Sunday, December 7, 2014

साहित्य आन्दोलन : राल्फाका कठिन दिनहरू


बीसको दशकयता नेपाली साहित्यमा देखा परेका अभियान–आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन्, धेरै आन्दोलन लामो समयसम्म टिक्न सकेनन् । तर ‘राल्फा’ यस्तो आन्दोलन थियो, जसको चर्चा हिजोआज पनि भइरहन्छ । साहित्यको भर्भराउँदो कोपिलाबाट उदाएको राल्फा प्रगतिशील संगीत बनेर फक्रियो । काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँ–गाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म दौडिए ।

राल्फाका सशक्त गायक÷संगीतकारद्वय रामेश र रायन भन्छन्, ‘हामीले आन्दोलन मर्न दिएका छैनौं, अहिले पनि ‘जनताका गीत’ गाइरहेका छौं ।’


राल्फाको जन्म

२०१९ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा ओखलढुंगाको प्रतिनिधित्व गर्दै जब रामेश र रायन काठमाडौं आए, त्यो नै राल्फा निर्माणको कोशेढुंगा हुन पुग्यो । उनीहरूको गीतबाट प्रभावित पारिजातसँगको भेट र त्यसपछिको विचार–विनिमयबाट राल्फाले बलियो जग निर्माण गर्यो । 

२०२१ सालदेखि रेडियो नेपालबाट बज्न थालेका रामेश र रायनको पूर्वेली लोकगीत धेरैका मुखमा  झुन्डिए । अन्य गीतभन्दा तिनमा ठेट–लोकशब्द र लय भएकाले धेरैले मन पराएको रामेश बताउँछन् ।

तीन वर्षसम्म गीत गाइरहँदा बेला–बेला पारिश्रमिक नपाएपछि उनीहको विद्रोह सुरु भयो, रेडियो नेपालप्रति । ‘एउटा गीत गाएको १० रुपैयाँ दिन्थ्यो । एक महिनामा तीन गीत, ३० रुपैयाँ,’ रामेश रेडियो नेपालको शोषण सम्झन्छन्, ‘दुःखका दिनमा पैसा नदिएर भोकभोकै पारेपछि रेडियो नेपाललाई मुद्दा हालेर गाउनै छाडिदियौं ।’

पारिजातले भेट्न बोलाएपछि त्यो विद्रोहले सामूहिक रूप लियो । ‘रेडियो नेपालबाट धम्की र दबाब आएकाले नयाँ समूह निर्माणको महसुस गर्यो,’ रायन भन्छन्, ‘त्यही समूहको नेतृत्व पारिजातले लिनुभयो ।’ यसरी २०२३ को अन्त्यतिर निर्माण भएको राल्फा सांगीतिक समूहमा रामेश, रायन, अरिम र मञ्जुल आबद्ध हुन आइपुगे । त्यसपछि उनीहरू सांगीतिक कार्यक्रममार्फत सडक, चोक–चोकमा गाउँदै हिँड्न थाले । स्कुल, कलेजका कार्यक्रममा राल्फा समूह विशेष आमन्त्रित हुन्थ्यो ।

पारिजातको ‘शिरीषको फूल’ले मदन पुरस्कार पाइसकेकाले उनको चर्चा त छँदै थियो, अझ  राल्फा उनकै नेतृत्वमा रहेपछि बौद्धिक जमातमा ठूलो तहल्का मच्चाइदियो । ‘पारिजातसँग हाम्रो भेट नभएको भए उहाँमा प्रगतिशील विचार आउने थिएन,’ रायन दाबी गर्छन्, ‘उहाँ शून्यवाद र अस्तित्ववादमै खुम्चिनुहुन्थ्यो । हामी पनि कहाँ पुग्थ्यौं भन्न सकिन्न ।’

कुनै राजनीतिक दलसँग असम्बद्ध र सुरुमा वैचारिक मार्ग नबोकेको राल्फाको एउटैमात्र उद्देश्य थियो, देशमा व्याप्त सामाजिक अत्याचार, शासकीय अन्याय र कुलीनहरूको विरोध गर्नु । राल्फाले ठान्यो, सामाजिक न्याय र समानताको वकालत गर्दै गरिब–निमुखाको आवाज बुलन्द गर्नैपर्छ ।




भोकै मर्ने महाकविका पेटका सारंगीहरू
हाम्रा गीतहरू
नांगै मर्ने गाइने दाइका झुत्रा लुगाहरू
हाम्रा गीतहरू ।



सुरुवाती दिनमा अनेकौं अमूर्त कविता, गीत, पहाडी खाँट्टी लोकगीत र न्यायप्रेमी गीत गाएर राल्फालीले उत्पीडनमा परेका जनता, सचेत र बौद्धिक समुदायबाट समर्थन पाए । ‘तर सुरुमा राल्फाको उद्देश्यबारे हामी आफैंमा अस्पष्ट थियौं,’ रामेश भन्छन्, ‘पछि भूमिगत कम्युनिस्ट पार्टीको प्रभाव र सम्पर्कबाट मात्रै राजनीतिक विचारको उदय हुन पुग्यो ।’

भोजपुर छँदै मञ्जुलको गीतबाट प्रभावित नोरेम २०२६ सालमा काठमाडौं आए । केही समयपछि मात्रै उनलाई थाहा भयो, मञ्जुल त राल्फा समूहसँग आबद्ध रहेछन् । उनकै सम्पर्कबाट नोरेम पनि राल्फामा गाँसिए । ‘पुतलीसडकस्थित पारिजात दिदीको कोठामा प्रायः साँझ हाम्रो जमघट हुन्थ्यो । राल्फा आन्दोलनबारे विचार–विमर्श हुन्थ्यो । त्यतिबेला निनु चापागाईं, निरन र केही समय गणेश रसिक पनि रहेछन्,’ नोरेम सम्झन्छन् । 

‘राल्फा’ले निश्चित अर्थ बोकेको छैन । प्रचलित परम्परागत शब्दमा राल्फालीको अस्वीकृति थियो । नयाँ सोच र नवनिर्माणले मात्र पञ्चायती राज्यसत्ता ढाल्न सकिन्छ भन्ने चिन्तनस्वरूप उनीहरूले नयाँ नामकरण गरे । ‘प्रशासनबाट बच्न र परम्परागत नामको भ्रमलाई तोड्नु थियो,’ नोरेम मञ्जुलको भूमिका प्रष्ट्याउँछन्, ‘म हरि श्रेष्ठलाई नोरेम नाम राखिदिने पनि उहाँ नै हो ।’

 

सांगीतिक यात्रा


रेडियो नेपालको शोषणविरुद्धको आक्रोश रामेश र रायनमा छँदै थियो । त्यसलाई पोख्ने उपयुक्त ठाउँ पाएका थिएनन् । राल्फा निर्माणपछि तत्कालीन पञ्चायती राज्यसत्ताविरुद्ध जनताका गीत गाउँदै हिँड्ने सोच बन्यो । राल्फा राजधानीमा मात्रै सीमित रहेन । यसका अभियन्ता गाउँ–बस्ती निस्किए । ‘मेची–महाकालीदेखि भारतको सिक्किम, दार्जिलिङ, सिलाङ, गुहावटीसम्म पुगेर चेतनाका गीत गायौं,’ रायन सांगीतिक अभियान सम्झन्छन्, ‘बाटो खर्चमात्र लिएर अन्य त्यहीँ सहयोग गथ्र्यौं ।’

पारिजात अस्वस्थ हुँदै गए पनि रामेश, रायन, मञ्जुल र अरिमको समूह अझ सशक्त भएर अभियानमा जुटिरह्यो । तत्कालीन राज्यसत्ताबाट पीडित जनताले उनीहरूको समर्थन गर्थे । जहाँबाट कार्यक्रम गर्न उनीहरूलाई निम्तो आउँथ्यो; गितार, हार्मोनियम, तबलाजस्ता वाद्यवादन काँधमा भिरेर त्यहीँ पुगिहाल्थे ।
रायन एउटा रोचक घटना सम्झन्छन्, ‘त्यसबेलाको महेन्द्र पुलिस क्लबमा राल्फाको गीति कार्यक्रम गर्न एक आइजिपीले नै हल उपलब्ध गराइदिए,’ उनी थप्छन्, ‘हाम्रो विचार मन पराउने पञ्चायतभित्र पनि धेरै थिए ।’
राजतन्त्र र पञ्चायतको विरोधमा विद्रोहको स्वर घन्काउँदै जनतामा जागरण भर्नु त्यति सहज थिएन । एक त प्रहरी–प्रशासनबाट पक्राउ पर्ने डर, अर्को राजधानी, सहर र गाउँहरूमा ‘मण्डले’को आतंक ।

राल्फा निर्माणलगत्तै तिनका विद्रोही गीतको चर्चा सर्वत्र हुन थाल्यो । राजा महेन्द्रले पनि चासो राखे । महेन्द्रले गीत सुन्न चाहेको सूचना राल्फासम्म पुगेपछि जाने कि नजाने भन्नेमा केही अलमल देखियो । अन्ततः उनीहरूले राष्ट्रिय नाचघरमा महेन्द्रका अगाडि निर्धक्क गीतहरु सुनाए । ‘कुनै प्रतिक्रिया देखाएनन्, तर उनका अगाडि जनपक्षीय गीतहरू गायौं,’ रायन भन्छन् ।

पूर्वी अभियान


विकट बस्तीमा पुगेर जनतामा विचार फैलाउन सकेमात्र आफ्ना गीत प्रभावकारी हुने ठानी २०२७ तिर रामेश, मञ्जुल र अरिमको समूह पूर्व हान्नियो । काठमाडौंमा स्थापित राल्फाको केन्द्र त धरान र विराटनगर पो बन्यो ।

पूर्वी पहाडी क्षेत्रमा कुनै यस्तो गाउँ थिएन, जहाँ राल्फा संगीत नसुनिएको होस् । बनेपा, साँघुटार, ओखलढुंगा, रुम्जाटार, बुइँपा, दिक्तेल, ऐंसेलुखर्क, इलाम, दिङ्ला, चैनपुर, आठराई, तेह्रथुम, भोजपुरका विभिन्न गाउँहरू । थकाइ, निद्रा, भोकतिर्खा नभनी गीत गाएको रामेश सम्झन्छन् । ‘गाउँलेहरू टाढा–टाढाबाट खोलाखोल्सी तरेर पुल्ठो बाल्दै राति हाम्रा गीत सुन्न आउँथे,’ उनी भन्छन्, ‘उनीहरूको ठूलो जमातमाझ राति तीन बजेसम्म गीत सुनाएको पत्तै हुँदैनथ्यो ।’

अन्न उब्जाउने किसान भोकै बस्नुपर्ने, घर बनाउने डकर्मी घरबारविहीन हुनुपर्ने, बाटो बनाउने मजदुर त्यही बाटोमा गाडी चढ्न नपाउने यथार्थ देशमा थियो । यस्तै विषय–सन्दर्भका गीत गाउँदा उनीहरूले गाउँका शोसक र सरकारबाट दबाब–आरोप खेप्नुप¥यो । विद्रोहका गीत सुनाएर काम गरिरहेका सोझा किसानलाई उक्साएको, नारी हितका गीत गाएर परिवार भाँडेको, छुवाछुतविरुद्ध गीत गाएर तल्लो जातिलाई उकासेको जस्ता आरोप लाग्ने गरेको रामेश सुनाउँछन् । 

‘सदरमुकाममा त डर थिएन, पक्राउ पर्दा छुटाउने सचेत वर्ग हाम्रै पक्षमा थिए, गाउँमा भने मण्डलेको त्रास भइरहन्थ्यो,’ उनी भन्छन् । यथास्थितिको विरोध गर्दै क्रान्तिकारी गीत गाउने जो कोहीलाई पनि त्यसबेला कम्युनिस्ट बुझिन्थ्यो । ‘तर हामीले कहिले पनि कम्युनिस्ट हौं भनेर गीत गाएनौं,’ उनले गीतको एक अंश सुनाए–

‘हामीले गाउने गीत मजदुरहरूको, किसानहरूको

रगत सुकाई काम गर्ने श्रमिकहरूको
दुनियाँको निर्माण गर्ने कर्मीहरूको ।
स्कुलमा भोकभोकै आउने साना नानीहरूको
दिनभरि काम गरी रातभरि भोकै सुत्ने गरिब खेतालाको 
हामी बाँचिरहेको देशको...।’
 ‘कुनै दलसम्बद्ध नभए पनि प्रगतिशील र विद्रोहका साहित्य–संगीत सिर्जना हुन थाले,’ राल्फाका अर्का सदस्य नोरेम भन्छन्, ‘तत्कालीन पञ्चायती सत्ताको विरोधमा जनसमर्थन जुटाउन यिनै गीत–संगीत सशक्त बने ।’

क्रान्ति र विद्रोहका साहित्य तत्कालीन पञ्चायती व्यवस्थालाई पच्नै कुरै भएन । उनीहरूको कोपभाजनबाट बच्न राल्फालीहरू सरल भाषामा नभई व्यञ्जनात्मक अर्थ लाग्ने साहित्य लेख्थे । ‘सोझै लेख्दा शासकहरूको पहिलो तारो हामीमाथि बर्सिन्थ्यो । तर हामी घुमाउरो भाषामा उनीहरूविरुद्ध निरन्तर लागिरहन्थ्यौं,’ नोरेम भन्छन् । सुरुवाती दिनमा अमूर्त र क्लिष्ट साहित्य लेखियो भनेर राल्फालीमाथि आरोप लाग्ने गथ्र्यो । तर सहरमा मात्रै प्रतीकात्मक अर्थ लाग्ने गीत गाएको बताउँछन् रामेश, ‘गाउँमा त जनताले बुझ्ने सरल भाषामा गीत गायौं । उनीहरूलाई जतिसक्दो हामीले क्रान्तिका लागि विचार बुझाउनुु जरुरी थियो ।’

बाटो, चौतारी, चिया पसलहरु र गाउँलेका आँगन–आँगनमा गीत गाउँदा ठूलो संख्यामा स्थानीयको साथ पाउँथे उनीहरू । ‘एक ठाउँ गाउँदै गरेको थाहा पाएपछि अर्को गाउँका गाउँले आफ्नोमा लैजान चाहन्थे । कसले पहिले लाने भन्ने होडबाजीजस्तै हुन्थ्यो,’ रामेश भन्छन् । उनीहरूसँग एक गाउँबाट अर्को गाउँसम्म पुग्नका लागि सम्पर्क सूत्रको काम गर्ने चिठी–पत्रहरू हुन्थे । ‘आक्रोश’, ‘झिल्को’जस्ता पत्रिका र अन्य कागजात साथमा भएपछि प्रहरीबाट बच्न उनीहरू डराई–डराई हिँड्थे । ‘कहीँ त दुई–तीन सय गाउँले हातमा लाठी लिएर गीति कार्यक्रमको सुरक्षामा बस्थे,’ उनले थपे, ‘सिद्धान्तको कुरा नबुझे पनि हामीले उनीहरूको हितको गीत गाउँदै आएको राम्ररी बुझ्थे । त्यसले ठूलो ऊर्जा थप्थ्यो ।’

अचम्मको कुरा त पञ्चायती व्यवस्थाविरुद्ध लागेका राल्फा कलाकारकोे सहयोगमा केही पञ्चायती कर्मचारी र प्रहरी नै लाग्थे । ‘हाम्रो लक्ष्य, उद्देश्य र विचारलाई मन पराउने जनप्रेमी इमान्दार मान्छे त्यो व्यवस्थाभित्र पनि प्रशस्त थिए,’ रामेश सम्झन्छन् ।

राल्फा विभाजन


राल्फालीमा तत्कालीन राज्यसत्ता बदल्ने भावना थियो । त्यसपछि के बनाउने भन्नेचाहिँ थिएन । कम्युनिस्टका विभिन्न समूहसँगको सम्पर्कपछि माक्र्सवादी दर्शनको प्रभावबाट निश्चित आकार बन्दै गयो ।

कठोर पञ्चायती व्यवस्थाको कारण कम्युनिस्ट राजनीति गर्ने दलहरू भूमिगत रूपमा सक्रिय थिए । त्यतिबेला जनताको घरदैलोसम्म दुःखसुखका गीत गाउँदै हिँडेको राल्फालाई उनीहरू आफ्नो दलमा तान्न चाहन्थे । पुष्पलाल श्रेष्ठको एक समूह ‘पूर्वकोसी’ले रामेशको समूहलाई साथमा लियो । ‘हामीलाई त सुरुमा कम्युनिस्टहरू को को हुन् केही थाहा थिएन । हामीलाई सहयोग गरेको ठान्थ्यौं,’ राल्फा विभाजन हुनुअघिको घटना रामेश सम्झन्छन्, ‘यस्तै फरक–फरक समूहको निकटता र प्रभावबाट राल्फाका साथीहरू विभाजित हुन पुग्यौं ।’

जब उनीहरूको टोली काठमाडौं फर्कियो । त्यसबेलासम्म राजनीतिक चेतको बीजारोपण भइसकेको थियो । ‘त्यो यात्रा एउटा कोशेढुंगा नै थियो,’ नोरेमको विश्लेषण छ, ‘कमसेकम कुनै सिद्धान्त नबोकेको राल्फाले जनतासँगको निकटताबाट राजनीतिक चेत त निर्माण गर्न सक्यो ।’ 

रामेशको समूह पूर्वी अभियानमै रहँदा यता पारिजात र रायनको समूहले आफ्नो यात्रा अघि बढाइरहेको थियो । विचारमा केही फरक देखिन थालेपछि राल्फाभित्र २०२९ सालदेखि नै केही खटपट देखा प¥यो भने ३० सालपछि त राल्फामा पूरै विभाजन देखियो ।

पूर्वी यात्रामा निस्किएको रामेशको टोली पहिले नै ‘पूर्व कोसी’बाट प्रभावित बनिसकेको थियो । रामेश, मञ्जुल र अरिमको समूह झापा मालेतिर लाग्यो । पारिजात, रायन, नोरेम, निनुलगायत मोहनविक्रम सिंह र निर्मल लामाको ‘चौथो महाधिवेशन–मसाल’सँग नजिकिए ।

राल्फा विभाजनपछि पार्टीगत रूपमा संलग्न भए पनि उनीहरूले सांगीतिक कर्मलाई भने त्यागेनन् । ‘त्रिविमा जागिर सुरु गरिसकेकाले पूर्णकालीन कार्यकर्ता भएर काम गर्न पाइनँ तर पनि वामपन्थी विचारधाराबाट अलग हुन सकिनँ,’ प्रगतिशील प्राध्यापक संघमा रहेर काम गरिसकेका नोरेम भन्छन् ।
राल्फाको मूलधारबाट अलग–अलग भएपछि पहिलेका सदस्यबीच राम्रो सम्बन्ध कायम हुन सकेन । कारण थियो, पार्टीगत अस्वस्थ प्रतिस्पर्धा र निषेधको राजनीति । ‘ओखलढुंगाबाट कलाकार हुन सँगै काठमाडौं पसेका र राल्फा संघर्षमा सँगै रहेका रायन र मबीच झन्डै १६÷१७ वर्ष बोलचालै भएन,’ रामेश आक्रोश व्यक्त गर्छन्, ‘पार्टीहरूको कस्तो नीति र कार्यशैली हो त्यो ?’

राल्फा विभाजनपछि मालेसम्बद्ध रामेशले ‘संकल्प’ समूह निर्माण गरेर ‘संकल्प गीति अभियान’ चलाउन थाले भने रायनले ‘वेदना सांस्कृतिक समूह’मार्फत् ‘सिम्मा गीति नाटक’ प्रदर्शन गर्न थाले । २०४४ सालपछि ‘वेदना’ नै ‘इन्द्रेणी सांस्कृतिक समाज’मा रूपान्तरण हुन पुग्यो ।

के पाए राल्फालीले


‘हामीले राजनीतिलाई दरबारबाट गरिब जनताको झुपडीसम्म पु¥यायौं,’ २०२४ सालदेखि ‘जनताका गीत’ गाइरहेका रामेश भन्छन्, ‘कम्युनिस्ट पार्टीहरूले वर्षौं मेहनत गरेर पनि आर्जन गर्न नसक्ने शक्ति हामीजस्ता कलाकर्मीहरुले पाँच÷छ  वर्षमै निर्माण गरिदियौं ।’

आफूहरूले पार्टीलाई उठाउन ठूलो संघर्ष गरे पनि पार्टीले नै गलहत्याएकोमा रायन पछुतो मान्दैनन्, ‘हामीले तक्मा चाहेका थिएनौं । जहाँसुकै पुग्दा पनि जनताको न्यानो माया पाइरहेका छौं, त्यही ठूलो कुरा हो ।’

रामेशले २०३९ मा माले छाडे भने रायनले २०५४ मा जनमोर्चा । सांस्कृतिककर्मीलाई हेर्ने सोच बदल्न पार्टीलाई सचेत गराउँदा तत्कालीन जनमोर्चाले रायनलाई सहेन, पार्टी ठूलो भएपछि गुट निर्माणको खुराफाती सुरु भएपछि त्यस्तो प्रवृत्तिको विरोध गर्दा रामेश निकालिए ।

राल्फा विभाजनपछि फरक राजनीतिक विचार लिएका उनीहरूलाई जुटाइदियो, २०४६ सालको जनआन्दोलनले । ‘प्रहरीको पक्राउपछि पुलिसथानामा हाम्रो फेरि भेट भयो,’ रामेशले भने । त्यहाँ उनीहरूले अंगालो हालेर भनेका थिए, ‘आखिर हामी जनतासँगै रहेछौं । एउटै अभियानमा रहेछौं ।’
अहिले दुवै सँगसँगै छन् । सांगीतिक ऊर्जा उत्तिकै छ । रायन भन्छन्, ‘हामीले काँध हालेका पार्टीहरू माथि चढे । हामी झन्–झन् भासिँदै गयौं ।’

(नागरिक दैनिकको 'अक्षर'मा २०७० साउन ५ गते शनिबार प्रकाशित )

No comments:

Post a Comment