Wednesday, February 24, 2016

विमान दुर्घटनामा सबैको निधन

फागुन १२, २०७२ को बिहान तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २३ जना सबैको निधन भयो । चालक दलका तीन सदस्यसहित सबैले ज्यान गुमाएका हुन् । त्यहाँ दुई जना बच्चा पनि थिए । बिहान ७ः५७ मा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ः१० मा सम्पर्कविहीन हुन पुग्यो । लगत्तै पोखराबाट निजी हेलिकोप्टर र काठमाडौंबाट सेनाको हेलिकोप्टर परिचालन गरिएपछि अपराह्न मात्र विमान दुर्घटनामा परी सबैको ज्यान गएको पुष्टि गरिएको थियो ।

Tuesday, February 16, 2016

'केही साथी मसँग धेरै खुशी छैनन्'

चालीसको दशकदेखि काव्यसाधनामा निरन्तर लागिरहेका विष्णु भण्डारीको ‘पहेँलो घाम’ पहिलो उपन्यास हो । एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर लेखिएको अयोग्य छापामारहरूको दारुण चित्रलाई उनले प्रस्तुत गरेका छन् । शुक्रवार साप्ताहिकका लागि गरिएको अन्तरसंवाद प्रस्तुत छ ।

'कविले राजनीति गर्न किन नपाउने ?'

समकालीन कविता लेखनमा चर्चाको नाम हो— सरिता तिवारी । यसअघि दुई कविता संग्रह प्रकाशन गरिसकेकी तिवारीको ‘प्रश्नहरूको कारखाना’ भरखरै प्रकाशनमा आएको कविताकृति हो । कविता लेखन र संग्रहको सेरोफेरोमा रहेर शुक्रवार साप्ताहिकका लागि गरेको अन्तरसंवाद ।



Thursday, February 11, 2016

फिचर-साहित्य

पहिचानको लेखन
बहुलताले भरिपूर्ण देशको मूलधारे साहित्यले पनि आदिवासी-जनजाति, दलित, सीमान्तकृत, सुदूर पश्चिमका लेखकलाई जति स्वीकार्यो उति साहित्यमा विविधता थपिने हो । भाषा, संस्कृति र वर्ग समुदायको बहुलतापूर्ण सानो देशमा सबैको सहभागिता भएमात्रै साहित्यको साझा फूलबारी बन्न सक्छ । अनिमात्रै समग्र साहित्यले समृद्धि पाउँछ नत्र स्वप्नि स्मृतिहरु कवितामार्फत यसरी नै राज्यविरुद्ध आगो ओकलिरहनेछन्--
...म बोल्छु कराउँछु गाली गर्छु उफ्रिन्छु
सरकार सुने पनि नसुनेझैं गर्छ
तेरो भाषा बुझ्दै बुझिनँ भन्छ
सायद,
सरकार बन्दुकको भाषामात्र बुझ्छ ।







































(नागरिक दैनिकको 'अक्षर'मा २०७१ पुस ५ गते प्रकाशित)

प्रोफाइल



‘म अम्बर हुँ’

फणीन्द्र संगम----
गाउने रहर जागेर आउँछ– स्वर लरबरिन्छ, संगीत भर्न खोज्दा हातहरू काँप्छन् । बुढ्यौलीले छोपिसक्यो । नेपाली संगीतलाई केही दिने अम्बर गुरुङको धुकधुकी बाँकी नै छ ।
अम्बर भन्छन्, ‘नेपाली अर्केस्ट्रा बनाउने सपना यत्तिकै छ ।’
‘नौ लाख तारा उदाए’ बाट उदाएका अम्बरले दर्जनौं संगीत भरे । आफैं शब्द कोरे । स्वर पनि दिए । ‘मलाई अब अरु गर्नु छैन, नेपाली धुनको विश्वमा छुट्टै पहिचान होस् भनेर अर्केस्ट्राको कुरा उठाउँदै आएको छु,’ उनी भन्छन् ।
नेपाली संगीतलाई विश्वको दाँजोमा पु¥याउन मौलिक अर्केस्ट्रा चाहिन्छ,’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर दुखेसो पोख्छन्, ‘अस्थिर सरकारका कारण केही समस्या छ ।’ बजेट अभावकै कारण नाटक र संगीतका लागि काम गर्न प्रतिष्ठानलाई गाह्रो भएको उनले सुनाए ।
नेपालमा लोक र परम्परागत बाजा प्रशस्तै छन् । त्यसैले नेपाली धुनलाई प्राथमिकता दिएर अर्केस्ट्रा बनाउने उनी प्रष्ट्याउँछन् । विदेशी बाजा त चाहिन्छ नै । उनी सुनाउँछन्, ‘यसको निर्माण प्रक्रिया खर्चालु र गाह्रो पनि छ ।’

दार्जिलिङे दिनहरू

अम्बरले दार्जिलिङ रहँदै केही गीत रेकर्ड गराए । तीमध्ये ‘नौ लाख तारा उदाए’ र ‘म अम्बर हुँ तिमी धर्ती’ लोकप्रिय बने । बिस्तारै ती गीत रेडियो नेपालको माध्यबाट यता फैलिए । तत्कालीन राजा महेन्द्रले समेत ती गीतको प्रशंसा गरे । अम्बरको संगीतबाट प्रभावित महेन्द्रले आफ्नो जन्मोत्सवका अवसरमा उनलाई काठमाडौं बोलाए– २०२६ सालमा ।
‘मैले महेन्द्रको जन्मोत्सवमा पनि ‘नौ लाख तारा’ गाएँ,’ अम्बर सुनाउँछन् । हुन त उनलाई दुई वर्षअघि नै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खान प्रस्ताव पठाइएको थियो । ०२६ सालपछि भने उनले जागिर थाले । त्यसपछि फेरि दार्जिलिङ फर्कनु परेन ।
‘यहाँ आएपछि बिरानो महसुस गर्नुपरेन,’ अम्बर पुराना दिनहरू सम्झन्छन्, ‘संगीत र साहित्य क्षेत्रका समकालीनले सधैं सघाए ।’ शंकर लामिछाने, भूपि शेरचन, उत्तम कुँवर, भीमदर्शन रोका, ईश्वरवल्लभ, वैरागी काइँला उनका साथीहरू ।
उबेलाको चर्चित गीत ‘म अम्बर हुँ तिमी धर्ती’ सुनेका साथीहरू गीतको शब्द टिपेर अम्बरलाई उल्ल्याइरहन्थे, ‘तिम्रो खास धर्तीचाहिँ को प¥यो ?’
उनको स्पष्टीकरण हुन्थ्यो, ‘त्यो धर्ती न कुनै केटी हो, न प्रेमिका ।’ साथीहरू अनेक अनुमान काट्थे । उमेरको कुरा न हो ।
दार्जिलिङस्थित घर नजिकैकोे डाँडामा बसेर उनी आँखाभरि गोधूलि कैद गर्थे– पश्चिम ढल्दो घाम, सुनजस्तो क्षितिजलाई जित्दै गरेको अँध्यारो । धर्ती र आकाशको मिलन । साँझमा देखिने रुखहरूको पाश्र्वछायाँ । डुब्न लागेको घामले धर्तीसँग बिदा मागेजस्तो लाग्ने । बस्, अम्बरको मस्तिष्कमा एउटा विम्ब बस्न आयो । ‘त्यो धर्ती धर्ती नै हो,’ उनी हत्केलामा औंला कसेर जिकिर गर्छन्, ‘प्रकृति, आकाश, अस्ताउँदो घामको एउटा दृश्य, उहु...!’
शंकर लामिछाने त यो गीत सुनेपछि अम्बरका फ्यान बने । उनीहरूको दोस्ती अरुभन्दा ज्यादै निकट थियो, अम्बरका गीत रेकर्ड हुनुअघि नै लामिछानेले सुनिसकेका हुन्थे भने लामिछानेका निबन्ध पाण्डुलिपिमै अम्बरले पढिसकेका हुन्थे ।
...

सिर्जनाको माहोलमा

गीत रेकर्ड गरे पनि त्यतिबेला पारिश्रमिक पाउने चलन थिएन । भारतमा अंग्रेजको प्रभाव छँदै थियो । नेपाली गीत कमै थिए भने संगीत व्यावसायिक बनिसकेको थिएन । प्रवासमा पनि संगीत सिर्जनाबाटै नेपाली पहिचानका लागि उनी अघि बढे । नेपाली संगीत विस्तारका लागि उनले धेरै अध्ययन गरे । ‘पश्चिमी टेक्निक लियौं, त्यसमै नेपालीपन, नेपाली मन र भाव हाल्यौं ।’ उनले भने, ‘भाषा नेपाली भएर मात्र नेपाली हुँदैन । भाव नेपाली हुनुपर्छ ।’
पुख्र्यौली घर नेपालकै गोर्खा । सन् १९३८ मा दार्जिलिङमा जन्मिए । बाबु, काका, ठूलोबुबा सबै लाहुरे । ‘सानोमा मलाई पनि बन्दुक खेलाउने रहर जाग्थ्यो,’ बाल्यकाल सम्झिन्छन्, ‘दार्जिलिङ सानो ठाउँ भए पनि सांगीतिक र साहित्यिक माहौल थियो । एकाएक त्यतै तानिएँ ।’
त्यतिबेलाका नेपाली आधुनिक गीत फिल्मी खालका हुन्थे ।
साहित्यकार इन्द्रबहादुर राईले एकपटक भनेछन्, ‘तंैले गरेर देखाइस् !’
भेट हुँदा यस्तै कुरा गरिरहने राईलाई उनले सोधे– ‘के गरेर देखाएँ ?’
राईको जवाफ हुन्थ्यो– ‘स्कुल पढ्दा सबैले गाउँथे, हामी पनि गाउँथ्यौं । तर, कोही पनि तँजस्तो हुन सकेनन् । कसैले बिहे गरे गाउन छोडे, कसैले जागिर खाए, कोही लाहुरे भएपछि संगीत छोडिदिए । तैंले बिहे गरिस्, जागिर खाइस् तर संगीत छोडिनस् । तैंले गरेर देखाइस् !’
अम्बर भन्छन्, ‘उनको कुराले म आत्मतृप्ति भए, अहिले पनि ती कुरा सम्झन्छु खुसी लाग्छ ।’ सानोमा बन्दुक बोक्ने रहर पालेका उनी सांगीतिक क्षेत्रमा स्थापित हुनुलाई ‘भाग्यमा त्यस्तै लेखिएको थियो कि !’ भन्ने ठान्छन् ।
...

बुढ्यौलीको बेला

बदलिँदो समयसँगै संगीत पनि परिवर्तनशील छ, उनलाई यस्तै लाग्छ । नयाँ पुस्ताले सिर्जनात्मक होइन मनोरञ्जनात्मक संगीतलाई जोड दिइरहेका छन् । तर संगीतमा ‘सिर्जना’ हुनैपर्छ । ‘म संगीतभन्दा पनि ‘राम्रो’ संगीत मन पराउँछु,’ उनी भन्छन्, ‘लोक, पप सबै मन पर्छ तर तिनमा मानवीय संवेदना र भाव हुनैपर्छ ।’
स्वास्थ्य र गायनको निकट सम्बन्ध छ । ‘अनुभूतिविना गीत नै हुँदैन,’ अम्बर भन्छन्, ‘बल हुँदा बुद्धि हुन्न, बुद्धि हुँदा बल हुन्न भनेझैं ।’ अचेल अनुभूतिलाई जित्दैछ बुढ्यौलीले । ‘वंैशमा तरुनी देख्दा एक प्रकारको जोश आउँथ्यो,’ उनी रोमान्टिक बन्छन्, ‘उनीहरूलाई कल्पेर मात्रै पनि कुनै न कुनै सिर्जना भइहाल्थ्यो ।’
अझै पनि संगीत गर्न सक्छु भन्ने उनमा आँट छ तर स्वास्थ्यले दिँदैन । ‘मान्छे बूढो भए पनि मन बूढो हुन्न’ भन्नेसँग उनी सहमत छैनन् । भन्छन्, ‘उतिसारो मुड नै बन्दैन । मन पनि बूढो हुँदो रहेछ ।’
अरुको लागि मात्र गीत गाउने होइन, मान्छे आफ्नो लागि पनि गुनगुनाउने गर्छ । कोठामा एक्लै भएका बेला गुनगुनाउने धेरै होलान् । अम्बर अझै पनि हातमा तान्पुरा लिएर कोठामा गुनगुनाइरहन्छन् । पहिले दैनिक १४ घण्टासम्म रियाज गर्ने अम्बरलाई हिजोआज स्वास्थ्यले साथ दिँदैन ।
...

राष्ट्रिय धुनको खोजी

राजाको प्रशस्ति रचिएको पुरानो राष्ट्रगान २०६२÷६३ को जनआन्दोलनपछि खारेज भयो । सरकारले नयाँ गीत छान्यो । संगीत भर्न अम्बरलाई जिम्मा दियो ।
अम्बरले १२ वटा धुन रचेका थिए । पछि सरकारले मागेबमोजिम तीनवटा बुझाए । अहिलेको राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’ का लागि उनको धुन छानियो । छान्नेहरू संगीतका विज्ञ थिएनन् । ती थिए सरकारी मन्त्री र अधिकारीहरू । संगीत विज्ञले छानेका भए नयाँ रक्तसञ्चार गराउने धुन पाउँथ्यो कि देशले ! लखमात्रै काट्न सकिन्छ ।
अम्बरको परिचय भने केवल राष्ट्रगानमा खुम्चिएको छैन । उनी आफ्ना रुमानी अतीतहरूमा बाँचिरहेका छन् । संगीत र साहित्यसँग जोडिएका उनका सम्झनाहरू ‘कहाँ गए ती दिनहरू’ किताबमा अभिलिखित छन् ।
र, अक्षर नचिन्नेहरूको मनमा समेत संगीतकार अम्बर बसेकै छन् । ‘रातो र चन्द्र सूर्य’ भएर । ‘पोखिएर घामको झुल्का’ भएर । ‘पोहोर साल खुसी फाट्दा’ भएर । यस्तै नमर्ने थुप्रै गीतहरू भएर ।
धर्तीमा अम्बर छँदैछन् । जस्तो कि, उनका अमर सिर्जना छन् ।

(नागरिक दैनिकको परिशिष्टांक 'कोलाज'मा २०६९ फागुन १२ गते प्रकाशित)

शब्द-साहित्य

जहीँतहीँ छ सरकार ! 

कति भन्छौ/कति लेख्छौ—
'कहाँ छ सरकार ?'
किन छैन यार
जहीँतहीँ छ सरकार !
कालोबजारियाको कालो धनमा छ सरकार
जनतामारा ती 'कुर्सी–प्यारा'हरूको मनमा छ सरकार
मध्यरातमा आफन्तलाई सुटुक्क बोलाएर
सिलिन्डर सप्लाई गर्ने
ग्यास साहुको गोदाममा छ सरकार
१५ रुपैयाँको चाउचाउलाई २० मा बेच्ने
लुटाहा व्यापारीको दोकानमा छ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
कोठाको कुनामा थन्किएको मैलो सिलिन्डरबाट
चिहाइरहेछ सरकार
हरेक ट्रान्सफर्मरको आवाजसँगै
गर्जिरहेछ सरकार
साँझदेखि पग्लिन थालेका मैनबत्तीहरूमा
धपधप बलिरहेछ सरकार
नेता, पुलिस र व्यापारीको साँठगाँठमा
राष्ट्रवाद उरालिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
तुइनको लठ्ठा हटाउने अभियानमा पनि सरकार
लोडसेडिङ नामेट बनाउने अभियानमा पनि सरकार
पानीको त के कुरा
हावाबाटै बिजुली निकाल्न पनि तयार छ सरकार
साइकल चढ्छ र स्वाभिमान जोगाउँछ सरकार
भूकम्पपीडित चिसोले मरिरहून्
(आखिर मृत्यु स्वाभाविक प्रक्रिया न हो)
यता मन्त्रिमण्डल थपिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
-- १९ पुस, २०७२

अलबिदा सुशील'दा !

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आकस्मिक निधनले मुुलुक तरंगित बन्यो । २०७२ माघ २६ गते बिहान १२ः५० बजेतिर देहत्याग गरेका कोइरालाको पार्थिव शरीर सो दिनभर श्रद्धाञ्जलीका लागि राखिएको थियो । ७८ वर्षीय उनको दाहसंस्कार राजकीय सम्मानका साथ २७ गते पशुपति आर्यघाटमा गरियो । यो तस्बिर नागरिक दैनिकको इ-पेपरबाट लिइएको हो ।

Friday, February 5, 2016

नेपाली नाटक : मौलिकताको खोज

थिएटरमा नेपालीमात्र होइन अनूदित नाटक पनि चलिरहेका छन् । लेखक अभि सुवेदी भन्नुहुन्छ, "अनूदित नाटकले घाटा गर्दैन तर सही अनुवाद भएन भने चाहिँ गलत सन्देश जान्छ ।'

जहीँतहीँ छ सरकार !

कति भन्छौ/कति लेख्छौ—
'कहाँ छ सरकार ?'
किन छैन यार
जहीँतहीँ छ सरकार !
कालोबजारियाको कालो धनमा छ सरकार
जनतामारा ती 'कुर्सी–प्यारा'हरूको मनमा छ सरकार
मध्यरातमा आफन्तलाई सुटुक्क बोलाएर
सिलिन्डर सप्लाई गर्ने
ग्यास साहुको गोदाममा छ सरकार
१५ रुपैयाँको चाउचाउलाई २० मा बेच्ने
लुटाहा व्यापारीको दोकानमा छ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
कोठाको कुनामा थन्किएको मैलो सिलिन्डरबाट
चिहाइरहेछ सरकार
हरेक ट्रान्सफर्मरको आवाजसँगै
गर्जिरहेछ सरकार
साँझदेखि पग्लिन थालेका मैनबत्तीहरूमा
धपधप बलिरहेछ सरकार
नेता, पुलिस र व्यापारीको साँठगाँठमा
राष्ट्रवाद उरालिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
तुइनको लठ्ठा हटाउने अभियानमा पनि सरकार
लोडसेडिङ नामेट बनाउने अभियानमा पनि सरकार
पानीको त के कुरा
हावाबाटै बिजुली निकाल्न पनि तयार छ सरकार
साइकल चढ्छ र स्वाभिमान जोगाउँछ सरकार
भूकम्पपीडित चिसोले मरिरहून्
(आखिर मृत्यु स्वाभाविक प्रक्रिया न हो)
यता मन्त्रिमण्डल थपिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
-- १९ पुस, २०७२

सहरको_कथा‬

स्थान : मेट्रो टिकट काउन्टर, कलंकी
काउन्टरवाला : चिन्ता नलिनुस् । फोल्डिङ सिट हो । सिटैपिच्छे चार्ज गर्ने सुविधा छ । चढेदेखि वाइफाइ चलाए हुन्छ । 
यात्रु : वाइफाइ चल्ने मोबाइल नि हुनुपर्यो नि ! 
काउन्टरवाला : गाडीमा नि वाइफाइ त कहाँ चल्छ र ! सबैले "वाइफाइ फ्री" लेख्न थाले मैले नि लेख्द्या । तपाईंलाई किन ढाँट्नु ? 
‪#‎सहरको_कथा‬