Tuesday, August 18, 2020

राष्ट्रकवि भन्थे– 'मर्न फुर्सदै कल्लाई?' तर...

'क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे म मरी नजाऊँ
आयुष्य देऊ भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ'

'धर्तीमाता' खण्डकाव्यका यिनै श्लोक लेख्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षीय घिमिरेले २०७७ भदौ २ गते साँझ आफ्नै निवास लैनचौर कपुरधारामा जीवनको अन्तिम श्वास फेरे।

नेपाली कविता परम्पराको परिष्कारवादी धाराका उन्नायक कविशिरोमणि लेखनाथ पौड्याल र स्वच्छन्दतावादी धाराका नेतृत्वकर्ता महाकवि लक्ष्मीप्रसाद देवकोटाको मध्यविन्दुका रूपमा देखापरेका घिमिरे आफ्ना रचनालाई परिष्कृत र प्राञ्जल बनाउन सधैं साधनामै लागिरहे। त्यही भएर उनले आफ्ना कवितामा परिष्कारवादी शिल्प र बेजोडको स्वच्छन्दतावादी छाप छोडेका छन् । 

१९९२ सालमा गोरखापत्रमा 'ज्ञानपुष्प' शीर्षकको कविताबाट उनको साहित्य यात्रा सुरु भएको थियो। विशेषगरी उनको सिर्जनक्षेत्र छन्द कविता, खण्डकाव्य र गीति नाटकमा फैलिएको छ। 

आधुनिक नेपाली कविता परम्पराको लामो कालखण्ड पार गरेका उनका धेरै समकालीनलहरुले छाडेर गए पनि शताब्दीभन्दा लामो समय उनले बाँचे। 'मर्न फुर्सदै कल्लाई छ ? फुर्सद हुन्थ्यो भने रङ बदलिँदै जाने आकाशसँगै गोधूलिमा डुब्न लागेको पहेँलो घाम हेर्दै दिन बिताउँथे होला,' केही समयअघि आफ्नै निवास कपुरधारामा यो पंक्तिकारसँग उनले भनेका थिए, 'पहिले–पहिले ७०/७५ वर्षका मान्छे भकाभक जाँदा मलाई पनि डर लाग्थ्यो, त्यसयता नै २० वर्षभन्दा बढी बाँचिसकेँ। अब त केही डर छैन।'

तर मृत्यु शाश्वत छ। सृष्टिको नियम उनमा पनि लागू भइछाड्यो। गीताको सार मान्ने हो भने चोला त उठिसक्यो तर आत्मा यतै कतै घुमिरहेको होला! 

जीवनमा एक दर्जनभन्दा बढी काव्य र खण्डकाव्य प्रकाशित गरे पनि उनको महाकाव्य लेख्ने झन्डै सात दशकअघिको अभीप्सा पूरा हुन पाएन। २०६३ सालयता उनी महाकाव्य 'ऋतम्भरा'कै लेखमा व्यस्त थिए। तर शारीरिक अशक्तताका कारण १४ सर्गभन्दा अरु पूरा गर्न नपाएको सुनाउँथे। 

जीवनमा एउटा महाकाव्य लेख्नैपर्छ भन्ने हुटुहटी पहिल्यै जागेको उनी बताइरहन्थे। देवकोटाले महाकाव्य लेख्दै गर्दा उनमा महाकाव्य लेख्ने जोस चढ्यो। लेख्न पनि थाले। २००२ सालतिरै थालेका थिए 'गोविन्द' महाकाव्य लेख्न तर त्यसले पूर्णता पाउन सकेन। नेपाली साहित्यमा एउटा महाकाव्य दिने उनको 'अन्तिम इच्छा' जत्तिकै बनेको  ऋतम्भरा उनको अवसानसँगै गर्भमै विलिन भएको छ। आशा गरौं, कसैले महाकाव्य प्रकाशनका लागि अगुवाइ लेला।

गौरी २०१५, राजेश्वरी २०१७, राष्ट्रनिर्माता २०३०, धर्तीमाता २०३० जस्ता खण्डकाव्य र शकुन्तला २०३८ अनि मालती मंगले २०३८ उनका लोकप्रिय कृति हुन्। बैसाख, कालीगण्डकी, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, परन्तु यौटै मूर्तिमा विराट्, पनि धेरैले स्मरण गर्ने कविता र गीत हुन्। पत्नी गौरीका निधनपछि शोककाव्यका रुपमा लेखेको गौरी बिक्रीका हिसाबले पनि उत्कृष्ट कृतिमा दरिएको छ। पूर्वीय दर्शनबाट प्रेरित घिमिरेका कवितामा मानवतावादी दृष्टिकोण, प्रकृतिप्रेम, राष्ट्रवादी भाव उनका कविताका विशेषता हुन्।

घिमिरे २०१४ देखि २०३० सम्म तत्कालीन नेपाल एकेडेमीका सदस्य, २०३६ देखि २०४५ सम्म उपकुलपति र २०४६ देखि २०४७ सम्म कुलपतिसमेत बनेका थिए।  

राणाशासन, शाहीकाल, पञ्चायती व्यवस्था भोगेका घिमिरेले जनताको संघर्षबाट जन्मिएको लोकतान्त्रिक गणतन्त्रलाई देख्न भोग्न पाए। तत्कालीन अवस्थामा राजामहाराजका सामु स्तुतिगान गाउने घिमिरेले राजा ज्ञानेन्द्रको शासनकालमा राष्ट्रकविको पदवी पाए। त्यसपछि गणतन्त्रमा सैनिक सम्मानको फुलीसमेत थापे। कतिपयले यसलाई उनको स्वार्थ भनेर पनि टिप्पणी गर्ने गरेका छन्। विशेषगरी प्रगतिवादी खेमाका कविहरुले उनको छन्दपरक लेखन र राष्ट्रकविको पगरीलाई भने कहिल्यै स्विकारेनन्। 

तर, नेपाली साहित्यले आधुनिक नेपाली कविताको सिंगो युग धानेका एक सक्रिय कवि मात्र होइन ‘लिभिङ हेरिटेज’समेत गुमाएको छ। 

कविवरप्रति हार्दिक श्रद्धाञ्जली!

No comments:

Post a Comment