आज त चाँडै उठिएछ।
लकडाउनको अस्तव्यस्त दैनिकीमा ६ बजे उठ्नुलाई पनि चाँडै भनेर गर्व गर्नु परिरहेछ।
चाँडै उठ्नुको पनि बाध्यात्मक कारण छ।
बिहानै बाहिर हल्लाखल्ला भयो र भाँडाहरु बज्न थाले भने बुझ्नुस्, धारामा पानी आयो। आज यस्तै भयो। जुरुक्क उठेर
आँखा मिच्दै चस्मा लगाएँ र दुइटा बाल्टी लिएर पुगेँ। आएको बेला थाप्न पाइएन भने ४/५ दिनसम्म सुक्खा भइन्छ। यसरी कहिलेकाहीँ निद्रालाई निदाएकै बेलामा हत्या गर्नुपर्दा अपराधबोध हुने रहेछ।
पालो कुर्दा र दुई पटक थाप्दा झन्डै ७ बज्यो। चाँडै उठिहाले पनि फेरि सुत्ने बानी
छैन। निद्रा परे पो सुत्नु! फ्रेस भएर निस्किएँ चोकतिर।
पहिलेपहिले गेट खोलेर बाहिर हेर्न पनि डर लाग्थ्यो। चीनबाट आएका नेपाली विद्यार्थीमा
पहिलोपटक कोरोना संक्रमण देखियो। यसबारे आएका समाचार पढ्दा/सुन्दा त्योभन्दा बढी डर थपियो। पछि दोस्रो संक्रमित
काठमाडौंकै भएकाले झन् डर बढ्यो। उनको निवास र मेरो डेराको दुरी गाउँतिर हो भने वल्लो-पल्लो गाउँजस्तो। तर कंक्रिटका सुक्खा घरहरुबीच दुरी नाप्ने कुनै उपकरण हुन्न
रहेछ। भावनाको फित्ता निकै महँगो पर्दो रहेछ सहरमा। त्यसैले छिमेकीकै घरसम्म दुरी नाप्ने चेष्टा कसैले गर्दैन।
दुरीको होइन म त डरको कुरा गर्दैथेँ। कोरोनाको डर। के तपाईंलाई पनि सुरुसुरुमा
यस्तै भयानक डर लागेको थियो? संक्रमित बढेर १० पुग्दा ओहो दोहोरो अंक छोयो भनेर डराइयो। पहिलो मृतक पुष्टि
हुँदा अर्को चरण डराइयो। डरका अनेकौं तह पार गर्दै गर्दा मृतक १५ जना पुगिसकेका छन्।
संक्रमित ४ हजार। तर मलाई पहिले जस्तो डर लाग्न छाडिसकेको छ। बरु डर नै कोरोनासँग डराएको
हुनुपर्छ। आजै प्रधानमन्त्री संसद्मा भन्दैथे- नेपालीको रोग प्रतिरोधात्मक
शक्ति असाधारण छ। कोरोना पनि एक रोग हो। यो हतपती लाग्दैन।
प्रमको यो सम्बोधन कोरोनाले पनि पक्कै सुन्यो (सुनी) होला। थाहा छैन कोरोना महिला हो कि
पुरुष! तपाईंलाई भनिहालूँ, म अझै पनि कतिपय देवीदेउताको लिंग छुट्याउन सक्दिन। गत फागुनमा
मनकामना मन्दिर जाने अवसर जुर्यो। दर्शन गर्ने बेलामा 'मनकामना देउता मेरो प्रार्थना पूरा गरिदेऊ' टाइपले
ध्यानस्थ भइरहेको रहेछु। पछि नजिकैका पसलतिर फोटोमा देखेँ- मनकामना
माताको जय। माता भएपछि देउता हुने कुरै भएन। मनकामना देवी पो त! सायद मेरो यही झुक्याइको सजाय हुन सक्छ, अझै प्रार्थना
पूरा भएको छैन। तर पश्चात्ताप पनि छैन। म कट्टर मन्दिरप्रेमी होइन।
अघि प्रधानमन्त्रीको सम्बोधनको कुरा गर्दैथेँ। उनी सम्बोधनमा पटकपटक दोहोर्याइरहन्छन्- कुनै पनि नेपाली खान नपाई भोकभोकै मर्दैन। सडकमा अब कोही माग्ने हुनेछैन।
तर कोरोनाले मर्नेको संख्या गन्दैगर्दा उनी सूर्यबहादुर तामाङ र मलर सदाको नाम
लिन बिर्सन्छन्। लकडाउनका कारण रोजीरोटी गुमेपछि उनीहरुले भोकभोकै प्राण त्यागे। यस्ता
कति मजदुर होलान्, जो पेटमा
एक गेडो भए पनि अन्न परोस् भनेर कामना गरिरहेका छन्। मजदुरको व्यथा त छँदै छ। मेरै
घरमा बस्ने एक जना भाइ दिनरात लोकसेवाको तयारी गरिरहेको थियो। निकै मेहनती थियो ऊ, लाग्थ्यो पहिलो लटमै नाम निकाल्छ। तर भइदियो लकडाउन। भारतमा मजदुरी गरेर
उसका लागि खर्च पठाइदिने दाइको रोजगारी गुम्यो। यता भाइले भाडा तिर्ने अवस्था रहेन।अन्तत: नजिकै साथीको शरणमा पुग्यो।
पेटको आगोभन्दा ठूलो त केही रहेनछ। गरिब, विपन्न मजदुरको पेटको आगो निभाउने प्रयासमा सरकार लाग्यो त? प्रश्न तपाईंका लागि।
लकडाउनको शून्य अवधि त टेस्ट-ट्रेसिङ विस्तार र क्वारेन्टाइन व्यवस्थित बनाउनका लागि थियो। भारतसहित विदेशबाट
आउन सक्ने नेपालीहरुलाई कसरी राख्ने, त्यसको पूर्वतयारीका लागि
थियो। तर स्वास्थ्य सामग्री खरिदका नाममा घरी ओम्नी समूहलाई पोस्नतिर लाग्छ सरकार, घरी सेनालाई
ठेक्का दिएर १५ रुपैयाँ पर्ने मास्क ५२ रुपैयाँमा भित्र्याउँछ। प्रधानमन्त्री
भन्छन्- यहाँका क्वारेन्टाइन व्यवस्थित छन्। बरु भारतबाट रेलमा
खाँदिँदै/च्यापिँदै आएका नेपाली उतै संक्रमित भएर आए। तर दाबाका साथ भन्न सकिन्छ,
पूर्वतयारीमा सरकारले गरेको हेलचेक्रयाइँकै कारण संक्रमण फैलावटतिर गइसक्यो।
लकडाउनको मोडालिटीबारे पटकपटक छलफल भइरहेको सुनिन्छ तर सरकार अनिर्णीत अवस्थामा
छ। ३२ गतेपछि लकडाउन थपिने कि खुल्ने? खुकुलो बनाउने हो भने कस्तो मोडालिटीमा जाने? आम जनता
यही प्रश्नको जवाफ खोजिरहेका छन्। यता व्यापारीहरु तत्काल निर्णय गर्नुपर्ने दबाब दिइरहेका
छन्। एक साताअघि उपत्यकाका व्यवसायीले बिहान ११ बजेसम्म पसल खोल्ने निर्णय गरेका थिए।
लगभग देशभर नै बिस्तारै लकडाउनको भद्र अवज्ञासहित पसल/व्यवसाय
खुल्न थालिसकेका थिए। पसल खोलेर संक्रमण फैलाउने भन्दै प्रहरीले न्युरोडतिरका व्यापारीलाई
थर्काउँदै बन्द गर्न लगाको घटना पनि सुनिँदै छ।
तीन महिना पुग्न लाग्यो देश ठप्प भएको। सरकार न उपयोगी विकल्प सुझाउँछ न त चित्तबुझ्दो
जवाफ दिन्छ। विपन्न मजदुरको हालतबारे कुरा नगरौं। व्यापार/व्यवसाय गर्नेहरु नै अब धैर्य गर्न सक्ने अवस्थामा
छैनन्। उनीहरुले लकडाउन अवज्ञा गर्ने मानसिकता तयार पारिसके।
बिहान चोकतिर फाट्टफुट्ट मानिस पनि देखिन थालेका छन्। एक जना महिला भन्दै थिइन्- आज त त टुकुचाको तरकारी बजार पुलिसले हटायो
रे। १ गतेदेखि कर्फ्यु नै लगाउँछ रे। अब कसरी बाँच्नु? यो प्रश्न ती महिलाको मात्रै होइन आम सर्वसाधारणको हो।
केही दिनयता खुलेका पसलहरु अहिले हाफ सटरमा झरेका छन्। सोचेँ, यो सटरले आधा पेटको संकेत गरेको त होइन?
अझै लकडाउन लब्याइरहने हो भने यी सटर सधैंका लागि बन्द हुनेछन्।
मैले सुरुवातमै भयानक डरबारे कुरा गरेको थिएँ। हामी सबैको डरले सगरमाथा चढिसकेको हुनुपर्छ। अब ओर्लनु
त छँदै छ। जब तपाईंमा डर हुन्न, आत्मबल स्वत: बढ्छ।
देख्नुहोस्
देख्ने चेष्टा गर्नुहोस्
भोकको यौटा आकार हुन्छ
एकदम स्पष्ट
लम्बाइ, चौडाइ र उचाइसहित
(भोकको क्षेत्रफल, विनोदविक्रम केसी)देख्ने चेष्टा गर्नुहोस्
भोकको यौटा आकार हुन्छ
एकदम स्पष्ट
लम्बाइ, चौडाइ र उचाइसहित

No comments:
Post a Comment