाल भ्रमणलाई समेटेर उनीहरूले ‘नेपाल भ्रमणका ७३० दिन’ पुस्तक र ‘नेपाल दर्शन’ वृत्तचित्र निकालिसकेका छन् । तिनमा नेपालको सामाजिक, सांस्कृतिक परिवेश, रहनसहन, स्थानीय र पत्रकारहरूको अवस्थाबारे समेटिएको  छ । ‘हामीले आफ्नो लागि मात्र भ्रमण गरेनौं,’ अभियानका महासचिव नारायणले भने, ‘पुस्तक र वृत्तचित्रमार्फत् सबैलाई नेपाल चिनाउने कोसिस गरेका छौं ।’
भ्रमणको सुरुवातमा राष्ट्रपतिलाई भेटे पनि पुस्तक र वृत्तचित्र लगेर देखाउने उनीहरूको ठूलो धोको छ । नवराज भन्छन्, ‘राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई भेटेर भ्रमणबारे जानकारी गराउन पाए अझै प्रेरित हुने थियौं !’

नेपाल भ्रमणका दुःख

भोजपुरबाट यात्रा थाल्दा उनीहरूसँग तीन सय ५० रुपैयाँ मात्र थियो । ‘नोटभन्दा अठोट महŒवपूर्ण रहेछ,’ नवराजले भने, ‘पहिले समाज र राष्ट्र चिनेमात्र विश्वलाई चिन्न सकिन्छ ।’ उनीहरू जहाँ पुग्थे, त्यहाँका स्थानीयले खाने बस्ने व्यवस्था गरिदिए । ‘समस्यादेखि डराएको भए यात्रा अधुरो हुने थियो,’ नवराज भन्छन्, ‘पैसाभन्दा ठूलो त दृढ इच्छा नै रहेछ ।’
सहरी इलाका र सदरमुकाम क्षेत्रमा राम्रो सहयोग पाउन नसकेको उनीहरूले गुनासो पोखे । ‘कर्णाली अञ्चल यात्राका लागि डेढ महिना लाग्यो,’ नारायणले सुनाए, ‘हिँड्दाहिँड्दै रिंगटा लागेर ढल्न पुग्थ्यौं ।’
नेपाल भ्रमण पूरा गरेपछि उनीहरूले पुस्तक प्रकाशन गर्ने सोच त बनाए तर आर्थिक समस्याले गाँज्यो । ‘पुस्तक प्रकाशनका लागि करिब तीन लाख रूपैंया ऋण काड्नुप¥यो,’ हाल जोरपाटी बस्दै आएका उनीहरू भन्छन्, ‘कहिलेकाहीँ त सब्जी किन्ने पैसा पनि साथमा हुँदैनथ्यो ।’ 
पुस्तक र वृत्तचित्रका लागि झन्डै ३० लाख रूपैयाँ खर्च भएको उनीहरू सुनाउँछन् । फेसबुकमार्फत थाहा पाएका केही मनकारीले पनि सहयोग जुटाइदिए । ‘विश्व साइकल यात्री पुष्कर शाहको संघर्षले हामीलाई पनि विश्व भ्रमण गर्न प्ररित ग¥यो ।’ उनीहरू भन्छन् ।
...
प्रावि पढ्दै गर्दा उनीहरूले नेपालका ७५ जिल्लाबारे थाहा पाएछन् । मावि पुगेपछि विश्वबारे । ‘नेपाल कस्तो होला, विश्व कस्तो होला भन्ने जिज्ञासा भइरहन्थ्यो,’ नारायणलाई साथ दिँदै नवराजले भने, ‘व्यक्तिबाटै नयाँ कामको सुरुवात हुन्छ, त्यो समाज, राष्ट्र हुँदै विश्वसामु पुग्दोरहेछ ।’
 

                                          नागरिक दैनिक (कोलाज) मा २०६९ फागुन ५ गते शनिबार प्रकशित

प्रेम पर्व

                                              

फणीन्द्र संगम- 
मन परेको मान्छेलाई प्रपोज गर्न फेब्रुअरी १४ पर्खिरहनु पर्छ र ! तर ‘आई लभ यु’ भन्न फेब्रुअरी १४ कुर्नेहरू थुपै्र हुन सक्छन् । के थाहा, त्यसमा तपाईं पनि पर्न सक्नुहुन्छ !
फेब्रुअरी १४, अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । प्रेम गर्नेहरूको विशेष साइत । पहिले–पहिले कागजका पानामा प्रेम व्यक्त गर्नेहरू कार्ड, एसएमएस, इमेललाई माध्यम बनाउन थालिसकेका छन् । यो पर्वले युवायुवतीको प्रेमिल दुनियाँ अझै रंगीन बनाउँछ । 
 ‘प्रेम गर्नेहरुले यो दिनलाई अविस्मरणीय बनाउनै पर्छ,’ सुन्धाराकी १८ वर्षीया सुमी क्षेत्री भन्छिन्, ‘यो जमानाका युथले  भ्यालेन्टाइन्स डे नमनाउने भन्ने नै हुँदैन ।’
ब्वाईफ्रेन्ड र साथीहरूसँग क्यान्डल लाइट डिनरको योजना बुन्दै गरेकी सुमीले रातो गुलाब दिनेछिन्, ब्वाईफ्रेन्डलाई । अनि, प्रेम दिवसको साँझ रंगाउनेछिन् । कक्षा १२ मा पढ्ने उनी भ्यालेन्टाइन्स डे समयले ल्याएको रंगीन पर्व भएको बताउँछिन् । ‘यो दिन रमाइलो भयो भने अरु दिन झनै रमाइला होलान्,’ उनी भन्छिन्, ‘ऊसँग बिहे भयो भने राम्रै भयो, छुट्टियो नै भने पनि सम्झना त आइरहला ।’
सुमीजस्तै युवायुवतीका लागि भ्यालेन्टाइन्स डेको महŒव बढ्दै छ । ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्डका लागि कतिपयले यही दिनमा ट्याटु पनि खोपाउने गरेका छन् । सहरी युवाले जुनसुकै ठाउँलाई पनि लभ प्वाइन्ट र डेटिङ स्पट बनाउन थालेका छन्– कलेज होस् या पार्टी, सडक होस् या सपिङ मल, सिनेमा होस् या पब्लिक गाडी ।
स्नातक दोस्रो वर्ष पढ्ने निरा द्योलाका अनुसार प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीबीच अझ बढी खुसी प्रदान गर्ने दिन नै भ्यालेन्टाइन्स डे हो । यो दिनमा व्यक्त गरिने मायाले अझ निकटता बढ्ने निरा बताउँछिन् । यस दिनले सम्बन्धमा निकटता ल्याउने उनले बताइन् । ‘महँगो गिफ्ट दिएर, देखासिकी गरेर मनाउनु राम्रो होइन,’ उनले भनिन्, ‘महँगो गिफ्ट दिँदैमा माया बढ्ने हो र !’
भौतिक वस्तु साटासाट गरेर माया नसाटिने उनको तर्क छ । मनले मात्र माया गरिने भएकाले उपहार दिने र पार्टी गर्ने चलन उनलाई मन पर्दैन ।
पशुपति क्याम्पसका मुकेश आचार्यका लागि भने यसपालिको भ्यालेन्टाइन्स डे झुर हुने छाँट छ । ‘अरु जोडी मस्त रमाउँदै गर्दा आफू परीक्षा लेखिरहेको हुन्छु,’ फागुन ३ गते स्नातक तेस्रो वर्षको परीक्षा लेख्ने मुकेशले पीडा पोखे, ‘परीक्षा नभएको भए साथीहरूसँग रमाइलो गरिन्थ्यो ।’ उनले आफ्नो प्रेमिका नभए पनि यस दिनले नयाँ जोश दिने बताए । भ्यालेन्टाइन्स डे पनि अरु चाडजस्तै विकसित भइसकेको उनको ठम्याई छ । ‘पश्चिमी कल्चर भनिए पनि यसले फरक पार्दैन,’ उनले भने, ‘प्रेम भनेको पूर्व पश्चिमको हुँदैन ।’
साथीहरू भ्यालेन्टाइन्स डे को रमाइलो पर्खाइमा रहेका बेला सानेपाका राजन पिसी भने तनावमा छन् । त्यो दिन पर्खेर प्रपोज गर्ने प्रेमिकालाई कस्तो गिफ्ट दिने भन्ने उनले निर्णय गर्न सकेका छैनन् । ‘दिगो प्रेमका लागि यही दिन उपयुक्त हुन्छ रे,’ उनले भने, ‘त्यसैले त्यही दिन प्रपोज हान्ने सुरमा छु ।’ बर्नहाट पढ्ने राजनको मनले खाएकी केटी नजिकैको अर्को कलेज पढ्छिन् ।
‘पहिले केटा–केटीबीच हेराहेर नभई बिहे हुन्थ्यो,’ राजनले भने, ‘भविष्यका लागि पनि पहिल्यै आफ्नो मान्छे बनाउन पाए राम्रो ।’ नेपाली पर्वहरू मात्रै मनाइरहँदा यस्ता पश्चिमी पर्वले नौलो अनुभूति दिने हुँदा नकारात्मक मान्न नहुने उनी बताउँछन् ।
म्याडिसन ब्रान्डका बिक्रेता क्षितिज पौडेलले भने अहिलेका थोरै युवालाई भ्यालेन्टाइन्सस डेको इतिहासबारे थाहा नै भएको जिकिर गरे । ‘आधुनिकताको नाममा एक खालको पश्चिमी लहर आएको मात्र हो,’ उनले भने, ‘यसको इतिहास र विकासबारे नबुझी मनाउने धेरै छन् ।’


स्थापित : ‘भ्यालेन्टाइन्स डे’अघि नै विस्थापित !

काठमाडौं विकास प्राधिकरणका पूर्वआयुक्त केशव स्थापितको ‘लभ पार्क’ सपना साकार भएको भए धेरै जोडीले यसपालिको ‘भ्यालेन्टाइन्स डे’ त्यही पार्कमै मनाउने थिए ।
नौ महिनाअघि नियुक्त स्थापितले तुरुन्तै लभपार्क बनाएर मायाप्रीति लगाउन सहज बनाउने उद्घोष गरेका थिए । जसै उनी बाहिरिए, अब उनीतिर सोझिएका आशामुखी नजरहरू निराश भए ।
स्थापितले चम्पादेवीको चार हजार रोपनी जग्गामा लभ पार्क बनाउने योजना अघि सारेका थिए । उनी सफल भएका भए हात्तीवन, नगरकोट, केराबारी, बागमती, विष्णुमती किनारका लभ पार्क यतिबेला युगलका गन्तव्य बन्ने थिए ।
खैर, स्थापितको सपनाले आकार लिन पाएन । तर भ्यालेन्टाइन्स डे त फेरि पनि आएरै छाड्यो ।

भ्यालेन्टाइन गिफ्ट


भ्यालेन्टाइन्स डेमा गिफ्ट आदानप्रदान हुने गरेको देखेर गिफ्ट आइटम पसल पनि बिक्री बढाउने ताकमा हुन्छन् । कमलादीस्थित बागमती फ्लोराकी बिक्रेता अनिता कार्की भन्छिन्, ‘भ्यालेन्टाइन्सलाई मध्यनजर गर्दै प्रेम झल्कने नयाँ खाले आइटम ल्याउने गरेका छौं ।’ यो समयमा रेड रोज बढी बिक्छ । अन्य रंगका गुलाब किन्ने एकदमै कम मात्रै हुन्छन् । ‘प्रेमको चाड भएर नै रातो गुलाब बढी बिकेको होला,’ उनी भन्छिन्, ‘कतिपयले बुके, कपल गिफ्ट र शो पिस पनि लाने गर्छन् ।’ उपहार किन्न कोही जोडी नै आउँछन् भने कोही एक्लै ।

इतिहास

इसाको तेस्रो शताब्दी (सन् २६९ फेब्रुअरी १४) मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो । रोम सम्राट क्लाउडियस सेकेन्डले नारीसँग हिमचिम बढाएकै कारण दरबारका सैनिकबाट गोप्यता चुहिन सक्ने भन्दै उनीहरूको प्रेम सम्बन्ध र विवाहमै रोक लगाइदिए । विशाल सेना निर्माणमा लागेका क्लाउडियसले युवाहरूलाई सेनामा भर्ती हुन आह्वान पनि गरे । युद्ध र रक्तपातबाट आजित युवा भर्ती हुन चाहेनन् । झनै आक्रोशित भएका सम्राटले चर्चमा समेत विवाह नगराउन उर्दी जारी गरे ।
एक सन्त भ्यालेन्टाइनले शासकको यस्तो क्रूर नियम उल्लंघन गर्दै सैनिकलाई प्रेम गर्न प्रेरित गरे आफैं पनि प्रेममा परे । लुकिछिपी सैनिकको विवाह गराउन उनी सफल भए । उनी जेल परेपछि भेट्न आउनेमा जेलरकी एक छोरी पनि थिइन् । भ्यालेन्टाइनले आफ्नो मृत्युदण्डबारे थाहा पाइसकेका थिए । उनले तिनै जेलरकी छोरीलाई धेरै प्रेम गर्न थालेको उल्लेख गर्दै पत्रको अन्त्यमा लेखेका थिए– ‘फ्रम योर भ्यालेन्टाइन ।’ ती सन्तलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । उनलाई कतै झुन्ड्याएर त कतै भिया फ्लेमिनियामा जलाएर मारिएको भनाई छ । प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले मृत्युवरण गरेको यही दिनको  सम्झनामा हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।
त्यतिबेला सन्त भ्यालेन्टाइन्स नाम गरेका तीन जना थिए । तीनै जनाले आफ्नी प्रेमिकाकै लागि मृत्युवरण गरेका थिए, फेब्रुअरी १४ मै । एक थिए रोमका पुजारी । शासकको नियम उल्लंघन गर्दै उनले सैनिक र युवाहरूको बिहे गराउनका साथै प्रेम गर्न उत्प्रेरित गरेका थिए । अर्का भ्यालेन्टाइन सन् १९७ तिर टर्नीमा व्यापार गर्थे । उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए । क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार अर्का भ्यालेन्टाइनचाहिँ अफ्रिकाको एक कम्पनीमा आबद्ध थिए ।
                          
                                                                    नागरिक (कोलाज) मा माघ २७, २०६९ शनिबार प्रकाशित