तिम्रो नैतिकताको मृत्युमा बरखी बारेको होइन
यो शोक तिम्रो नेतृत्व–गुमले छाएको पनि होइन
चिन्यौ मलाई ?
म वासुदेव भट्ट
अर्थात्, क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य
यो देशको (अ)नागरिक
गरिबीले पेट बाउँडिएपछि
‘लाहुर’ जान बाध्य एक नौजवान !
आफ्नो घर फर्किंदा सिमानामै रोक्यौ
रोकिएँ
‘तत्काल नआउनू’ भनेर उर्दी जारी ग¥यौ
सरकारको जो आदेश–
मानिदिएँ
जब आयो आमा बितेको खबर
सुनेन कसैले मेरो हारगुहार
आमा मौन छिन् ‘सांसारिक आइसोलेसन’मा
पारि म छटपटाइरहेछु क्वारेन्टाइनमा
बलुवाकोटमा किरिया बस्दै गर्दा लाग्यो–
दार्चुलाबाट अझै टाढा रहेछ बालुवाटार
आदेश आइपुग्नै हप्ता दिन लाग्ने !
थाहा छैन कति हप्तामा घर पुग्छन् उनीहरु
जो दशजगापारि गुहार मागिरहेछन्
न सुरक्षित ल्याउन सक्यौ
न व्यवस्थित राख्न सक्यौ
सुन्दैछु, राजधानीमा भोकभोकै भएपछि
सयौं किलोमिटरको ‘लङमार्च’मा छन् दाजुभाइ
बालबच्चा च्यापेर नाङ्गो पैतालाले
सडक नापिरहेका छन् विवश आमाहरु
चुनावका बेला बसमा झन्डा फहराउँदै
निःशुल्क गाउँगाउँ ओसार्ने तिम्ले
आज कसरी बिर्सन सक्यौ तिनलाई
के हरेक नागरिक राज्यका लागि
एक भोट मात्रै हो ?
[बाह्रखरी अनलाइनमा २०७७ जेठ १७ गते शनिबार प्रकाशित]

No comments:
Post a Comment