फणीन्द्र संगम–––
‘पप स्टार’ निमा रुम्बाको भनाइ सापट लिने हो भने पप संगीत मात्र होइन नेपाली बजारमा अन्य संगीतको व्यापार पनि यतिबेला खस्किएको छ । इन्टरनेट–युट्युबबाट निःशुल्क डाउनलोड गर्ने सुविधा पाएपछि गीत सुन्नकै लागि पैसा खर्चिनेको संख्या ह्वात्तै घटेको छ । ‘पाँच–सात वर्ष अघिसम्म गीत रेकर्ड गराउन म्युजिक कम्पनीबीच तँछाडमछाड चल्थ्यो,’ गायक निमा भन्छन्, ‘अहिले एल्बम बिक्न छोडेको भन्दै उनीहरू एकमुष्ट रकम दिन चाहँदैनन् ।’ तर पनि दुई दशक लामो सांगीतिक यात्रा पार गरेका गायक निमाले हरेश खाएका छैनन् । आफ्नै लगानीमा एक वर्षअघि मात्रै आठौं एल्बम ‘रंगाऊँ कि म’ लिएर देखा परे ।
साँझमा पनि, आऊ आऊ न, प्रेयसी, मिस क्याटवाकजस्ता लोकप्रिय पपका गायक निमाले संगीतमा करिअर निर्माण क्रममा धेरै आरोह–अवरोह झेल्नुप-यो । पुख्र्यौली घर सिन्धुपाल्चोक भएका उनी पर्साको सुवर्णपुरमा जन्मिए अनि हुर्किए काठमाडौंको स्वयम्भूमा । तीन वर्षकै उमेरमा परिवारसहित काठमाडौं आएका उनले विजेश्वरीस्थित गीतामाता माविबाट एसएलसी उत्तीर्ण गरे, २०४६ सालमा । ६ कक्षा पढ्दादेखि नै गीत–संगीत सुन्ने गरेका निमालाई एसएलसी दिने बेलासम्म त पाश्चात्य संगीतको नशा लागिसकेको थियो । साथीसँग कक्षाभित्रै टेबल ठटाएर गाउन थालिहाल्थे । घरमा बाल्टिन घोप्ट्याएर ड्रमसेट बजाएको नक्कल गरेको सम्झना ताजै छ ।
संगीतमा रुचि राख्ने दाइ पासाङ नाम्ग्यालका साथीको छुट्टै टिम थियो त्यो बेला । भाइको सांगीतिक मोह देखेर हुनसक्छ, पासाङले साथीसँग निमाको चिनजान गराइदिए । एसएलसी दिएपछिको खाली समय नै उनका लागि संगीत प्रवेशको पहिलो खुट्किलो बन्यो । दाइ र साथीबाटै गिटार समाउन सिके । ‘गिटारमा सरोज पाण्डे, सुवर्ण तन्डुकार, बासमा वीरमान तामाङ र ड्रममा रवि थापा हुनुहुन्थ्यो,’ सन् १९९० को त्यो समयलाई निमा सम्झन्छन्, ‘त्यही समूहबाटै सुरताल सिकेँ । व्यवसायिक समूह नभए पनि उनीहरूले ख्यालख्यालमै नाम राखिदिए– ‘द बास ब्याण्ड’ । निमा भन्छन्, ‘दशैं, तिहार, कुनै पर्व आयो कि चोकमा, छतमा भेला भएर गाउन–बजाउन थालिहाल्थ्यौं ।’
निमाको संगीतप्रति लगाव देखेर ज्योतिरत्न बज्राचार्य लगायतको समूहले नयाँ ब्याण्डमा आउन आग्रह गरे । केही नयाँ काम गर्ने सोचिरहेका निमालाई गीत रेकर्डका लागि समेत प्रस्ताव गरेपछि के चाहियो र ! उनी ‘पिस ब्याण्ड’ मा अनुबन्धित भइहाले । ‘म भोकलमा थिएँ, दिपेश सिंह, ज्योति, पुरु र शैलेन्द्रसमेत पाँच जनाको टिम थियो ।’ उनी सम्झन्छन् । सोही ब्याण्डमार्फत सन् १९९१ मा कुपन्डोलको साङ् स्टुडियोमा ‘आइदेऊ प्रिय’ गीत रेकर्ड भयो । त्यही नै उनको पहिलो रेकर्डेड गीत थियो । केही समयपछि भएको ‘रारा नेपाली पप–रक कम्पिटिसन’मा सहभागी करिब ५० ब्याण्डमध्ये ‘पीस’ले दोस्रो स्थान हासिल ग-यो । न्युरोडमा हारती क्यासेट सेन्टर सञ्चालन गर्दै आएका अनिल स्थापितको प्रस्तावपछि निमाको आइदेऊ प्रिय ‘ट्यालेन्ट–१’ नामक कलेक्सन एल्बममा समावेश भयो । १९९२ को मध्यतिर उनकै शब्द र एरेन्जमा ‘जाँदैछु टाढा–टाढा’ गीत ‘टच–१’ मा संगृहीत भयो ।
एसएलसी दिएपछि नै सांगीतिक दुनियामा आफ्नो भविष्य देखिसकेका निमाले अध्ययनलाई भने निरन्तरता दिन सकेनन् । उनले भने, ‘मेरो सम्पूर्ण शिक्षा भन्नु नै आजसम्मको सांगीतिक यात्रा हो ।’
सन् १९९१ देखि संगीतमा होमिएका निमाले झन्डै तीन वर्ष रेस्टुरेन्ट र बारमा गाए । उनी भन्छन्, ‘एल्बमका लागि खर्च जुटाउन पनि मैले संघर्ष गर्नुप-यो ।’ त्यही संघर्ष र लगावकै कारण सन् १९९४ मा ‘सुन सुन’ एल्बमसँगै नेपाली पपमा नयाँ शैली लिएर उदाए । एल्बमका धेरै गीत उनी आफैंले लेखेका छन् । पहिलो एल्बम निकाल्दाको दुःख र संयोगले उनलाई बेलाबेला अझै पनि झस्काइरहन्छ । न्युरोडको भूगोलपार्क नजिक डबली रेस्टुरेन्टमा गाउँथे उनी । रेस्टुरेन्टका नियमित ग्राहक थिए, पुष्कर श्रेष्ठ । श्रेष्ठ निमाको गीतबाट प्रभावित बनेछन् । ‘गीत रेकर्ड गराउनु भन्दै १० हजार हातमा राखिदिनुभयो, मेरा लागि त्यो १० लाख बराबर थियो,’ एकाएक भावुक बनेका निमाले भने, ‘साथी पञ्चमान महर्जनले सुनको औंठीसमेत बेचेर एल्बम निकाल्न सहयोग गर्नुभयो ।’ महर्जन अहिले उसुका प्रशिक्षक छन् । त्यति बेला एल्बम निकाल्न ३० हजारजति खर्च हुन्थ्यो ।
पहिलो एल्बमपछि नै आफू स्थापित बनेको निमा बताउँछन् । एल्बममा पोखराका फ्यान विजय हमालको शब्द रहेको ‘उजाड मेरो’ र जेनीकिरण श्रेष्ठको ‘चाहेर तिमीलाई’ गीत समावेश छन् । त्यति बेलाका फ्यानहरूले पठाएका मेल र कार्ड उनीसँग अझै सुरक्षित छन् । ‘ती दिन सुनौला र रमाइला थिए,’ पुराना फ्यान सम्झँदै उनी भन्छन्, ‘पोष्ट बक्समार्फत तस्बिर पठाइदिन आग्रहसहितका चिठ्ठी र गिफ्ट आउँथे ।’ उनी पनि फ्यानको क्रेजअनुरूप आफ्ना तस्बिर पठाइदिन्थे ।
फ्यानमध्येकै सेली त उनकी जीवनसंगिनी बन्न आइपुगिन् । सन् १९९५ मा उनीहरूले ‘लभ म्यारिज’ गरे । सेली हङकङमा रहेकाले निमा पनि १९९७ देखि तीन वर्ष हङकङ बसे । बिहे गर्नुअघि नै १९९६ मा उनले दोस्रो एल्बम निकालिसकेका थिए– ‘मेमोरिज’ । एल्बममा समावेश नयाँ शैलीको ‘मिस क्याट वाक’ गीतको म्युजिक भिडियो बन्यो । निमा भन्छन्, ‘आफैंले मोडलिङ गरेको त्यो मेरो पहिलो म्युजिक भिडियो हो ।’
तीन वर्षपछि नेपाल फर्कंदा उनी रित्तै फर्किएनन् । हङकङमा लेखेका धेरै गीत समावेश गरी तेस्रो एल्बम निकाले ‘हुरीबतास’ । एल्बमले हिट्स एफएम अवार्ड पनि पायो । दुई वर्षपछि नै उनी ‘ललिता’ लिएर आए । एल्बमको ‘आऊ आऊ न’ बोलको गीत त्यति बेला चर्चाको शिखरमा पुग्यो ।
सेलीसँग हङकङ बसे पनि गीत रेकर्डिङका सिलसिलामा नेपाल आइरहनु उनलाई सहज भएन । नेपाल फर्कन सहमत भएपछि २००४ को सुरुवातसँगै परिवारसहित निमा काठमाडौं फर्किए । ‘विदेशमा बसेर नेपाली संगीतमा निरन्तरता दिन सकिन्न भन्ने लागेर यस्तो निर्णय लिएँ,’ उनले भने, ‘नेपाली गायक भएकाले मेरो स्थायी थलो त नेपाल नै हुनुपर्छ नि ।’ नेपाल फर्किएसँगै उनको पाँचौ एल्बम ‘फैथ’को ‘साँझमा पनि’ गीत निकै चल्यो ।
दुई वर्षको फरकमा एल्बम निकाल्दै आएका निमाले २००६ मा ‘प्राइड’ निकाले । तर अर्को एल्बमका लागि पाँच वर्ष कुर्नुप¥यो । निमा भन्छन्, ‘विभिन्न कम्पनीका उत्पादनको विज्ञापनमा काम गरेकाले ग्याप भयो ।’ २००३ मा साकालाका बुम चाउचाउले उनलाई ब्रान्ड एम्बासडर बनायो । त्यसपछि कोकाकोला, यमाहा, सान मिगेलजस्ता उत्पादनको प्रचारमा उनी व्यस्त भए । ‘ब्रान्ड एम्बासडर बन्नु उनीहरूले गरेको सम्मान पनि हो,’ २०१० मा डाबर प्रोस्टाइलको समेत एम्बासडर बनेका निमा भन्छन्, ‘पछिल्लो एल्बमका लागि पनि प्रोस्टाइलको ठूलो सहयोग छ ।’
पछिल्लो एल्बम ‘रंगाऊ कि म’का लागि धेरै मेहनत र खर्च गरेको उनी बताउँछन् । आफ्नै लगानीमा ल्याएको एल्बमले कति कमाई ग¥यो त ? निमा भन्छन्, ‘एल्बम बेचेर कमाउनेभन्दा पनि फ्यानको सन्तुष्टि र आफ्नो पपुलारिटी नै ठूलो कुरा हो ।’ क्यासेट र सिडीको व्यापार हुने जमाना करिब–करिब सिद्दिएको बताउने उनी स्टेज प्रोग्राम र कन्सर्टहरूमै जम्ने बताउँछन् । ‘एल्बम बेचेर बाँच्नै गाह्रो छ,’ उनले थपे, ‘अबका गायकले स्रोतामाझ सजिलै पुग्नतर्फ ध्यान दिनुपर्छ ।’ स्टेज शोमा छुट्टै पहिचान बनाएका उनी अबका दिनमा त्यही विकल्प अँगाल्ने सुरमा छन् । नेपालमै हुने विविध महोत्सवले कलाकारलाई उचित स्पेस दिने गरेको उनको आकलन छ । कन्सर्टकै लागि उनी अमेरिका, क्यानडा, अष्ट्रेलिया, हङकङ, कोरिया, मलेसिया, जापानजस्ता धेरै देश डुलिसकेका छन् ।
यसरी तान्यो पपले
६ कक्षा पढ्दाताका नै उनमा अंग्रेजी गीत र फिल्मको प्रभाव परिसकेको थियो । त्यतिबेला बौद्ध, मखनटोलतिर घरघरमा फिल्म देखाइन्थ्यो । ‘स्कुल बंक गरेरै फिल्म हेर्न जान्थेँ, उनी सुनाउँछन्, ‘दुई–चार रुपैयाँ दिएपछि मज्जाले हेर्न पाइन्थ्यो ।’ अंग्रेजी राम्रो भएकाले साथीहरूका लागि उनी सुन्दर लभलेटर पनि लेखिदिन्थे । काठमाडौंमै हुर्किएका निमाका लागि पाश्चात्य शैली पछ्याउन गाह्रो थिएन । ‘माइकल ज्याक्सनको पर्फमेन्स र जोसबाट धेरै प्रभावित बनेँ,’ उनले भने, ‘अंग्रेजी गीत र त्यसका स्टाइलको नक्कल गरिहाल्थेँ ।’ गीत सुमधुर र मीठो हुनुपर्छ भन्नेसँग उनी सहमत छैनन् । त्यति बेलाका गीतमा पुरानै शैली भएकैले फरक नयाँ शैलीतर्फ आकर्षित भएको बताउँछन् । ‘म नयाँ शैली दिन चाहन्थेँ,’ निमा भन्छन्, ‘संगीत सुमधुर र कोमल मात्र होइन ठूलो जोस पनि हो, यसले नयाँ स्फूर्ति ल्याउनैपर्छ ।’
स्कुले जीवनदेखि नै अंग्रेजी भाषाको राम्रो ज्ञान भएका निमालाई पाश्चात्य ट्रेन्ड भित्र्याउन गाह्रो भएन । नेपाली गीतमा त उनको रुचि नै थिएन । भन्छन्, ‘ओमविक्रम विष्ट, हरिश माथेमाका एल्बम आउन थालेपछि मात्रै नेपाली गीत गाउन थालियो ।’ सञ्जय श्रेष्ठको ‘द क्रसरोड ब्याण्ड’ का गीतले पनि नेपाली पपतर्फ उनलाई तान्यो ।
फेसनेवल गायक
‘तपाईं त फेसनेवल गायक है !,’ प्रश्न झर्न नपाउँदै निमाले हाँस्दै भने, ‘साथीहरू यसै भन्छन्, सबै फिल्मकै प्रभाव होला ।’ निमालाई सम्झना छ– सानो हुँदा प्रायः दशैंमा मात्र नयाँ कपडा लगाउन पाइने । त्यो पनि स्कुले पोसाक । सम्झन्छन्, ‘दाजुले जिन्स लगाएको देख्दा झगडा गर्थें ।’ बुबा पहिलेदेखि नै थांका चित्र बनाउने । उनका सहयोगीहरू घरमा आइरहन्थे । तिनले धोएर सुकाएका कपडा नै लगाएर निमा कहिलेकाहीँ हिँडिदिन्थे । ‘अरुभन्दा छुट्टै देखिन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ उनी भन्छन्, ‘अनुहारमा पनि विभिन्न क्रिम दलिरहने बानी थियो ।’ समयअनुसार व्यक्तित्व कायम राख्न पनि फेसन जरुरी भएको बताउँछन्, उनी ।
फिल्ममा पनि
‘कागबेनी’ मा पहिलोपटक अभिनय गरेका निमाले गुरुङ फिल्म ‘आमा’ का लागि सुटिङ गरिसकेका छन् । ‘लमजुङको भुजुङ गाउँमा सुटिङ भइसक्यो । अतिथि भूमिका निर्वाह गरेको छु ।’ प्रदर्शनमा आइसकेको ‘भिसा गर्ल’ मा पनि उनले अभिनय गर्ने मौका पाएका उनले भने, ‘फिल्म मेरो पेसा नभए पनि नयाँ शैलीका फिल्म गर्न इन्ट्रेस लाग्छ,’ उनी भन्छन् । फिल्म भनेपछि हुरुक्क हुने उनी फिल्म हेर्दा रातदिन बितेको पत्तै पाउँदैनन् ।
...
परिवारको सहयोग पाएर नै आजको अवस्थासम्म आइपुगेको निमाको भनाइ छ । संगीत बुझेकी पत्नी शेलीको साथ आफ्ना लागि साह्रै महत्वपूर्ण मान्छन् उनी । छोरा स्यामुल नौ कक्षामा पढ्छन्, नोर्विन एकमा । श्रीमती ‘जुम्बा फिटनेस’ की प्रशिक्षक समेत हुन् । दार्जिलिङमा अघिल्लो साता कार्यक्रम सकेर महाराजगञ्जस्थित घर फर्किएका निमाले भने, ‘पहिले स्टेजमा जसरी अडियन्सको साथ पाएँ, अबको यात्रामा पनि उहाँहरूको माया त्यत्तिकै पाउने आशा राखेको छु ।’ वेस्टर्न पप–रकमार्फत बेग्लै शैली लिएर नेपाली सांगीतिक आकाशमा छाएका निमालाई स्टेज पर्फमेन्सले समेत औधी चिनायो । उनी उक्लिनासाथ स्टेजमै गएर झुम्ने युवा जमात ठूलै हुन्थ्यो, कुनै बेला । निमा भन्छन्, ‘मेरा फ्यान अझै पनि घटेका छैनन्, फ्यान नचाउन म जुनसुकै बेला तयार छु ।’
निमाका एल्बमहरू
१. सुनसुन – १९९४
२.मेमोरिज – १९९६
३.हुरीबतास – २०००
४.ललिता – २००२
५.फैथ – २००४
६.वेस्ट अफ निमा – २००५ (कलेक्सन)
७.प्राइड – २००६
८.रंगाऊ कि म – २०११
(नागरिक दैनिकको परिशिष्टांक 'कोलाज' मा २०६९ माघ १३ गते प्रकाशित)


