Sunday, December 7, 2014

रङको उत्सव

ऋतुहरूको राजा मानिने वसन्तमा नयाँ पालुवाहरू फेरिँदै छन् । एउटी किशोरीको शारीरिक अंग विकास हुँदा उसमा जस्तो बहार छाउँछ, बोट–विरुवाले पालुवा हाल्दा वसन्तले त्यस्तै बहार ल्याइदिन्छ । युवती बन्दै गरेकी ती किशोरीको उमंगजस्तै वसन्तमा आउनै लागेको होलीले धेरैमा उमंग र उल्लास भित्र्यायाउँदै छ । हराभरा फूल फुल्न थालेका, रुख विरुवाले पालुवा हाल्न थालेका र मौसम पनि उपयुक्त भएकाले होलीलाई रंगीन बनाउन धेरैले तारतम्य मिलाइसकेका छन् ।

ऋतु परिवर्तनसँगै आउने होलीको रङ पनि बदलिँदै छ, ९५ वर्षीय द्वारिकाबहादुर महर्जनलाई यस्तै लाग्छ । ‘हामी केटाकेटी हुँदा रातो रङ नै बढी खेलिन्थ्यो,' रातो रङलाई विजयको प्रतीकसँग दाँज्दै कीर्तिपुर–१७ का यी वृद्ध भन्छन्, ‘अहिले पहेंलो, हरियो, नीलो, कालो, केके हो केके !’

 होली खेल्न चाहने र आफूले चिनेका साथीलाई मात्रै रङ दल्ने चलन भए पनि अहिलेको फरक शैली उनलाई मन परेको छैन । ‘छतमा बसेर नचिनेको बटुवालाई पानी छ्याप्नु राम्रो होइन नि,' महर्जनले सुझाव दिए, ‘अहिलेका युवाको उत्ताउलोपनले कुनै दुर्घटना होला कि भन्ने डर लाग्छ ।’ 

तराईमा होलीलाई छठपछिको ठूलो चाडका रूपमा लिइन्छ । तराईवासीले यो पर्वलाई बढी महत्त्ववका साथ मनाउँछन् । चार वर्षदेखि काठमाडौंमा बसेर वेल्डिङको काम गर्दै आएका रौतहट गौरका नन्दकिशोर साह तराईमै होली मनाउन जाने तयारीमा छन् । मालिगाउँमा काम गर्ने उनी भन्छन्, ‘साहुले १३ र १४ गते विदा दिएको छ, मिलेसम्म गाउँमै गएर चाड मनाउँछु ।’

अन्य पर्वजस्तो पूजाआजा र विशेष परिकार नै नचाहिने भएकाले होली बिल्कुल मनोरञ्जनको पर्व भएको उनको धारणा छ । ‘हल्का मासु खाइन्छ,’ हाँस्दै भन्छन्, ‘भाङको लड्डु छुट्यो भने त होलीको अर्थै भएन नि !’ जत्ति बढी रङ खेल्यो उत्ति नै होलीको ‘अर्थ’ लगाउने उनी भन्छन्, ‘तनाव र थकान बिर्सिएर साथीभाइसँग ‘इन्जोय’ गर्दै होली मनाउने ।’ काठमाडौंमा बसे पनि तराईको होली साह कहिल्यै बिर्संदैनन् ।

युवाहरूका लागि होलीले जति उमंग लिएर आउँछ, कतिपय महिलाका लागि यसले पीडा दिइरहेको छ । होलीको दिन सडकमा न्यून संख्यामा मात्र महिला देखिन्छन् । महिलालाई लक्षित गरेर रङ र लोला हान्ने प्रवृत्ति बढेको छ ।

महिलामाथि नै बढी लोला किन प्रहार हुन्छ त ? एमए अंग्रेजीमा थेसिस गर्दै गरेका मोरङ इन्द्रपुर– २, का पुरुषोत्तम ओझा भन्छन्, ‘विपरीत लिंगीप्रतिको आकर्षणले त्यो त स्वभाविक हो ।’ वर्षमा एकपटक आउने रङको पर्वमा रङको वर्षा गराउने सुरमा छन्, उनी । ‘फ्रायडले ठीकै त भनेका छन् नि’, उनले थपे, ‘बच्चैदेखि हरेक मान्छे विपरीत लिंगप्रति आकर्षित भइहाल्छ नि !’

आधुनिकताको नाममा पछिल्लो पिँढीले संस्कृति भाँड्ने गरेको आरोप पनि लाग्ने गर्छ । तर, उनी त्यसलाई स्विकार्दैनन्, ‘हामीले यसरी जोड गरेर मनाइरहे न, संस्कृति बाँचिरहन्छ,’ उनी प्रश्न गर्छन्, ‘रङको पर्वमा पूजा गरेर व्रत बस्ने त ?’

आधुनिकताको नाममा चाडपर्व मनाउने शैली फेरिँदो छ, जसका कारण यसको महत्त्व हराउँदै गएको तर्क गर्छिन्, साहित्यकार सुधा त्रिपाठी । बाटो या छतमा बसेर महिलालाई पानी र लोला छ्याप्ने प्रवृत्ति पितृसत्तात्मक सोचको कारण भएको उनको ठम्याइ छ ।

उनी भन्छिन्, ‘संस्कृति धान्नलाई पर्व त मनाउनै पर्छ, तर अहिले मनाइने शैलीलाई धेरै सकारात्मकतातिर लैजानुपर्छ ।’ बच्चादेखि नै महिलाप्रति हेरिने दृष्टिकोण नफेरिएसम्म यस्ता संस्कारबाट उनीहरू पीडित भइरहने त्रिपाठी बताउँछिन् ।

आफ्नो ठूलो सहभागितामार्फत् होलीलाई सही बाटो दिन महिला किन अगाडि आउँदैनन् त ? त्रिपाठी भन्छिन्, ‘संस्कार नै खराबतिर मोडिएको छ । दुईचार जनाले केही फरक पर्दैन । कि त अभियानकै रूपमा ठूलो संख्यामा महिलाहरू आउनैपर्छ ।’

भनिन्छ, होलीमा शत्रुलाई पनि अबिर दलेर रमाइलो गरिन्छ । पुराना रिसराग, द्वेष, ईष्र्यालाई होलीको रङले पखाल्छ । आपसी सद्भाव, मित्रता र जातीय एकतामा जोड दिने यो पर्व तराईदेखि पहाड र हिमालमा पनि उत्तिकै महŒवका साथ मनाउने गरिन्छ, जसले जाति र सम्प्रदायलाई एकतामा बाँधेको छ ।

गुम्ला सुन्दरता !

होली भनेकै रङको पर्व । रङ या अबिर नखेली होली मनाउनुको के मज्जा ? होली मनाउने शैली बदलिएसँगै विभिन्न प्रकारका रङ प्रयोग गर्ने र फेसपेन्ट गर्नेहरूको संख्या वर्षेनि बढ्दो छ । तर, केमिकल मिसाइएका र विशेषगरी सिल्भर कलरका पेन्ट्सको प्रयोग गरेर आकर्षक देखिने हुँदा छालामा समस्या पनि आउन सक्छ । वीर अस्पतालकी छालारोग विशेषज्ञ डा. अनुपमा कार्की भन्छिन्, ‘अबिरले छालालाई सुख्खा बनाउने हुँदा होलीमा रङ प्रयोग गर्दा सावधानी अपनाउनैपर्छ ।’ कतिपयलाई नर्मल अबिरले पनि एलर्जी हुन्छ । होलीमा प्रयोग गरिने कडा खालका अबिरले खटिरासमेत निम्त्याउने उनी सुझाउँछिन् । ‘राम्रो खालको अबिर महँगो भएकाले कमैले मात्र प्रयोग गर्छन्’, कार्की भन्छिन्, ‘मर्करी लगायतका कडा केमिकल मिसाइएको हुँदा फेसपेन्ट गर्नु त झनै हानिकारक हो ।’
होली सकिएपछि रङकै कारण छालाको एलर्जी र खटिराको समस्या लिएर आफूकहाँ आउने बिरामी धेरै भएको उनले बताइन् । उनको सुझाव छ, ‘अनुहारमा पहिले भेजिटेवल ओइल या मस्चराइजरजस्ता क्रिम प्रयोग गरेर होली खेल्दा राम्रो । तर, खेलिसकेर छिट्टै सफा गर्नुपर्छ ।’

होली परम्परा

होली हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । होली खेल्ने अघिल्लो रात होलिका दहन गर्ने चलन पनि छ । भोलिपल्ट बिहान पानीमा रङ हालेर एकापसमा छ्याप्दै होली खेल्न सुरु गरिन्छ । साना बच्चादेखि युवा र वृद्धावृद्धा सबैका लागि उल्लास बोकेर आउने होली आपसी कटुता बिर्सेर मित्रता र सद्भाव व्यक्त गर्ने रमाइलो पर्व हो । भनिन्छ, यस दिनले पुराना शत्रु पनि मित्र बन्छन् ।

पौराणिक तथ्यअनुसार प्राचीन समयका राक्षस हिरण्यकशिपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न अनेक षड्यन्त्र गरे पनि सफल नभएपछि अग्निले नडढ्ने वरदान पाएकी आफ्नी बहिनी होलिकाको काखमा प्रह्लाद राखिदिएर अग्निकुण्डमा होमिदिए । तर, प्रह्लाद नभई होलिका स्वयं नै जलेर भष्म भइन् । होलिका दहनकै खुसीयालीमा आपसमा रङ र अबिर दलेर होली पर्व मनाउन थालिएको प्रसंग प्रचलित छ ।

अर्को प्रसंगअनुसार द्वापर युगमा भगवान श्रीकृष्णलाई मार्ने उदेश्यले स्तनमा विष लगाएर स्तनपान गराउन गएकी राक्षसनी पुतनालाई कृष्णले नै मारिदिएको र ब्रजवासीले एकापसमा रङ छरेर खुसीयाली मनाएको सम्झनामा होली पर्व भित्रिएको हो । यसरी होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

(नागरिक दैनिकमा चैत १०  गते शनिबार प्रकाशित)

No comments:

Post a Comment