Thursday, May 28, 2020

रत्नशमशेर थापाका प्रतिबन्धित चार गीत



'कुन सीमासम्मको गीतमा बन्देज लगाइन्छ भन्ने नै थाहा पाइन्नथ्यो,' गीतकार थापा भन्छन्, 'गीत ब्यान्ड गरिएको खबर आएपछि किन भनेर सोध्नुको अर्थ थिएन। रेडियोले नै निर्णय गरेपछि गर्‍यो-गर्‍यो।'
🎵𝄞🎼 ✀ 🎵𝄞🎼

काठमाडौं– समकालीन सर्जकहरु कोही रेडियो नेपाल त कोही तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिरे थिए। गीतकार रत्नशमशेर थापाले भने कहिले पनि ती संस्थामा जागिर खाएनन्। चाहेनन्। कलेजको सुरुवाती दिनदेखि नै नारायणगोपाल, नातिकाजी लगायतसँग जोडिन पुगेका उनलाई जागिरको 'लोभ' जागेन। 

'मलाई आफ्नो स्वाभिमान ठूलो लाग्छ, किन म कसैसँग सम्झौता गरूँ?' हक्की स्वभावका उनले अहिले पनि झोँक्किएरै भने, 'एकेडेमी छिर्नलाई कसैको पाउ मोल्नुपर्थ्यो। रेडियो भन्नुमात्रै, त्यहाँभित्रको वातावरण अस्तव्यस्त थियो। मलाई यस्ता कुराले छुँदै छोएन।'

अहिले प्रतिष्ठानको नामबाट 'राजकीय'मात्र हटेको छ, तर नियुक्ति र चाकडी प्रवृत्ति उही। त्यो बेला पनि एकेडेमीभित्र चाटुकारहरुको संख्या निकै रहेको बताउँछन् थापा। यही प्रवृत्तिमाथि व्यंग्य गर्दै उनले प्रयोगधर्मी कविता नै लेखे-

चाकडी × चुक्ली + चाप्लुसी = परम्परा 

'यो देशको प्रवृत्ति नै हो चाकडी र चुक्ली,' उनी हाक्काहाक्की भन्छन्, 'यही परम्पराबाट देश चलिरहेको छ वर्षौंदेखि । म यसको ठ्याक्कै विरोधी हुँ।' 


साथीभाइसँगको चियागफमा मात्रै होइन उनी यस्ता प्रवृत्तिमाथि खुलेरै बोल्थे लेख्थे । यही कारण हुन सक्छ, रेडियो नेपालबाट उनका चार वटा गीत प्रतिबन्धित हुन पुगे।

पञ्चायतकालीन व्यवस्थाको रजगजको समय थियो त्यो। सोझै बोल्ने/लेख्ने वातावरण थिएन। रेडियोले गीतमा प्रतिबन्ध लगाएपछि आफै बुझ्नुपर्थ्यो, प्रजातन्त्रको पक्षमा लेखेको ठानेर बन्देज लगाइएको होला भनेर। अन्य कारण के थिए, थापाले अहिलेसम्म बुझ्न सकेका छैनन्। 'नजिकका आफ्नाहरुलाई हालेर कोटा भर्ने प्रवृत्ति थियो। तिनले बाहिरको सर्जकलाई मनै नपराउने,' उनी भन्छन्, 'कोहीसँग चित्त बुझेन भने टेप नै काटिदिने वा कतिपय कलाकारलाई 'भ्वाइस टेस्ट'बाट छिर्नै नदिने खेल खेल्थे।'

यो खेलबारे नारायणगोपाल पनि अनभिज्ञ थिएनन्। कहिलेकाहीँ उनी नयाँ जुक्ति निकाल्थे र, थापासँग भन्थे, 'हामीले अझ केही नयाँ काम गर्नुपर्छ। रेडियोमा सहजै रेकर्ड पनि होओस्, तिमी अब तन्नेरीले मस्त भएर गाउने खालको गीत लेख।' 

उनको जुक्तिले काम गर्‍यो। अनेक विम्ब र प्रतीकमा लेखिएका गीतलाई अनर्थ लगाउने रेडियोले तन्नेरीले बुझ्ने सरल गीतलाई पक्कै अस्वीकार गर्दैन भन्ने लाग्यो थापालाई।

हाँस्छौं गाउँछौं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा
धन्दा लिन्नौं हामी केही उनको विरोधमा... 

नारायणगोपाल र तारादेवीको युगल स्वरमा थियो यो गीत। आम स्रोताको कानसम्म पुग्नै पाएन, प्रतिबन्धको सूचीमा पर्‍यो। 

नयाँनयाँ विषयमा गीत लेख्न नारायण उक्साइरहन्थे। कहिले माग्नेहरुको संवेदनामाथि गीत लेख भनेर आग्रह गर्थे, कहिले सिपाहीको जीवनमाथि। 'गरिब र भिखारीहरुको संवेदना टिपेर मैले लेखेँ, नारायणले ट्युन भरे,' थापा सम्झिन्छन्, 'यो गीत पनि प्रतिबन्धको सिकार बन्यो।'
गीत थियो- 

एक मुठी चामल पाऊँ न हजुर
जयजय मनाऊँला... 

पहिलेकै ट्युनमा रहेको यो गीतलाई अहिले शिशिर योगीले गाएका छन्।

अर्को गीत पनि लेखेका थिए थापाले-

सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी
झल्किन्छ यो नजरमा मोती होइन पानी...

नारायणगोपालको स्वर–संगीतमा रेकर्ड भएको यो गीत पनि सार्वजनिक हुन पाएन। 'कुन सीमासम्मको गीतमा बन्देज लगाइन्छ भन्ने नै थाहा पाइन्नथ्यो,' गीतकार थापा भन्छन्, 'गीत ब्यान्ड गरिएको खबर आएपछि किन भनेर सोध्नुको अर्थ थिएन। रेडियोले नै निर्णय गरेपछि गर्‍यो-गर्‍यो।'

रेडियोको प्रतिबन्धित सूचीमा परेको यो गीतलाई पछि अर्कै ट्युनमा रेकर्ड गराए शिवशंकरले। जसलाई रमेश ताम्राकारले गाएका छन्। 

थापाले ०१८ सालतिर लेखेका थिए-

बिहानीका तारा हामी सर्वहारा
धुलोमा लडी ओढ्दछौं शीतका धारा...

नारायणगोपाल र तारादेवीले यो गीतमा खुबै मेहनत गरेको उनी सुनाउँछन्। 'उनीहरुले रिहर्सल गरेका थिए। पछि 'कम्युनिस्टले गाउने खालको गीत' भनेर रेडियोका कर्मचारीले रेकर्ड गर्न मानेनन्। 

'केही पूर्वाग्रही कर्मचारीकै कारण मेरा कतिपय गीत बिनाकारण ब्यान्ड भएका छन्,' उनी विगततिर फर्कन्छन्, 'त्यस्तो बाधा र अवरोध त कति थियो कति। एकदमै सचेत भएर लेख्नुपर्ने अवस्था थियो। जनमानसमा भिज्ने खालका गीत कसरी लेख्न सकिन्छ भनेर दिमाग लगाइन्थ्यो तर त्यसको मार्मिकतालाई आफ्नै अनुकूलतामा अर्थ्याइदिन्थे।'

एक–दुई वटा होइन चारचार वटा गीत प्रतिबन्ध हुँदा सर्जकको सिर्जनामाथि कत्रो क्षति पुग्ला? थापालाई यसको राम्रै हेक्का छ। रेडियो नेपालले उनको गीतमाथि पटकपटक प्रतिबन्ध त लगाएकै थियो। त्यही समय उनका समकालीन माणिकरत्नको गीतलाई गोरखापत्रले सम्पादकीयमै उद्धृत गर्दै 'अश्लील गीत'को ट्याग भिराइदियो। 

गीत थियो- 

त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ... 

गीतमाथि सरकारी पत्रिकाको समेत निगरानी बढेपछिको घटना सम्झन्छन् थापा, 'त्यसपछि त यो गीत सुन्ने स्रोताहरुको संख्यामा वृद्धि भयो। मेरा साथीहरू सुनाउँथे, झन् सही भयो। तिमी पनि अब अन्य गीत लेख। नडराई लेखिराख।'

थापालाई न पञ्चायत बचाउनु थियो न त लेख्नु नै थियो प्रजातन्त्र पक्षधर गीत। आफूभित्रको सर्जकलाई नढाँटी सिर्जिएका गीतमाथि नै भटाभट बन्देज लगाउन थालिएपछि रेडियोप्रति उनको दुरी टाढिँदै गयो। मुड चल्दा उनी दुई–तीन महिनामा एकपटक पुग्थे। 

'त्यहाँ मेरो क्लासफेलो नातिकाजी भएकाले मात्रै, नत्र मलाई इच्छा थिएन,' गाँजिएको कर्मचारी प्रणालीबारे उनी सुनाउँछन्, 'त्यहाँ मेरो गफै नमिल्ने। रेडियो जस्तो ठाउँमा क्रिएटिभ कुरा हुनुपर्ने हो, मलाई त्यस्ता सस्ता गफ मन पर्दैनथ्यो।’ 

उमेरले आठ दशक टेके पनि थापा सिर्जनामा उत्तिकै सक्रिय छन् अहिले। कमलपोखरीस्थित निवासको साँघुरो कोठामा धुमधुम्ती बस्छन्। पुरस्कार र सम्मानपत्रको थाकले कोठा साँघुरिने क्रम बढ्दो छ। त्यही साँघुरो मै उनी घरी मुक्तक त घरी कविता कोरिरहन्छन्। 

'ए कान्छा ठट्टैमा', 'गोरेटो त्यो गाउँको', 'बिछोडको पीडा', 'आँखैमा रात गली', 'जाग लम्क चम्क है', 'पन्छीमा डाँफे राम्रो'जस्ता लोकप्रिय गीतका सर्जक हुन् थापा। उनी वर्तमानमा स्मृतिका लहर आँखाभरि नचाउँछन् र बाँच्नुको सार्थकता भेट्टाउँछन्। कुनै गुनासो पनि छैन उनमा।

समय धेरै बगिसक्यो, किनकि पञ्चायतको जर्जर समय भोगेका यी सर्जक गणतन्त्रको खुलापनमा बाँचिरहेका छन्।

(नेपाल लाइभमा २०७४ भदौ २३ गते प्रकाशित। गीतकार थापाको २०७७ जेठ १५ गते निधन भएको छ।)

No comments:

Post a Comment