Thursday, February 11, 2016

शब्द-साहित्य

जहीँतहीँ छ सरकार ! 

कति भन्छौ/कति लेख्छौ—
'कहाँ छ सरकार ?'
किन छैन यार
जहीँतहीँ छ सरकार !
कालोबजारियाको कालो धनमा छ सरकार
जनतामारा ती 'कुर्सी–प्यारा'हरूको मनमा छ सरकार
मध्यरातमा आफन्तलाई सुटुक्क बोलाएर
सिलिन्डर सप्लाई गर्ने
ग्यास साहुको गोदाममा छ सरकार
१५ रुपैयाँको चाउचाउलाई २० मा बेच्ने
लुटाहा व्यापारीको दोकानमा छ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
कोठाको कुनामा थन्किएको मैलो सिलिन्डरबाट
चिहाइरहेछ सरकार
हरेक ट्रान्सफर्मरको आवाजसँगै
गर्जिरहेछ सरकार
साँझदेखि पग्लिन थालेका मैनबत्तीहरूमा
धपधप बलिरहेछ सरकार
नेता, पुलिस र व्यापारीको साँठगाँठमा
राष्ट्रवाद उरालिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
तुइनको लठ्ठा हटाउने अभियानमा पनि सरकार
लोडसेडिङ नामेट बनाउने अभियानमा पनि सरकार
पानीको त के कुरा
हावाबाटै बिजुली निकाल्न पनि तयार छ सरकार
साइकल चढ्छ र स्वाभिमान जोगाउँछ सरकार
भूकम्पपीडित चिसोले मरिरहून्
(आखिर मृत्यु स्वाभाविक प्रक्रिया न हो)
यता मन्त्रिमण्डल थपिरहेछ सरकार
किन छैन यार
जहीँतहीँ छ सरकार !
-- १९ पुस, २०७२

No comments:

Post a Comment